यसरी आएँ जापान, यो हो मेरो दु:ख

ह्याप्पी बन्धु 'विश्व'
गोरोगोरो  मोटोघाटो मंगोलियन वर्णको एकजना मान्छे मैले काम गर्ने रेष्टुरेन्टमा छिर्यो |

म भित्र किचनमा सेफलाई सघाईरहेको थिएँ | उस्लाई देख्नेबित्तीकै मलाई लाग्यो यो पक्कै नेपाली हुनुपर्छ | उसलाई भेट्ने हुटहुटी पलायो | यसो घडी हेरेँ क्युके (break time) हुन ५ मिनेट बाकी थियो | पाच मिनेटसम्म ऊ बाहिरै वस्छ बस्दैनन थाहा थिएन तर बसोस् भन्ने चाहान्थे म |

भित्रवाट मिनेट मिनेटमा ऊस्लाई म नियालीरहन्थे |

पटक्कै खुशी थिएन ऊ, निधारमा निराशाका धर्काहरु प्रष्टै देखिन्थे | एक्लै थियो कफि मगायो |

 मेरो ब्रेक टाईम भयो | क्युके रुम(ब्रेकका समय आराम गर्ने कोठा) मा छिरें | कामका बेला किचेनको डेरेस लगाएर बाहिर निस्कन मनाहि थियो | ऊस्लाई भेट्नु थियो | कसरी भेट्ने ? एकछिन यताऊता तड्पिरहे |

थोरै ढोका खोलेर बाहिर नियालेँ | ढोका खोल्नुको उद्देश्य ऊस्ले देखोस् अनि नेपाली रहेछ भनेर नजिकै आओस् भन्ने थियो | आखिर भनेजस्तै भो ! ऊस्ले देखेर मेरो नजिकै आयो अनि सोध्यो "तपाई नेपाली हो ?"

 "अँ ! हो |" -मैले जवाफ फर्काएँ |

 मेरो जवाफ सुन्नासाथ अचानक ऊस्का निधारमा खुशीका धर्काहरु देखिन थाले | ठुलै युद्द लडेर जितेको सिपाही जस्तै लामो सास फेर्यो र सोध्यो, "तपाईको नेपालको घर कहाँ नि ?"

 "मेरो पाल्पा |" भित्र आऊनु न ! हातको ईसाराले बोलाएँ | ऊ भित्र आएपछि मैलै सोधे, "अनि तपाईको घर कता त?" उसले भन्यो, "झापा" |

एकछिन यस्तै सम्वादहरु चलिरहे |  सम्वादकै क्रममा थाहा भो -४२ वर्षका झापा घर भएका विनोद अर्याल रहेछन उनी | स्टुडेन्ट भिषामा दाम कमाऊन जापान आएका । त्यहि सम्वादकै बिचमा मैले सोधे,  "ऊमेर कटिसकेछ | यो ऊमेरसम्म त नेपालमै केहि सेटल भईसक्नु भाथ्यो होला | जापान आऊनैपर्ने के भो त्यस्तो तपाईलाई ? अनुहार केहि निन्याऊरो देखियो केहि अकमकिएको स्वारमा उनले भने - "छन् मेरापनि आफ्नै विवशताहरु वाध्यताहरु अनि थोरै रहरपनि ।"
म - "कस्तो लागिरहेछ जापान ?"

उनी - "आखाँका लागी रमाईलो तर मनका लागी तनाव अनि जेलजस्तै"

"खुव तनावमा हुनुहुन्छ जस्तो छ त के भो तपाईलाई ?"

"मेरा पिडा व्यथाका कथाहरु सुनाऊन मन लागेको छ कसैलाई | कसैले सुन्दैनन् यो शहरमा !" अलि रुन्चे स्वारमा त्यो आवाज सुनेपछि दया माया जागेर आयो मनका पिडाहरु कसैलाई सुनाऊदाँ मन हलुका भएको अनुभवहरु म सगँपनि थिए |  ऊस्कोपनि मन हलुका होस् भन्ने चाहेँ अनि भने "तपाईले सुनाउन चाहानुहुन्छ भने म सुनिदिउला तर आज थोरै सुनाउनु | बाँकी पछि फेरि भेटेर सुनौला !" मन अलि खुशी पारेर हस भन्दै केहि भन्न थाले-

