सेतो पोशाकमा मध्यरातकी सुन्दरी ! -जमुना वर्षा शर्मा


जमुना वर्षा शर्मा
अंकल ! यो गाडीमा चुरा र धागो किन झुण्डाउनु भएको ? तीजको समयमा मुस्किलले क्याविनमा सिट पाएकी छोरी प्राप्तिले बस चालकलाई सोधिन् । चालकले मुस्कुराउँदै जवाफ दिए ‘राति हिँड्दा राम्री महिलाले सताउँदिनन् भनेर ।’

१० वर्षीया छोरीको मन के शान्त हुन्थ्यो । उनले थप जिज्ञासु हुँदै फेरी सोधिन् ‘राम्री महिला भन्नाले ?’ ड्राइभरले भने ‘किच्कन्नी’ जो अति राम्री हुन्छिन्, तर व्यवहार डरलाग्दो हुन्छ ।’ हजुरले देख्नु भएको छ उनी निकै आश्चर्य भावमा प्रस्तुत भइन् । ड्राइभरले देखेको संकेत गर्दै टाउको हल्लाए । प्राप्ति थप जिज्ञासु हुँदै प्रश्न गर्दै थिइन् तर, मैले छोरीलाई बढी नबोल्न संकेत गरें ।

गाडी चलाइरहेका चालक त्यसमाथि यात्रुले खचाखच भएको बस घुम्ति र दोहोरो गाडीको रफ्तार बेला । चालकलाई विविध प्रश्न गर्दा दुर्घटना हुन सक्ने भन्दै, मैले छोरीलाई रोकें । ‘तिमीले बुझ्दिनौ यस्ता कुरा’ उनलाई जबरजस्ति शान्त पार्दै हातमा चाउचाउ थमाइदिएँ । निधार खुम्च्याउँदै छोरी चुप लागिन् ।

वास्तवमा छोरीले सोधेको प्रश्न र चालकको उत्तरले मलाई पनि जिज्ञासु बनायो । सोच्न र कल्पना गर्न थाले मध्यरातकी सुन्दरीका बारेमा । ‘राम्री महिला’ जसले पुरुषको सातो लिन्छे । आजसम्म राम्री महिलासँग पुरुष डराएको मैले सुनेकी छैन, त्यो पनि सातो जाने गरी । तर ‘ति महिला जो राम्री भएर पनि पुरुषलाई तर्साउँछिन्, त्यो पनि मध्यरातमा’ ति  को हुन् ?

महिला भएको नाताले कता कता गर्व गर्न मन लाग्यो, मध्यरातमा अप्रत्याशित उपस्थितीले आफूलाई बेजोड शक्तिशाली ठान्ने पुरुषको सातो लिएर आफ्नो अजंगको शक्ति प्रर्दशन गरेकोमा । भेटेर दिन मिल्ने भए साँच्चै अंगालोमै हालेर बधाई दिन्थे होला । तर, मेरा लागि यो एउटा पत्याउन नसक्ने बिषय थियो ।

अधिकांश सार्वजनिक र प्राइभेट गाडीमा चुरा, धागो, पोते झुण्डाएको हामी सबैले देखेका छौँ । रात्रीकालिन सवारी साधनमा त अनिवार्य जस्तै राखिएको हुन्छ । यसलाई सामान्य रुपमा लिने गरिन्छ । यसो किन गरेको भनियो भने आउने उत्तर भनेको ‘किच्कन्नी’ बाट बच्न भन्ने पाइन्छ ।

कतिले वाहियात, बकम्फुसे भन्लान त कतिले हो भन्दै टाउको हल्लाउलान पनि । को हो किच्कन्नी र कस्ता हुन्छन् भनेर बुझ्न खोज्यो भने रात्रीकालिन गाडी चलाउने केही चालकले लामो व्याख्या समेत गर्ने गर्छन् । कहिलेकाही प्रसंग उठाउँदा धेरैजसो ड्राइभरहरूले किच्कन्याको हुलिया पनि दिने गरेका छन् । ‘अग्ली सेतो पहिरन लगाएकी, लामो कपाल भएकी, खुट्टा उल्टो भएकी’ आदि आदि ।

