राष्ट्रपति ज्यू, मन्दिरलाई दान की भूकम्पपीडितलाई कम्बल ?

सरु सुनार
यतिबेला रास्ट्रपति विद्या भण्डारीको जनकपुर मन्दिर पुजाआजा र विधवाले मन्दिर छोएको प्रसंग निकै चर्चित बनेको छ । उनै राष्ट्रपति भण्डारीले पशुपति मन्दिरमा संकल्प पुजा समेत गरिसकेकी छिन् । जनकपुर मन्दिर प्रवेशलाई लिएर स्थानिय युवाहरुले गंगाजलल मन्दिर चोख्याएपछि देशभर सर्वत्र विरोध समेत भयो । यस घटनालाई विभिन्न तरिकाले विश्लेषण समेत हुने गरेको छ ।

उक्त घटना राष्ट्रपतिमाथि भएको भन्दा पनि महिलामाथि भएको हो । महिलाभएकै कारण उनीहरुले यस्तो हर्कत गरेका थिए । यो घटना महिलामाथि हुने हिंसाको एउटा रुप थियो । राष्ट्रपति माथि भएको हुनाले यो निकै चर्चित बन्यो । यद्यपी सामान्य महिलामाथि भएको भए सायद यस्तो विरोध या चर्चा हुने थिएन होला ।  तर जसमाथि गरिएको भएपनि त्यो एक प्रकारको विभेद नै हो । धर्मको गलत मान्यताका कारण जनकपुरमा युवाहरुले यस्तो हर्कत गरेका हुन् । यदि समाजमा धर्म हुन्थेन भने यो अवस्था आउथ्यो वा आउँथेन त्यो काल्पनिक विषयको उत्तर त्यति सहज छैन ।

तर विभेद र यस्ता कुसंस्कार , कुरुती , अन्धविस्वाशी , परम्पराको मूल जरो धर्मका गलत मान्यताहरु नै हुन् । संसारमा धर्मको शुरुवातसँगै यस्ता मान्यताहरु पनि स्थापित हुँदै आए । यी गलत मान्यताहरुको सिकार बन्नु आज हज्जारौ नारीहरुको नियति बनेको छ । यस्तै नियतिको शिकार हाम्रो देशको राष्ट्रपति स्वयम हुनु आफैमा दुर्भाग्यपूर्ण छ । यसले हामीलाई ठूलो शिक्षा दिएको छ । मानसीक संरचनामा जकडिएको गलत मान्यताहरुको ध्वंश नभएसम्म समाजमा महिलाहरुलाई राष्ट्रपति बनाएर पनि राम्रो परिणाम नआउने रहेछ भन्ने कुरा हामीले यस घटनाबाट सिक्नुपर्छ । हाम्रो मानसिक संरचनाले महिलामाथि जुन विभेदकारी दृष्टिकोण राख्छ त्यो नै सबैभन्दा ठूलो समस्या हो । यिनै मानसिक संरचनाहरुको देशबाट राष्ट्रपतिमाथि विभेद हुनु कुनै नौलो विषय होइन ।

जनकपुर प्रसंगमा राष्ट्रपति आफै जनकपुर मन्दिर जानु गलत थियोकी भन्ने धारणा समेत आएको छ । वरिष्ठ पत्रकार किशोर नेपालले ‘राष्ट्रपति भण्डारी जनकपुर जानु बाञ्छनीय थिएन’ भनेर लेख्नुभएको छ । कम्युनिष्ट राष्ट्रपतिले धर्मको पछि लाग्ने की गलत मान्यता भत्काउन नेतृत्व गर्ने ? यो आम प्रश्न बनेको छ । यदि उहाँ आफै परिवर्तन हुनुभएको भए सायद समाजले ठूलै शिक्षा सिक्थ्यो ।

हाम्रो समाजले मान्दै आएको सतिप्रथा, पतिप्रथा, दाइजोप्रथा, छाउपडी , बोक्सी जस्ता गलत प्रथाहरु जसले समाजमा जरो गाडेका छन् । यी अन्धविश्वासी गलत मान्यता हुन् भन्ने जान्दाजान्दै पनि धर्म र परम्परा कै नाममा महिलाहरुले यो संस्कारलाई अगाल्नु कति सम्म ठिक छ ?

