सुन्दरीको ताज ‘समृद्धिकली’ हात्तीलाई

चितवन-चितवनको रत्ननगरस्थित सौराहामा जारी चितवन हात्ती महोत्सवअन्तर्गत मङ्गलबार भएको हात्ती सुन्दरी प्रतियोगितामा ट्राभलर जङ्गल क्याम्पको समृद्धिकलीले हात्ती सुन्दरी प्रतियोगिताको उपाधि चुमेको छ ।

मङ्गलबार भएको सुन्दरी प्रतियोगितामा पुष्पाकली हात्ती फस्ट रनर अप घोषित भएको महोत्सवको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए । उनका अनुसार सेकेन्ड रनर अपमा वसन्तीकली घोषित भएको छ ।

यस्तै फाइनल खेलमा टाँगातर्फ बुद्धज्योति बोर्डिङको रेश्मा टाँगा प्रथम, निकुञ्ज जिप सफारीको काजल टाँगा दोस्रो र सौराहा हात्ती बुकिङको वसन्ती घोडाले तेस्रो स्थान हासिल गरेको महोत्सव आयोजक समितिले जनाएको छ । मङ्गलबार नै भएको गाडा दौडतर्फको खेलमा शिवम् सप्लायसको पशुपति चौधरी सवार गाडा प्रथम भएको छ । यस्तै सिनर्जी एफएमको जमुना चौधरी सवार गाडा दोस्रो र रेडियो चितवनको मथुरा चौधरी सवार गाडा तेस्रो भएको नतिजा प्रकाशन समितिका संयोजक तिवारीले जानकारी दिए ।

डुङ्गादौडतर्फ कालिका एफएमबाट सहभागी गणेश बोटे सावार डुङ्गा प्रथम भएको छ । कायाकैरन दैनिकबाट सहभागी होमबहादुर कुमाल सवार डुङ्गा दोस्रो तथा रेडियो अर्पणबाट सहभागी आइते बोट सवार डुङ्गाले तेस्रो स्थान हासिल गरेको छ । विजेतालाई बुधबार समापन समारोहमा पुरस्कार वितरण गरिने महोत्सव आयोजक समितिका संयोजक सुमन घिमिरेले जानकारी दिए ।

हात्ती फास्ट वाक प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलबाट तीन हात्ती फाइनलमा प्रवेश गरेको छ । फाइनलमा जाने हात्तीहरुमा अप्पुकली, मारुतीकली र ब्युटीकली रहेको नतिजा प्रकाशन समितिले जनाएको छ । यसअघि सोमबार नै तीन हात्ती फाइनलमा पुगेका थिए । आज ६ वटा हात्ती उपाधिका लागि भिड्नेछन् । यस्तै आज नै सिजी फुड्स र नबिल बैंक हात्तीका छावाबीच फुटबलमा उपाधि भिडन्त हुनेछ ।