सन् २०१६, शुभ-कर्मको शुभकामना ! -सतिश चापागाईं



सर्बप्रथम, नयाँ बर्ष २०१६ को हार्दिक मंगलमय शुभकामना !

हामी आज एउटा पुरानो बर्षको बिदाई गरेर अर्को बर्षको स्वागत गरिरहेका छौं | भित्ताको पुरानो पात्रो फेरेर नयाँ पात्रो राखेका छौं | भित्तामा झुण्डिएको नयाँ पात्रो अर्थात् अंग्रेजी नयाँ बर्ष २०१६ को फेरि पनि शुभकामना छ | नयाँ बर्षले हामी सबैको घरमा शान्ति र मुहारमा कान्ति ल्याओस यहि शुभकामना ब्यक्त गर्दछु |

समय चलायमान छ | त्यसैले सेकेन्ड, मिनेट, घण्टा, दिन र महिना हुदै बर्ष पुग्दछ र एउटा बर्ष सकिन्छ, अर्को शुरु हुन्छ | यसैको परिणाम सन् १५ गयो र सन् १६ आयो |

हामीले सन् २०१५ लाई पनि भब्य रुपले स्वागत गरेका थियौं | हाम्रो त्यतिबेलाको उत्साह आजको भन्दा कम थिएन | तर, हामीले सन् २०१५ बाट खुशी कम र पीडा बढी पायौं |

हाम्रा व्यक्तिगत जीवनका दुख सुखका कुरा परै राखौं र देशसंगै हामी नेपालीले पाएको दु:खको कुरा गरौँ | यहि बर्ष हामीले भुकम्पको सहनै नसक्ने धक्का ब्यहोर्यौँ | हामीले सुन्दै आएको ९० सालको भुकम्पलाई माथ गर्ने यो भुकम्पको कम्पनले हाम्रा मन मष्तिस्कमा अझै झड्का हानिरहेका छन् |

कहिल्ल्यै नफर्किने गरी हामीबाट हाम्रा प्रियजनहरु चुडिए | सम्झदा पनि मन त्यसै भक्कानिएर आउछ | जनका साथसाथै धनको पनि सत्यानाश भएको छ | हामीले आफ्ना धरोहर मान्दै आएका धेरै सांस्कृतिक र ऎतिहासिक महत्वका सम्पदाहरु माटोमा मिलेका छन् | तिनीहरु मनमा अदृश्य र फोटोमा सदृश्य बसेका छन् | समयले साथ् दिएमा तिनीहरु त्यही ठाउँमा उभिनेछन् भन्ने आशा मात्र गरौँ | दैवले लगेका दशौँ हजार नेपालीको त के क्षतिपुर्ति होला र ! नेपाल आमाका ती होनहार सन्ततीप्रति आजका दिनमा स्वर्गबासको कामना गरौँ | चीर शान्तिको कामना गरौँ |

हामीले हाम्रा भत्केका संरचनाहरु र चर्केका धरोहरहरु र धर्केका मनहरु जोड्न अझै धेरै बर्ष लाग्ने छ | सन् २०१५ ले क्षती दिएपनि सन् २०१६ देखि त्यसको पूर्ति तर्फ हामीले अगाडी बढ्ने प्रण गरौँ |

हामीलाई यहि बर्ष अर्को अफ्टेरो आईपर्यो | नेपालको नजिकको छिमेकी भारतले हाम्रो आन्तरिक मामलामा हस्तक्षेपको प्रयास गरेको छ | रोटी र बेटीको सुमधुर सम्बन्ध धोती र टोपीको कटुतामा परिणत भएको छ | यसभित्र कति हाम्रा कारण र कति उसका कारण ? त्यो समयले नै बताउला | समस्या समाधान हुनै लाग्यो भन्ने हावादारी गफ बाहेक दुवै पक्षबाट कुनै ठोस पहल भएको आधिकारिक जानकारी अहिलेसम्म बाहिर आएको छैन | हिजो नेपालको संसदमा ऋषि मनको दुहाई दिने मोदी सरकारको बिदेशी नीतिले आज दशगजाका नेपालीले सिसाका गोली झेल्नु परेको छ |

कतिपय नेपालीलाई आज न आँत भरेर खान छ न ओत लागेर बस्न ! संबिधान बनेपछि सारा बेथिति हट्ने छन् भन्ने थियो तर बचेकै थितिहरुको सत्यानाश भयो | भूकम्पको लगत्तै देखिएको एकता र मानवता सन् १६ को न्यु ईएर ईभसम्म आइपुग्दा कटुता र छट्टुतामा परिणत भएको छ | हिजो शरीरको रगत झिकेर दिनेहरु आज कालो बजारीमा तेल बेच्न थालेका छन् | 'के गर्ने पैसा खान मिल्दैन के रे !' भन्दै सहयोगका नाममा अनेक हर्कत देखिएका छन् | यिनै हर्कतले बाँच्न चाहने धेरैको हुर्मत लिईरहेको छ |

नयाँ बर्षको पूर्व संघारमा सरकार, प्रतिपक्ष र आन्दोलनकारीलाई गाली गरेर शुभ साईतको खेर फाल्न चाहन्न | फेरी पनि, देशका असरल्ल समस्याहरु उनीहरुले नै समाधान गर्नुपर्छ | हाम्रा खातका खात चाहनाहरु समेल्ने र पुरा गर्ने दायित्व उनीहरुको नै हो | आन्दोलन, मागहरु, अभाब, कालोबजार, भ्रष्टाचार, विदेश नीति, स्वदेश नीति सबै सबै यिनै  सरकार, दल र नेताहरुले नै ब्यबस्थित गर्ने हो | आशा उनीहरुको नै गर्नुपर्छ | आशा र भर उनीहरुको नै परौं, खबरदारी हामीले गरौँ |

कालो बादलमा पनि चाँदीको घेरा हुन्छ | यिनै नेताहरुले एउटा संबिधान जारी गरेका छन् | सन् १६ मा यो संबिधानको अक्षरश: पालना होस् | तत्काल सबैको आँत भर्ने र ओत लाग्ने ब्यबस्था मिलोस | दीर्घकालमा देशमा शान्ति-सुव्यवस्था होस्, कानुनको राज होस्, समृद्ध र झलमल्ल होस् | सबैको ध्यान शुभ कर्ममा लागोस ! यहि शुभकामना छ |