मध्यरातमा गाडी रोकेको, लिफ्ट मागेको र केही पर गएपछि विलिन भएको घटना बडो गजबले सुन्न पाइन्छ । विभिन्न साइनो र आफन्तको नाम पुकारेर बोलाएको पनि भन्न भ्याउँछन् चालकहरू । विश्वस्त हुने आधार र चित्त बुझ्दो जवाफ नआएसम्म यसलाई पत्याउन जरुरी छैन । यद्यपी रातको समय कहि कतै एक्लै जाँदा ‘भुत प्रेत र किच्कन्या’ बाट मात्रै होइन कि जिउँदो मान्छेबाट डराउनु पर्ने अवस्था नै अझै हटिसकेको छैन ।

प्राइभेट गाडीको गेयरमा चुरा राखेका एक जना गाडी मालिकको तर्क केहि फरक पाइयो । एकसुरमा गाडी चलाइरहँदा गियर चेन्ज गर्नुपर्ने अवस्थामा विर्सियो भने गाडी थर थर गर्छ अनि चुरा बढी बज्छ । यसले गेयर चेन्ज गर्ने याद दिलाउँछ । कहिलेकाँही निदाउन लागेको अवस्थामा पनि चुराको आवाजले झसंग गराउँछ । यसर्थ आफूले गाडीमा चुरा राखेको उनको तर्क थियो ।

कहि कतै छोरी एक्लै हिड्न थाले आफू भन्दा १० वर्ष कान्छो नै भए पनि भाइको साथ पठाएर सुरक्षित ठान्ने समाजमा पनि केही पुरुष राती ‘राम्री महिला’ देख्दा डराउँदा रहेछन् । गजबै लाग्यो । पुरुषलाई कमजोर र अपमान अथवा उसको नालायकी प्रस्तुत गर्नका लागि सामाजिक संजाललगायतका माध्यमहरूमा चुरा पोते साडी पहिराइदिएर मजाक गरिरहेका दृश्य हाम्रा लागि सामान्य लाग्छन् ।

भारतले गरेको अघोषित नाकाबन्दीका विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई त्यस्तै पहिरहनबाट नालायक सावित गर्न खोजियो । नेपालका पनि मधेशवादी दलका नेताका तस्विरमा महिलाका पहिरन पहिराएर नालायक प्रमाणित गर्न खोजियो । राजनीतिक घटनाक्रम होस् वा सामाजिक बहिष्कारको बिषय, कसैको घोर अपमान गर्नु छ | चरम आक्रोश पोख्नु छ भने महिलाका पहिरनमा सजाइन्छ ।

यस्ता हर्कत गरेर महिलालाई कमजोर सावित गर्न आजपर्यन्त हाम्रो समाज क्रियाशील छ । महिलाको सुन्दरता र सौभाग्यसँग जोडिएका चुरा टिका पोते जस्ता साधनलाई नालायक र अक्षम देखाउन व्यग्यांत्मक प्रयोगमा ल्याउनेहरूले मध्यरातको डर भगाउन फेरी यसैको सहारा लिने गरेको देख्दा र सुन्दा मान्छेको विवेक र बुद्धिले कसरी काम गर्दो रहेछ जस्तो लाग्छ । यसर्थ पनि यो समाजमा मध्यरातकी शक्तिशाली सुन्दर युवतीको कहानी बास्तवमै गजब र रोचकको छ । अब मध्यरातमा कहिँ कतै जान परे सेतो पहिरन, लामो कपाल सहित हिँडे पक्कै पनि सुरक्षित भइन्छ कि ?

महिलाखबरबाट