बिहे गरेको १३ वर्ष भयो | घरमा आमा, श्रीमती र २ छोरीहरु छन् । सुखि अनि खुशी परिवार थियो हाम्रो | श्रीमती विजनेस सम्हाल्थी अनि म जागिर | अचानक खै के भो के एकसमय  शिवले जापान गएर दमकमा ठुलै घर किन्यो रे भन्ने हल्ला खुव चल्यो, गाउँभरि | उस्को स्वास्नीको लवाई खवाई रवाफ देख्दै आएकी मेरी बुढिको मनमा पनि एऊटा अचम्मको काऊसो छिर्यो | सायद उस्मापनि लाउन खान रमाउन पैसाको मोह जागेको हुनसक्छ | बिस्तारै बिस्तारै मलाई पनि बिदेश जानुपर्छ भनेर दवावमुलक सल्लाह दिन थाली | पहिले पहिले म  बिदेश जान्छु भन्दा जानु हुदैन भनेर मलाई नै हप्काऊने बुढि कसैको देखासिकीमा लागेर विदेशको मोह जगाएकी थिई |

ऊस्को साथी पुजाले जर्मनवाट कहिलेकाहि फोन गर्थी बुढाबुढि भएर काम गर्न पाए त बिदेशमा पनि रमाईलै हुदो रहेछ | पैसापनि राम्रै कमिएको छ भनेर ऊस्ले गरेका गफ सुनाएर बिदेश जाम न वुढा भनेर हत्ते गर्न थाली । सालीसगँ कहिलेकाहि डेनमार्कवाट स्काईपमा गफ गर्दा ऊस्ले पनि भन्थी- "बिदेश ट्राई गर्नुस्" । जेठान अमेरिकामा छन् ऊनका गफ सुन्दा आजै ऊडेर जाऊँ जाऊँ जस्तो वनाऊथेँ | साथीभाईका पनि त्यस्तै सल्लाहा | मानौ विदेशमा त पैसा फल्ने रुख भेटिन्छ | हाम्रो काम टिपेर ल्याऊने मात्रै हो । मन त्यसै त्यसै वहकिन थाल्यो जता कुलो उतै पानी बहकिए झै ।

दमकमा एऊटा विजनेशपनि थियो | बुढि बिजनेश सम्हाल्थी, म एम आर को जागिरे | "खान लाऊन पुर्याएरपनि महिनाको ३०/४० हजार वचत हुन्थ्यो, सानोतिनो बचत त हामी गरिरहेका छौ | बिस्तारै सम्पत्ती जौडौला दमकमा घरपनि किनौला  ! किन विदेश गएर दुख पाऊने बुढि ?"  भनेर खुव सम्झाए बुढिलाई तर कर्कट राशीकी न परि ! अहँ ऊसको मनमा छिरेको विदेश मोहको काऊसोले टसमस गर्नै मानेन ।

ममा एऊटा अज्ञात पिडा भित्र भित्रै सल्किरहेको थियो | मन मस्तिष्कलाई खोक्रो पारिरहेको थियो | घरको भित्तामा पलाएको पिपलको जराले भित्र भित्रै जग हल्लाए जसैगरि ।

मान्छेहरु स्वास्नीसगँको सामिप्यताका लागि खुव प्रतिक्षा गरिरहेका हुन्छन् सामिप्यमा रहेपछि छुट्टिन चाहादैनन् तर म  भने स्वास्नी विनाको रात अनि त्यो पलको प्रतिक्षामा हुन्थे | पहिले पहिले त स्वास्नी देखेपछि सुर्यमुखी जस्तै लाग्थ्यो तर ति दिनहरुमा खै किन हो किन ज्वालामुखीजस्तै डरलाग्दी देख्थे | बिदेश गएर दुख पाएका युवाहरुको दर्दनाक अवस्था त्यो आर्तध्वनी टेलिभिजनमा देख्थे, सुन्थे | मन फेरि वहकिन्थ्यो अहँ पटक्कै विदेश जान्न ! यो स्वार्गजस्तो नेपाल छोडेर त जादै जान्नै | यस्तै कल्पनाहरु मनमा खेलाईरहन्थेँ | त्यो वेला मन अल्ली हलुका भएजस्तो लाग्थ्यो ।

देशमा नाकावन्दी हड्ताल चक्का जाम यस्तै यस्तै हरेक दिन भईरहन्थ्यो | बिस्तारै त्यस्ले मेरो बिजनेशमा पनि असर गर्न थाल्यो | अभाबहरु चुलिदै जान थाले, सब परिवारलाई खान लाऊन वच्चाहरुलाई पढाऊनु मेरो कर्तव्य थियो | हरेक दिन विभिन्न समुहका मान्छेहरु चन्दा ऊठाऊन आऊथे | कहिले लिम्वुवान कहिले कोचीला, कहिले मधेसी, यस्तै यस्तै नानाथरिका संगठनलाई चन्दा दिएरै सकिन थाल्यो अलिअलि बचत पनि ।

