जापानमा नयाँ वर्षमा भव्य सांगीतिक कार्यक्रम हुने


टोकियो । अंग्रेजी नयाँ वर्ष २०१६ को अवसरमा जापानको टोकियोमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ ।
‘म्युजिकल नाईट’ नामक सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका लवकुमार बुढाथोकीले नयाँ वर्षको पहिलो दिन जनवरी १ मा चर्चित कलाकर्मीहरुको उपस्थितिमा टोकियोमा नयाँ वर्ष म्युजिकल नाईट’ को आयोजना गर्न लागेका हुन् ।
उक्त कार्यक्रममा लोकदोहोरी गायक प्रेमराजा महत, गायिका शान्ति भण्डारी तथा लोकदोहोरी म्युजिक भिडियोका मोडल तथा निर्देशक शंकर बिसी, चर्चित नायिका केकी अधिकारी तथा पप गायक कमल खत्रीको प्रस्तुति हुनेछ ।
जापानमा रहेका नेपालीहरुलाई मध्यनजर गरेर आयोजना गरिने उक्त कार्यक्रममा विधागत रुपमा सबै गीत संगीत र संस्कृतिलाई एकै स्थानमा देख्न सकिने आयोजक बुढाथोकीले बताए ।
आयोजकका अनुसार यसपटकको यो सांगीतिक कार्यक्रममा दर्शकहरुले सिंगो नेपालको गीत संगीत र झाँकीहरु एकै ठाउँमा देख्न पाउनेछन् ।
लोक दोहोरी देखि आधुनिक गीतहरु प्रस्तुत हुने कार्यक्रममा नेपाली राष्ट्रिय गीतहरुलाई विभिन्न कलात्मक अभिव्यक्ति दिएर प्रस्तुति गरिने बुढाथोकीले बताए ।
म्युजिकल नाईट टोकियोको एकेडेमीमा प्रस्तुत हुने सो सांगीतिक कार्यक्रममा आयोजकले आफ्नो देशको भाषा संस्कृतिको जगेर्ना गर्न सहज होस् भन्ने हेतुले ‘म्युजिक फर किड्स एजुकेशन’ नारा नै दिएको छ ।
सांगीतिक कार्यक्रमको आयोजक समितिले कार्यक्रममा उपस्थिति जनाएर नयाँ वर्ष भव्य रुपले मनाउन जापानबासी आम नेपाली तथा सबै जापानबासीलाई आह्वान गरेको छ ।

,