ओली र मोदीबीच टेलिफोनमा के के कुरा भयो ?

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज विहान १०.३५ बजे टेलिफोनमा संवाद भएको छ। करिव २० मिनेट फोनवार्ता भएको थियो। दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना आदानप्रदान गरेका थिए।

प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरेका प्रधानमन्त्री कार्यालयको प्रेस नोटमा उल्लेख छ।

नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत दुइ प्रधानमन्त्रीबीच कुराकानी भएको थियो। फोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको उल्लेख गरेका थिए।

‘आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यबस्था सहज बनाउन आग्रह गर्नुभयो । जवाफमा प्रधानमन्त्री मोदीले आफु सदैब आपुर्ति व्यबस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताउनुभयो ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ ‘भारतका प्रधानमन्त्री मोदीले रक्सौल बीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असजह भएको बताउनुभयो । प्रधानमन्त्री मोदीले औषधीको अभाव भएका बेला आफुले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधी आपूर्ति गर्न भनेको स्मरण गर्नुभयो।’

प्रधानमन्त्री ओली मोदीले छिटै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्विकार गर्दै छिटै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने बचन दिएका प्रेस नोटमा उल्लेख छ।