जुन धर्मले लोग्नेको मृत्यु पछि, जिउँदै चितामा जल्नु पर्ने र यदि जिउँदै जल्दा पिडाले छटपटिएर बाहिर निस्क्यो भने ढुङ्गाले हानी–हानी मारेर जलाउने प्रथाहरुले कुनै समय राज गरेकै हो । ती प्रथाहरुको अवशेषको रुपमा अझैपनि महिलाहरुमाथि धेरै विभेदहरु हुने गरेको छ । यो संस्कारले लोग्ने मरेपछि सिन्दुर, पोते, रातो कपडा लगाउन बन्देज गरेको छ । यस्ता महिलाको सिन्दुर हटाएर विधवाको टिका सहित सेतो पहिरनले समाजमा चिनाइन्छ । उसलाई मान्यताहरुको जेलमा हालिन्छ । सेतो पहिरन लगाउनु पर्ने, समाजमा पुरुषहरुसँग बोल्न नहुने जस्ता गलत मान्यताहरुको शिकार बनाइन्छ । स्वयमं राष्ट्रपतिले समेत सेतो सारी लगाएर चुनाव लड्नुभएको घटना जीवितै छ । विधवालाई समाजमा स्वतन्त्रताको चंगा भएर उड्न दिइँदैन । तर यहि समाजमा श्रीमती गुमाएको पुरुष परस्त्रीसँग रमान्स गर्दै हिँड्छ । धुमधामपूर्वक उसको विवाह हुन्छ । यी सबै गर्दा पुरुष जायज हुन्छ । महिलाले मन मिल्ने पुरुषसँग बोली मात्रै भने ‘विधवा’ माथि मान्यताहरुको लाठी लगाइन्छ । विभिन्न अश्लिल आरोपहरुको पहाडी चड्नु महिलाहरुको नियति हुन्छ । यो विभेदको खडल होइन ? यो खाडल कसले बनायो ? यसका उत्तरहरु इतिहासको गर्भबाट समयमै जन्मिएको भए आज हामी यो अवस्था पक्कै भोग्ने थिएनौं ।

२१ औं  शताब्दिलाई विज्ञानका युग भनिन्छ । हामी त्यो युगमा बाँचेका छौं पनि भनिरहेका छौं । ठूला–ठूला परिवर्तनको कुरा पनि गरिरहेका छौं । तर हामीले धर्म वा त्यसका गलत मान्यताहरुलाई पनि संगै मानिरहेका छौं । धर्म र विज्ञान विल्कुलै फरक कुरा हुन् । यो सँगै जानै सक्दैन । विज्ञान भौतिकवाद हो । कम्युनिष्टहरुले भौतिकवादलाई मान्नेगर्छन भन्ने मैले सुनेको थिएँ । हाम्रो देशका राष्ट्रपति कम्युनिष्ट पार्टीका पूर्व उपाध्यक्ष हुनुहुन्थ्यो । तर उहाँबाटै मन्दिर धाउनु नितान्त अस्वभनिय विषय हो । त्यसो त हालै जारी भएको नेपालको संविधानले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको छ । धर्मनिरपेक्ष राष्ट्रको राष्ट्रपतिले एक धर्म वा मन्दिरलाई मात्रै यतिधरै महत्व दिनु आफैमा गलत हो । तर हाम्रो संविधानले धर्म निरपेक्षतालाई गलत रुपमा समेत व्याख्या गरिदिएको छ । सोही गलत व्याख्याको फाइदा उठाउँदै मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपतिमाथि जंगली व्यबहार देखाएको केही बुद्धिजीविहरुको समेत भनाइ छ ।

सोमबार नै राष्ट्रपति भण्डारीले मुलुकको संकट मोचनको लागि भन्दै पशुपतिमा पुजाआजा सहित आफ्नो एक महिनाको तलब त्यहाँ दान गर्ने घोषणा गर्नु भयो । यो सार्वजनिक भएसँगै चौतर्फी विरोधका स्वरहरु सुनिन थालेका छन् । भूकम्पपीडित जाडोमा कम्बल नपाएर कठ्याङ्ग्रीएर मरिरहेका छन् । तर हाम्रा राष्ट्रपतिमा भने कुनै संवेदना देखिएन । उहाँले धर्मका मान्यताहरुलाई पछ्याउँदै पशुपतिका धनाड्य पुजारीको हातमा लाखौं रुपैयाँ सुम्पीउको समाचार सुनिरहँदा कठ्याङ्ग्रीएका भूकम्पपीडित के सोचिरहेका हेलान ?

सम्माननीय राष्ट्रपति ज्यू तपाईंलाई अन्तिममा एउटा प्रश्न छ, यतिबेला मन्दिरलाई दान चाहिएको छ की भूकम्पपीडितलाई कम्बल ?

साभार: साझापोष्ट