जिब्रोको क्यान्सर ठीक भयो भन्दै सभापति कोइरालाद्वारा पुनः चुनाव लड्ने सङ्केत

स्याङ्जा : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आसन्न १३ औँ महाधिवेशनमा सभापति पदमा पुनःचुनाव लड्ने सङ्केत गरेका छन्।  

 नेपाली कांग्रेस स्याङ्जाद्वारा ४०औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै सभापति कोइरालाले भने– “म शारीरिक रुपमा कमजोर छैन। जिब्रोको क्यान्सर पनि अहिले ठीक भएको छ। म पूर्ण स्वस्थ्य छु।” प्रधानमन्त्री र पार्टी सभापति एकै समयमा हुनुपरेकाले सोचेजस्तो पार्टीको काम र सङ्गठन गर्न नसकेको स्वीकार गर्दे उनले भने– “अब पार्टी सङ्गठित रुपमा एक ढिक्का बनाएर लैजानेछु।”  

  साठी/४० को भागबन्डाका कारण एउटै पार्टी दुई धारमा विभाजित हुँदा देशभरका लाखौं कार्यकर्तामा नकारात्मक सन्देश गएकाले १३औँ महाधिवेशनले सबैलाई सङ्गठित गर्ने एकताको महाधिवेशन हुने उनको धारणा थियो।

  नयाँ संविधानको संस्थागत विकास र सफल कार्यान्वयन गर्ने चुनौती पनि काँग्रेसको काँधमा आएको कोइरालाको धारणा थियो ।

 अब काँग्रेसकै अगुवाइमा संविधान संशोधन गरी मधेसका माग सम्बोधन गरिनेछ र मुलुक राजनीतिक स्थिरता र दिगो विकासमा अघि बढ्नेछ, त्यसका लागि सम्पूर्ण पूर्वाधार तयार भएको कोइरालाको भनाइ थियो ।  

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, शशांक कोइराला र बालकृष्ण खाँण, सांसद चन्द्रमोहन यादव, किरण यादव र राजु थापा, पूर्वसांसद मोहन पाण्डे र खगेन्द्रराज रेग्मी, स्याङ्जाका उपसभापति मुक्तिप्रसाद सुवेदी र कार्यालय सचिव दशरथ अर्याललगायतले आआफ्ना धारणा राखेका थिए।    

यसैबीच, पुतलीबजार नगरपालिका–१ अभियानपथमा रु एक करोड ४१ लाख ३३ हजारको लागतमा स्याङ्जा काँग्रेसको अत्याधुनिक सुविधासम्पन्न कार्यालय भवनको सभापति कोइरालाले आजै उद्घाटन गरे।   झन्डै दुई रोपनी क्षेत्रफलमा निर्मित सो भवन चार तलाको छ। सो अवसरमा भवनमा आर्थिक सहयोग गर्ने झन्डै दुई दर्जन चन्दादाता, जग्गादाता र सहयोगीलाई सभापति कोइरालाले सम्मानित गरे।  रासस