आखिर मन न हो कस्को नियन्त्रणमा बस्न चाहादोरहेछ र फेरि मन बहकिन थाल्यो | के गर्ने के नगर्नेकै दोधारमा दिनहरु रुमल्लिरहे | नेपालमै बसेर केहि गर भनेर ढुक्क सल्लाहदिने आफन्त साथीभाईहरु अभाव अनि व्यावसायमा आएको मन्दिले गर्दा म भित्रपनि विदेश मोह जाग्न थाल्यो | मनमा एऊटा काऊसो छिरेको थियो जस्ले कहिले रुवाऊथ्यो, कहिले हसाँऊथ्यो, कहिले डस्विन जस्तै वनाएर मिल्काईदिन्थ्यो वासी अखवारका पानाहरुझै कोठाका कुनाहरुमा । खाली आसाका चक्कीहरुले ऑखामा अनगिन्ती सपनाहरु टागिदिएको थियो सपनाहरु कहिले पुरा हुने हुन भरोसा थिएन निराशा र औडाहाहरुको वादलले मन शान्त कहिल्यै भएन | व्यबहारिक र मानसिक तनावले छटपटिदै शहरका गल्ली गल्लीहरु भौतारिदै हिड्थे । खै के भो के सधै देशलाई माया गरिरहेने मान्छे म विस्तारै देश अनि देशका सासक भनाऊदाहरुप्रतिनै घृणा जाग्दै गयो |देशमै वसेर केहि गर्ने सम्भावनाहरु प्रशस्तै थिए तर देशको विकराल स्थिती देखेर विदेश मोह झन् बढ्न थाल्यो|  बजारमा प्रत्येक गल्लीगल्लीका घरहरुमा टागिएका रंगिन वोर्डहरु नियाल्दै कन्सल्टेन्सीहरु धाऊन थालेँ |

दमककै एऊटा कन्सल्टेन्सीवाट जापानका लागी प्रोसेस गरेँ | कन्सल्टेन्सीले भनेको थियो "पुगेको एक हप्तामै एऊटा जागिर लगाईदिन्छ, अर्को जागिर १५/२० दिन भित्रमा जसरीपनि पाईन्छ |"  ओहो! कति मिठो बोलेको त्यो कन्सल्टेन्सीको म्यानेजर   खुव फकायो मलाई खुव सपनाहरु टासिदियो मेरो मस्तिष्कमा | रुखको पैसा टिपेरै ल्याऊन पाईने हैछकि जस्तैगरि । म फसे उसका कुराहरुमा, म बहकिए ऊसकै आवाजसगँ,ऊस्ले जे भन्यो पत्याऊदै गएँ हरेक मान्छेलाई चाडै विस्वास गर्ने मेरो वानी हो | त्यसैको फाईदा लुट्यो ऊस्ले मसगँ हजारौ युवाहरुलाई लुटेजस्तैगरि कलापुर्ण तरिकाले ।

एकदिन आमालाई भने | " नपुग्दो के नै थियो र ? यि सव छाडेर किन जान्छस अर्काको ठाममा, कति दुख पाईने हो" आमाको सल्लाह नजा भन्ने नै थियो । अलि खुशी मुडमा भएका वेला बुढिलाई फकाऊदै भने, "यहि बसेर केहि गरौ न बुढि यहि विजनेसलाई बरु अलि बढाऊँ मेरो जागिर पनि राम्रै छ बिदेश गएरपनि कमाईन्छ नै भन्ने ग्यारेन्टीनै कै नै छ र ? "

"अनि यहॉको बिजनेसवाटपनि कमाईन्छ भन्ने के नै ग्यारेन्टी छ र ? " ठुलो स्वारमा चिच्याएर बुढि कराई अनि ठुला ठुला आँखा पारेर क्वारक्वार्ती हेरिरहि | रिसाएको भंगीमा देखिन्थी | त्यसदिनदेखि  बिस्तारै कम बोल्न थाली | मन झन छटपटिन थाल्यो | चिन्ताको अरिगांलले विस्तारै चिल्न थाल्यो |

