पौडेल, देउवा की कोइराला ? -प्रकाश श्रेष्ठ

प्रकाश श्रेष्ठ
नेपाली काँग्रेस लामो समय प्रजातन्त्र र समुन्नत समाज निर्माणको उद्देश्यमा आफुलाई अग्रणी मोर्चामा प्रस्तुत गरेको पुरानो पार्टी हो । कांग्रेसले निरङ्कुश राणा शासनको अन्त्य गर्ने साहसिक लड़ाई गरेकै हो |  निर्दलीय पच्चायती व्यवस्थालाई फालेर बहुदलीय प्रजातन्त्रलाई स्थापित गराउनुमा पनि कांग्रेसले नै महत्वपुर्ण भूमिका निर्वाह गरेको हो  भन्दा अन्यथा नहोला | अनि सदनबाट सड़क हुँदै जंगलमा पसी शोषित, पिडीत जनताको मुक्तीको नारा लिएर दश बर्षे जनयुद्ध लडेर हजारौ मानिसको बलिदान र प्रशस्तै राष्ट्रिय संरचना ध्वस्त गराएको पार्टीलाई शान्तीपुर्ण राजनैतिक अवतरण गराई सदनमा पुनस्थापित गराउने कार्यमा नेपाली काँग्रेसको भुमिकालाई नजरअन्दाज गर्न सकिदैन |

इतिहासका अहिलेसम्मका राजनैतिक र सामाजिक परिबर्तनमा कांग्रेसको भुमिका अग्रणी रहेको पाईन्छ | तर विडम्बना नै मान्नु पर्दछ, बि.पी.को प्रजातांत्रिक समाजवादमा आस्था राख्ने पार्टीले सत्ता पाएपछि सत्ताको उपयोग गरि स्पष्टरुपमा आर्थिक परिवर्तनमा देशलाई उचित मार्गनिर्देश गर्न सकेन | पटक-पटक चुक्यो, अक्षम्य गल्ती गर्यो | जसले गर्दा दशकौ देखिको जनताको भरोसा, आशा र भावनामा गहिरो चोट लाग्यो | यो चोटबाट बनेको घाऊलाई ठिक पार्न काँग्रेसले ठुलो मुल्य चुकाउनु पर्ने र व्यवहारमा जनतालाई काम गरेर देखाउनु पर्ने अवस्था आएको छ ।

     एकातर्फ पार्टी नेतृत्वमा भागबण्डाको राजनिती र पटक-पटक एउटै ब्यक्ती पार्टीपंक्ती र सत्तामा नेतृत्व समाल्दा पनि जनताले खासै परिवर्तनको महशुस गर्ने अवस्था प्राप्त गर्न नसक्नु र समाजवादलाई केवल नारा र पार्टीका दस्तावेजमा सिमित गरिनुले आम कार्यकर्ता र सर्वसाधरणमा नेतृत्व र नेताप्रती नै नकारात्मक विचार सृजना हुनुलाई अन्यथा लिनु हुँदैन किनकी जनताको जीवनस्तर र सभ्य समाजको निर्माणको जग नै राजनैतिक नेतृत्व र उसले प्रयोगमा  ल्याउने सक्षम कार्यविधी हो । यी कुरामा राजनैतिक नेतृत्व चुकेको आमजनताले र स्वयं नेताहरुले पनि स्वीकार गरेको बिषयबस्तु हो ।

   जुनसुकै संगठनमा कमिकमजोरी भयो भने त्यसलाई समयसापेक्ष परिवर्तन गरेर लैजानु पर्ने हुन्छ | त्यसमा पनि राजनैतिक संगठन समयानुसार अद्यावधिक हुनु अर्थात् परिवर्तन हुनु अत्यावश्यक हुन्छ । यसै सन्दर्भमा आगामी दिनहरुमा काँग्रेसको संगठन ढाँचा, संचालन शैली , नेताहरुको आचरणमा हुनुपर्ने परिवर्तन ,जनताप्रतिको उत्तरदायित्व , सामाजिक रुपान्तरण, आर्थिकरुपान्तरण, राजनैतिक अनुशासन आदीको स्पस्ट मार्गचित्र कोरिनु पर्दछ |  तदनुसार संगठनका तमाम कार्यको संचालन सक्षम नेताहरुबाट हुनु पर्दछ | साथै योग्य र सक्षमताको आधारमा नेतृत्व छानिनु पर्दछ न की ४०/६० को भागबण्डा र गुटगत आधारमा !

अब कांग्रेसको १३ औं महाधिबेशन नजिक-नजिक आईरहेको छ | नेताहरुको ध्यान त्यतैतिर तानिएको छ | अनि एक किसिमको रस्साकस्सी चलिरहेछ । यो दौड केवल लिगलिग कोटमा दौडेर राजा बन्ने होडको रुपमा भन्दा पनि सक्षम र स्पस्ट भिजन भएको व्यक्तीलाई संगठनको बागडोर समाल्ने मौका दिनुपर्ने रुपमा हेरिनुपर्दछ | हतारमा होईन संयमी बनेर त्यस्तो ब्यक्तीको खोजीमा हुनु पर्दछ | जसले विगतमा पार्टीलाई रक्तसंचारको काम गरि अनवरत खटिएर काम गर्यो त्यसलाई मुल्यांकनको आधार बनाईनु पर्दछ ।

