मधेसी मोर्चाले गर्यो प्रहरीका ११९ पोष्टमा प्रहार

काठमाडौं—तराई मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका एक सय १९ स्थानमा रहेका सेल्टर र सवारीसाधनमा तोडफोड र आगजनी भएको छ। मध्य तराईका आठ जिल्लाका दुरदराजमा रहेका चौकीदेखि सदरमुकाम केन्द्रीत जिल्ला प्रहरी कार्यालय र सवारीसाधनमा प्रर्दशनकारीले तोडफोड र आगजनी गरेका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार साउन २४ गतेदेखि तराई मधेशमा सुरु भएको आन्दोलनमा सोमबारसम्म ५३ प्रहरी कार्यालयमा आगजनी गरिएको छ। यस्तै एउटा ट्रक, दुईवटा जिप, चारवटा मोटरसाईकलमा आगजनी भएको छ। आन्दोलनकारीले २८ वटा कार्यालय १४ ट्रक र १७ जिपमा तोडफोड गरेका हुन्।

प्रहरी प्रवक्ता डिआईजी कमलसिंह बमले आन्दोलनकाक्रममा तोडफोड र आगजनी भएका स्थानबाट प्रहरीलाई नजिककै कार्यालयमा सारिएको बताए। उनका अनुसार एकीकृत सुरक्षा योजना लागू भएपछिको क्षति पहिलेको तुलनामा कम छ। उनले प्रहरीले कम जनशक्ति र साधनस्रोत भएका प्रहरी चौकीलाई नजिकैको कार्यालयमा गाभ्ने नीति पछि क्षती कम रहेको बताए।

संविधान जारी भएको दिन असोज ३ गतेसम्ममा एउटा ट्रक, दुई जिप र चार मोटरसाइकल सहित पाँचवटा प्रहरी कार्यालयमा आगजनी भै सकेको थियो। जलाईएका प्रहरी कार्यालयमा ६० भन्दा बढी जनशक्ति रहेका थिए। यस्तै संविधान जारी गर्ने दिनसम्ममा ४० साना तहका प्रहरी कार्यालयमा आन्दोलनकारीले आगो लगाईसकेका थिए।

यस्तै असोज ३ गतेपछि आठवटा प्रहरी कार्यालय र आठवटा नै सवारीसाधनमा आगजनी भएको हो। प्रहरीले झडप उग्र भएपछि नियन्त्रणका लागि चलाएको गोली लागि प्रर्दशनकारीको मृत्यु भएपछि आक्रोशित भएर आगजनी हुने गरेको बताएको छ। यस्तै पर्सा, बारा, महोत्तरी र सप्तरीमा प्रहरीका सवारीसाधन र कार्यालयमा भएको आगजनी र तोडफोड केही शंकास्पद देखिएकाले अनुसन्धान समेत भइरहेको छ।

डिआईजी बमले क्षतीको यकिन विवरण र कारणको जानकारी लिन क्षेत्रिय प्रहरीबाट प्राविधिक टिम खटिएको बताए। आगजनी र तोडफोड भएका कार्यालय र सवारीसाधनको सुरक्षाका बिषयमा समेत टिमले अध्ययन अनुसन्धान गर्ने डिआईजी बमले बताए।