विदेश जाऊ आमाले नजा भन्दाभन्दै कसरी जाऊँ ? विदेश नजाऊँ स्वास्नीको त्यो हर्कत, हरेक दिनको ठुस्काई, कसरी नजाउँ ? जिन्दगीमा पहिलोचोटी पुरुष हुनुको पिडा अनुभव गरिरहेको थिएँ  |

 देख्नेहरुले महिलामाथीको हिंसामात्रै देख्छन | पुरुषपनि हिंसामा हुन्छन भनेर कसैले सोच्दै सोच्दैनन् |आखिर यो पुरुषप्रति भएको मानसिक हिंसा होईन त बन्धु जी ?  म तिर हात ठड्याऊदै केहि जंगिएको केहि पिडाबोध गर्दै प्रश्न तेर्स्यायो | ऊस्को अनुहार देखेर खुव टिठ लागिरहेको थियो | "हो तपाईजस्तै हजारौ पुरुषहरु यसैगरि हिंसामा परिरहेका छन् " हो मा हो मिलाऊदै ऊस्को मन केहि शान्त पार्ने प्रयास गरे, मैले पनि ।

बन्धु जी ! मलाई थाहा थियो म हिंसामा परिरहेको छु तर ईज्यत र प्रतिष्ठाका अगाडी बाध्य थिएँ  चुप लाग्न | यसैगरि निरन्तर सहिरहे स्वास्नीका हिंसाहरु............ यो भनिरहँदा ऊस्का आखाँवाट थोरै आशुहरु झरिरहेका थिए |  लाग्थ्यो, यति धेरै पिडामा परेको पुरुषसगँ म पहिलोचोटि सम्वाद गरिरहेको थिएँ |

घडि हेरे क्युकेको टाईम सकिनै लागेको थियो | जापानको नियम एकदम कडा हुन्छ | एकमिनेटपनि ढिला हुनै नहुने | यसैगरि बसेर ऊस्का कुराहरु सुन्न खुव मन लागेको थियो तर समय अभाबलेगर्दा छुट्टीनै पर्ने थियो | त्यसदिनका लागि बिदा हुनलाई ऊहाँसगँ अनुरोध गर्दै ऊठ्दै थिएँ, ऊस्ले सोध्यो 'तपाईको फेसबुक एकाऊन्ट के हो ?' Happy bandu सर्च गर्नु न आईहाल्छ मेरै फोटो ! Happy bandu ! "ओहो! क्या युनिक नाम साच्चै तपाई त नाम अनुसारकै हुनुहुन्छ देख्दापनि Happy नै देखिनुहुन्छ अनि अरुलाईपनि Happy नै वनाऊनुहुदो रहेछ | म पनि तपाई भेटेर धेरै Happy भएको छु | यो कथा ब्यथा सुनाऊन धेरैलाई खोजे तर अहँ यति ध्यान दिएर कसैले सुनेनन् गफगर्दा गर्दै हामी फेसबुकमा एड भैसकेका थियौ |"

कति चाडै उनले मेरा स्टाटसहरु हेर्न भ्याईसकेछन "तपाई साहित्यकारपनि हो?" उनलेप्याट्ट सोधिहाले "अँ ! कहिलेकाहि यस्सो लेखिन्छ मन लागेका बेलामा |  "मेरो कथा लेख्नुहुन्छ ? म हतार हतारमा थिएँ तरपनि ऊस्ले सोधीरहेको थियो "लल लेखौलानी त फेसबुकमा कन्ट्याक गर्दै गर्नुहोला |"  यस्तै सम्वादसगै हामी छुट्टीयौ त्यसदिन |

अपातो(रुम)मा आएर यसो पल्टिन खोजे तर पटक्कै निन्द्रै लागेन | उनकै कथाहरु दिमागमा घुमिरहे | लेख्न मन लाग्यो ऊस्कै कथा | अनि कपि र कलम तानेर लेखे उनकै कथा | अचेल उनि कहिलेकाहि फेसबुकमा भेटिन्छन |  आफ्नो अरु कथाहरुपनि सुनाऊन चाहान्छन | तर मेरो समयको व्यस्तताले उनलाई भेट्न र उनको कथा सुन्न सकिरहेको छैन |कुनै दिन पक्कै पनि भेट्नेछु अनि लेख्नेछु बाँकि कथा पनि !

जापानमा रहेका द नेपाल टुडेका पत्रकार ह्याप्पी बन्धु 'विश्व' संगको कुराकानीमा आधारित | प्रस्तुत पात्रको अनुरोधमा उनको नाम परिबर्तन गरिएको छ |