मधेशको माग सम्बोधन गरेन भने देश टुक्रिन्छ - बरिष्ठ पत्रकार किशोर नेपाल

तस्बिर: शिव मल्ल


सतिश चापागाई
बाल्टिमोर,अमेरिका, डिसेम्बर २८ /

नेपालका बरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पुर्ब सभापति किशोर नेपालले तीन दलको गलत रबैयाका कारण मधेश आन्दोलनले यो रुप लिएको आरोप लगाएका छन् |

"संबिधान घोषणा हुनुभन्दा पहिले कर्णालीका नेपालीले गरेको आन्दोलनको माग सम्बोधन हुदा कैलालीका जनताले गरेको मागमा सरकार पुरै बेवास्ता गर्यो | त्यसपछि मधेशका नेपालीहरुलाई यो संबिधान हाम्रो हो भन्ने भावना जाग्न सकेन | तत्कालिन तीन दलको यहि गल्ति नै अहिलेको मधेश आन्दोलनको कारण हो |" पत्रकार नेपालले भने |

मधेशको माग पुरा गर्दा नेपाल टुक्रिन्छ भनिन्छ नी भन्ने द नेपाल टुडे को प्रश्नमा नेपालले भने, "मधेशको माग सम्बोधन गरेन भने देश टुक्रिन्छ |"

किशोर नेपालले प्रष्ट पार्दै भने, "मधेशको माग सम्बोधन नगरी अहिलेको समस्या समाधान गर्छु, देश एक र अविभाज्य राख्छु भन्नु भनेको ठुलो मुर्खता हो | यो त कालिदासले आफु बसेको हाँगो आफै काटे जस्तो हो |"

"मधेशी नेताहरुले कहिँ पनि हामीले देश टुक्रा पार्छौं भनेको मैले सुनेको छैन | अरु कसैले त्यो आरोप लगाउनु राम्रो होइन|" पत्रकार नेपालको स्पष्ट विचार थियो |

मधेश समस्या कसरी समाधान हुन सक्ला त ? सरकारले के गर्नु पर्ला ?

किशोर नेपालको उत्तर थियो- "सरकारले मधेश र भारत सरकार दुवैसंग संगसंगै बार्ता गर्न सक्नु पर्छ | बार्ता नामको हावा फैलाएर मात्र हुदैन |" उनले थपे, "यो सरकारसंग त्यो ल्याकत छैन | यो सरकारले त्यो काम गर्न सक्दैन, आशा गर्नु पनि बेकार हो |"

सरकारले चीनसंग व्यापार बढाउन र अन्य नाकाहरु खुलाउन लागेको बिषयमा नेपालले भने, "नाका खोलिनु राम्रो कुरा हो | तर भौगोलिक अवस्थाले कत्तिको साथ दिन्छ त्यो पनि हेर्नुपर्छ |"

"केरुङ्गको बाटोबाट पेट्रोल ल्याउन सकिन्छ ? चीन आफैसंग कत्तिको सामर्थ्य छ की उसले हामीलाई हाम्रो माग अनुसार ईन्धन आपुर्ती गर्न सकोस !" किशोर नेपालको आश्चर्य मिश्रित प्रश्न |

यहि प्रसंगमा नेपाली राष्ट्रवादको कुरा निकाल्दै नेपालले भने,  "भारतसंग व्यापार गर्दैनौं, चीनसंग मात्र व्यापार गर्छौं भन्दा त नेपाली राष्ट्रवाद पराजित भयो |" नेपालले थपे, "नेपालको बिषयलाई लिएर भारतसंग झगडा गर्न चीन स्वयं तयार हुदैन |"


भिजन भएका नेता नै भएनन् 

"नेपालको बिकास केहि बर्षपछि आशा गर्न सकिन्छ होला | के छ हाम्रो नयाँ पुस्ताको हालखबर?" द नेपाल टुडेको जिज्ञासा |

"त्यस्तो कोहि पनि राजनीतिको परिदृश्यमा आएको छैन | बि.पी.संग आशा गर्ने ठाउँ थियो | उहाँलाई राजा महेन्द्रले काम गर्न दिएनन | त्यसपछि धेरै नेताको काम देखिसकिएको छ |"

"देश टपरटुईयाँवादमा चलेको छ | हाम्रा नेताले पढेका पनि छैनन् | पढन पनि चाहदैनन् | यिनीहरुलाई आफूभन्दा जान्ने अरु कोहि छ भन्ने पनि लाग्दैन |"-किशोर नेपाल |



नयाँ शक्ति की भुँईफुट्टा बर्ग


संयोगले हामीले त्यहि दिन किशोर नेपालसंग अन्तर्वार्ता गरेका थियौं जुन दिन नेपालमा बाबुराम भट्टराईले नयाँ शक्तिको नाममा पत्रकार सम्मेलन गर्दै नया शक्तिको घोषणा गरेका थिए |

"अहिले सबै नयाँ शक्ति नै हुन् | कांग्रेस पनि नयाँ शक्ति नै हो |" नेपालले भने |

नयाँ शक्तिलाई किशोर नेपालले हुण्डरीको संज्ञा दिए | भने,"यो सामान्य बतास र हावाहुरी भन्दा फरक हो तर दीगो होइन |"

उनले थपे, "बाबुराम भट्टराई जस्तो पुरानो शक्तिको खम्बाले नयाँ शक्तिको नेतृत्व गर्नु वा अरु कोहि आउनु खासै ठुलो कुरा होइन | खाली नाम चलेका मान्छेहरु एक ठाउँमा ल्याउन खोजेका छन् | तिनीहरु सबैको ईतिहास जनतालाई थाहा छ की उनीहरुको सम्बन्ध कोसंग छ,  कसको प्रतिनिधित्व गर्छन र कुन बर्गका मानिस हुन् भनेर तिनीहरु सबैको ईतिहास जनतालाई थाहा छ |"

"म त उनीहरुलाई भुँईफुट्टा बर्ग भन्ने गरेको छु |" नेपालको निष्कर्ष थियो |


विदेश बस्नेहरुलाई सम्हाल्न देश तयार भएको छैन 

विदेश बस्ने नेपालीहरुको चाहना एक पटक नेपाल मै गएर केहि गरौँ भन्ने त छ तर देश तयार छैन | त्यो खोरिया फाडेर बसेको हो तर त्यसले जीविकोपार्जन हुदैन भन्ने प्रमाणित भईसकेको छ | त्योभन्दा बढी सरकारले केहि योजना ल्याएको छैन | विदेश बस्ने आफ़ैहरुले पनि त्यस्तो योजना केहि ल्याएका छन् जस्तो लाग्दैन |

संचारका कुरा 

किशोर नेपालसंग संचारसंग सम्बन्धि कुरा त सोध्नै पर्यो |

नेपालको उत्तर थियो, "अरु क्षेत्र जस्तो छ संचार क्षेत्र पनि त्यस्तै छ |"

सोधियो- 'संचारले चेतना कत्तिको ल्यायो ?'

"एक दुई वटा संचार संस्थाका बाहेक धेरै संचार संस्थाका साथीहरु अझै पनि तलब नपाएको आफ्नै गुनासोमा अल्झिनु परेको छ | त्यस्तोमा संचारकर्मीहरुले कस्तो चेतना छरे भनेर मापन गर्नु ? तै पनि उनीहरुले सकेको योगदान गरेकै छन् |"

पत्रकार किशोर नेपालसंगको भिडियो अन्तर्वार्ता द नेपाल टुडेमा भोलि पोष्ट गर्नेछौं  | 

,