विस्तार भयो -दीपक विश्वकर्मा



विस्तार भयो
हो विस्तार भयो
हालसालै ठूलो विस्तार भयो
मन्त्रीहरुको संख्या विस्तार भयो
मन्त्राणीहरुको सानमा विस्तार भयो
प्राडो,पजेरोको विस्तार भयो
मन्त्रीक्वाटर, भान्से र दरवानको विस्तार भयो
निर्धा निमूखा जनताले तिरेको
खुनपसिनाको संचय
करको दोहनमा समेत विस्तार भयो ।

नीजि सचिवको विस्तार भयो
आसेपासे र भरौटेको विस्तार भयो
चुक्ली, चाप्लुसी र भनसुनको विस्तार भयो
नातावाद, कृपावादको विस्तार भयो
लेखान्तरको कुरो भनौ
आउँदा अनेकौ वर्षहरुलाई
भू.पू.को मानपदवी र अलंकारमा विस्तार भयो ।

विस्तार त जाडोको पनि भयो
डिग्रीको सून्यभन्दा अझै तल विस्तार भयो
जाडोको मात्र विस्तार भएन
त्रिपालका सुत्केरीहरु
बृदा, बनिता र असहायहरुको पीडा
क्रदन, रोदन र चित्कारमा विस्तार भयो
काखका बच्चा, नवजात शिशुहरुको
मृत्युको ताण्डवलिलामा विस्तार भयो
र विस्तार भयो,
लोकोत्तीको कुरो गर्दा
यमराजको बहिखातामा
पीडित भूकम्प पीडित
अकाल र बाढ पीडित
अनिकाल र महामारी पीडित
निर्धा र निमुखाको नामाङ्कनमा समेत
मनग्ये बिस्तार भयो ।

दाताको दानमा विस्तार भयो
दानको रकम कसैको खातामा विस्तार भयो
पीडितको फर्जी नाम
नक्कली सिफारिस र भुक्तानीमा विस्तार भयो
गोदामका किमती सामान
कम्मल, च्यादर र बन्दोबस्तीहरु
ठूलाबडाका घरघरमा पुग्नेक्रमको बिस्तार भयो ।

हो त, विस्तार भयो
हालसालै मन्त्रीमण्डलमा विस्तार भयो
विस्तार भयो सत्ता टिकाउने खेल
संबिधान, कानूनका मर्म र मूल्यमान्यतालाई
च्यातेर धुजाधुजा बनाउँदै
जम्बो मन्त्रीमण्डलको हालसालै विस्तार भयो ।

बुटवल, रुपन्देही
मितिः २०७२ पौष १५