काम गर्दै जाने सन्दर्भमा उमेरले बुढो हुँदै गएपनि एकपटकलाई मौका दिनुपर्दछ त्यो संगठनको धर्म हो र उसले विगतमा पार्टीको पदमा रहदाँ र सरकारमा रहदाँ भए गरेका कमिकमजोरीबाट सच्चिने मौका दिनुपर्दछ । सकेसम्म त नयाँ पिढी वा नयाँ व्यक्तिले नेतृत्व लिन सक्नु पर्दछ | तर कांग्रेस पार्टीको सन्दर्भमा कुरा गर्दा यो अहिले नै सम्भब छैन | त्यो कुरा गरेर समय खेर फाल्नु पर्दैन | कम्तिमा यो अधिबेशनसम्म | अर्को पाच बर्षपछि भने कांग्रेसमा ठुलो नै परिबर्तन सम्भब हुन सक्छ | त्यसका लागि पनि यो अधिबेशनमा नेता र कार्यकर्ताको बहाव हेरेर अरु बढी भन्न सकिएला !

यहि अधिबेशनका सन्दर्भमा भने अहिले चर्चामा रहेका नेताहरु शुसिल कोईराला, शेर बहादुर देउवा र रामचन्द्र पौडेल नै हुन् | यिनीहरुकै त्रिपक्षीय वा द्वीपक्षीय भिडन्त हुने सम्भावना छ | उनीहरुमध्ये शुसिल र शेर बहादुरले पटक-पटक संगठनको मेजर पोस्टमा रहेर काम गरिसकेका छन् | साथै शुसिल एकपटक र देउवा धेरै पटक प्रधानमन्त्री भएर काम गरिसकेको र जनताले उनीहरुको गतिविधिलाई राम्ररी मुल्यांकन गरिसकेको  अवस्था छ |

परिबर्तनको कुरा मुखले फलाकिरहने तर समय आउदा र मौका पाउदा तिनै टेस्टेड अनुहारलाई अगाडी सार्ने र उनकै पछिपछि लाग्ने काम गर्नु उचित होइन | जनताले घरी-घरी एउटै चेहरा पार्टी र सत्तामा देखिरहन नरुचाउने कुरा सबैले महशुस गर्न सकिन्छ | तसर्थ एकपटकलाई स्पस्ट कार्यदिशा, कार्ययोजना, रणनिती र भिजनका साथ प्रस्तुत हुन्छन् र भागबण्डाको पार्टी भित्रको राजनिती एवं गुटप्रथालाई अन्त्य गर्न तत्परता देखाउँछन् भने रामचन्द्र पौडेललाई पार्टीको जिम्मेवारी दिदा हाललाई समुचित न्याय होला भन्ने देखिन्छ | यो अधिबेशनमा कांग्रेसले गर्न सक्ने ठुलो परिबर्तन यहि नै हो भन्ने लाग्छ | किनकि सिटौला, रामशरण, अर्जुननरसिंह, नरहरि स्वयंले पनि कुरामा त हिम्मत गर्लान तर अन्तिमसम्म सभापति कै उमेद्वार बन्लान भन्ने धेरैले अनुमान गर्न सक्दैनन् |

यदि पौडेलले प्रतिबद्दता अनुरूप काम गर्न नसकेमा वैकल्पिक नेतृत्वको ड्राईवर सिटमा बसी संगठनको स्टेरिग हाँक्न युवाहरु तयार हुनु जरुरी छ ।अब युवाहरुमा जोश र होश दुबै भएकोले राम्रोसँग संगठनलाई हाँक्न सक्ने हैसियत छ, तथापि रामचन्द्रलाई १७ -१७ पटक नजित्ने चुनाबमा पार्टीले संसदमा लड़ाएकै हो | कोइरालाले धेरै दुखले कार्यबाहक दिएका हुन् | उनले यसपटक पार्टीलाई नयाँढंगबाट चलाउँछु, एकपटकलाई नेतृत्व दिनुहोस् भनेका पनि छन् | पुरानै अनुहारबाट परिबर्तन खोज्नुभन्दा पौडेललाई अवसर दिने र दुई पुरानालाई बिश्राम दिने गर्दा कांग्रेसलाई राम्रो हुनेछ | जसले गर्दा पहिलो त् अर्को पटक पक्कै नयाँलाई आउने बाटो खुल्नेछ | दोस्रो, साठी र चालिसको भागबन्डाको राजनीति सकिन्छ | तेस्रो, पार्टी कोइराला क्याम्पबाट बाहिर जान्छ |

स्वाभाविक रुपले भन्न सकिन्छ की पार्टी प्रजातान्त्रिक र समाजवादका अहिले देखिएका मध्येका राम्रा नेताको हातमा छ | पौडेल तुलनात्मक रुपमा अन्य दुई नेता मध्ये कम बिबादित र असल आचरणका नेता हुन् | थोर बहुत अध्ययनशिल र बौद्धिक पनि छन् |

यसो गर्न सकेमा पार्टीका हरेक बौद्धिक कार्यमा खट्ने, अफ्टेरोमा सहयोग गर्ने, पार्टी फुटाउने बेलामा पार्टी एक हुनुपर्छ भन्ने अडान राख्ने र भित्र बसेर कोइरालाहरुसंग टक्कर लिने पौडेललाई सम्मान गरेको ठहर्छ | जुन न्यायसंगत र व्यवहारिक हो भन्ने लाग्दछ | बाँकी कार्यकर्ता कै हातमा !


,