यौन र नारी मनोविज्ञानमा आधारित 'घागी' आउदै



















सतिश चापागाईं

बाल्टिमोर अमेरिका, डिसेम्बर २४ /

'घागी' नेपाली शब्दकोश मै नभएको एउटा शब्द हो | यहि शब्दले अहिले नेपाली साहित्यको सगरमाथा चढने सुरसारमा छ |

घागी शब्द लिएर साहित्य बजारमा उदाएका छन -साहित्यकार शिव प्रकाश  |

यो फगत शब्द मात्र होइन | एउटा पुस्तक पनि बनिसकेको छ | साहित्यकार तथा लेखक शिव प्रकाशको नयाँ कथा संग्रह - 'घागी' |

घागीका बारेमा जब शिव प्रकाशले आफ्नो फेसबुकमा लेखे, धेरैले जिज्ञासा राखे "घागी भनेको के हो?"

कथाकार शिव प्रकाशले पनि सजिलो जवाफ दिए - "अझै केहि दिन पर्खनुस | पुस्तक पढ्नु, त्यही भेटिन्छ यसको अर्थ |" एउटा लेखकले प्रकाशोन्मुख पुस्तकका बारेमा यसो भन्नु स्वाभाविक नै हो |

यहि घागीका कथा संग्रहका बारेमा द नेपाल टुडेसंग शिव प्रकाशले भने, "यसले नेपाली साहित्यका हरेक परम्पराहरु तोड्ने छ |"

कसरी ? द नेपाल टुडेको अर्को प्रश्न !

शिव प्रकाशको जवाफ, "नेपाली साहित्यमा घागीले यौन र नारी मनोविज्ञानलाई फरक ढंगले पस्केको छ |" कथाकारले थपे, "यसले नेपाली समाज र अमेरिकी समाज जोड्ने छ | यसले नेपाली नारी, यौन मनोविज्ञान र पश्चिमेली नारी र यौन मनोविज्ञानलाई जोडेको छ |"

घागी अर्को हप्ता सार्बजनिक हुदैछ | सार्बजनिक कार्यक्रममा सहभागी हुन कथाकार पनि नेपाल जादैछन् | अमेरिकाको म्यासाचुसेट्समा बसोबास गर्ने कथाकार नेपाली पत्रपत्रिका र अन्लाईनहरुमा नियमित लेख्ने लेखक पनि हुन् |

सांग्रिला बुक्सले यो पुस्तक प्रकाशन गरेको हो |

कसले के लेखेका छन् यो किताबका बारेमा ? (स्रोत: शिव प्रकाशको फेसबुक)




शिव प्रकाश
लेखन एक खतरनाक मौनता र धीरताबाट सुरु र अन्त्य हुने डरलाग्दो प्रकृया हो । त्यसैले लेखक सधैं संकटमा हुन्छ ।
अहिलेसम्म जति लेखें त्यति पनि लेख्न नसकेको भए म सायद कि बौलाउँथे कि बौलाउनुको विकल्प आत्महत्या रोज्थेँ । बौलाउनु र आत्महत्या रोज्नुभन्दा लेखेर संकट मोल्नु उचित ठानें । ‘कथाहरुले बनेको यो संसार’मा कथाहरु बाँचिरहुन् ।
(दूईहप्तापछि पाठकमाझ पुग्ने घागी प्रकाशनका लागि साँग्रिला–बुक्स र आवरणका लागि रविन सायमीजीलाई सादर धन्यवाद)



*राजकुमार बानियाँ (घागीका टिप्पणीकार)-

‘शिव प्रकाशको दोस्रो कथाकृति हो, घागी । धेरै सत्य अनि थोरै कल्पनाको दोभान नै ‘शिव प्रकाश–छाप’ कथाका विशेषता हुन् । उनी प्रयोगमा विश्वास गर्छन् । कटाक्ष–कलामा त उनलाई उस्ताद भने पनि हुन्छ । तिनमा छुट्टै शृङ्गार, विचार र सन्देश छन् । उनका कथा पाठकसँग संवाद गर्न सफल पनि छन् ।
असलमा घागीका शिव प्रकाश ‘प्रेमी’ हुन् । भाषाप्रेमी, राष्ट्रप्रेमी, माटोप्रेमी, मान्छेप्रेमी । लामो पाताल प्रवासमा उनको निष्कर्ष हो, पश्चिममा रमभझम र रमिता छ पूर्वमा रचना र सिर्जना ।’

*पेशल पोखरेल (घागीमा पाठकीय विचार)-

‘के छैन यसमा ? कर्मकाण्डीय लेखनलाई त सुरुमै चुनौती छ । मलाई यस्तै लेखन मन पर्छ– प्रयोग र परिकल्पनाको संयोजन । जहाँ कथामा कविता भेटियोस्, निबन्धमा कथा भेटियोस् । कथा, कविता र निबन्धको त्रिवेणी– त्यसमा अरू पनि रङ्ग थपेका छन् शिव प्रकाशले ।
लेखक रसिक छन् । यौन र यौवनका कुरा उन्न उनी अत्यन्त सिपालु छन् । जैमली र घागीका कथाहरूमा छताछुल्ल छन् लेखकका बैँसालु संवेग र संवेदना । दैहिक आकर्षणका कुरामा पनि लेखक इमान्दार छन् |
लेखक नारीका विष्मयकारी रूपहरूको सामीप्यमा भेटिन्छन् । उनीहरूका आचरण, व्यवहारसँग असहमत हुँदाहुँदै पनि खुसुक्क आफ्नो कमजोरी पनि पोखिहाल्छन्, ‘त्यो बैँसको शिखाले मलाई पनि पगाल्दै त छैन ?’ मैले भन्नैपर्छ– ए लेखक ! बैँसको आगोअघि मान्छे पग्लिएन भने पो अस्वाभाविक ।
चोटिला टिप्पणी र विचारमन्थनहरूमा नियमित पोखिनु, सामाजिक–राजनीतिक विसंगतिहरूमाथि निर्धक्क औंला ठड्याउनु पनि उनको लेखकीय दिनचर्या भएको छ आजभोलि ।’




,