पछुतो बाहेक केही रहन्न -अरुणा रायमाझी

अरुणा रायमाझी

काठमाडौं । धर्मको कुरा के निकालेको थिएँ, सँगै बसेका कमरेडहरूले खित्का छोडेर हाँस्दै भने– आजभोली धार्मिक कार्यक्रम खुब मनपर्छ कि क्या हो ?
म अवाक भएँ !

कुरा विवाह पञ्चमीको दिनको हो ।

सोचें, एउटा घटनाको भरमा मात्र कसैका बारेमा धारणा बनाईहाल्नु हुँदैन । तर, विवाह पञ्चमीको दिन राष्ट्राध्यक्ष एकल महिलामाथि गरिएको अपमानले तराई आन्दोलन प्रति मनमा दया पलायो ।
……………………

मेरो विगत बुझेका ती कमरेडहरू हाँस्नु अनौठो थिएन । केही समय बहस पनि भयो । तर, ती साथीहरूले मलाई औंला भाँचेरै गिज्याउन थाले ।

जातको नाममा राज्य निर्धारण गर्ने को ? सक्ने भन्दा बढी सपना बाँड्ने को ? हजारौं महिलाको सिन्दुर पुछ्ने को ? उपेन्द्र जन्माउने को ? जवर्जस्ती जनै र टुप्पी काटी दिने को ? यस्तै यस्तै । उनीहरूको संकेत माओवादी आन्दोलन प्रति हो भनेर बुझ्न गाह्रो थिएन ।

छेवैको साथीले थप्यो– विष रोपेर अमृत फल्दैन कमरेड ? जनकपुर घटना त्यही हो । साथी बोलिरहँदा मैले द्वन्द्वको बेला भएका धेरै घटना मध्ये अर्घाखाँचीको एउटा घटना सम्झिएँ । घटना बाँगी बरमकोटको हो ।

द्वन्द्वकालको कुरा । लेकबेसी गर्दा मानिसले भगवानको रुपमा फूल चढाउने गरेको ठाउँमा सुराकीको नाममा स्थानीय भेषवहादुर क्षेत्रीको हत्या भएछ । कसुर माओवादी कार्यक्रर्ताको सुराकी गरेको भन्ने थियो ।

उनको जेठो छोरा र म एउटै कक्षामा पढ्थ्यौं । बुबाको हत्यापछि साथीले स्कुल छोड्यो । धेरै पछि हत्याको बदला लिने भन्दै ऊ सेनामा भर्ती भएको भन्ने सुने । अहिलेसम्म पनि त्यो साथीसँग भेट भएको छैन ।

घटनाको सत्यता के थियो, मलाई थाहा छैन । तर, त्यो बेला नेताको स्यालहुँइयामा दौडने माओवादी युवामा त्यो घटनाप्रति कुनै पश्चाताप थिएन । पशुलाई जस्तै बली चढाइयो मेरा साथीका बुबालाई ।
   …………………….

मलाई सम्झना छ, एमाओवादी अध्यक्ष प्रचण्डले लेख्ने हरेक दस्तावेज भित्र जनताका लागि स्विजरल्याडको परिकल्पना हुन्छ । प्रचण्ड, बाबुराम, किरण र विप्लव मञ्चबाट बोल्दा भूइँमा पलेँटी कसेर बसेको मेरो पुस्ताले अन्धभक्त भएर सँधै ताली पिट्दै आयो ।

अहिले मधेशमा नयाँ पुस्ता त्यही गरिरहेको छ ।
मसँगै ताली पिट्ने प्रचण्डका केही आफ्न्तहरूको हैसियत अहिले पुरै बदलिएको छ । उनीहरू हिजोको ब्याज मात्र होइन, आज भूकम्पले सर्वस्व गुमाएका जनताको भाग समेत चुँडेर आफ्नो घरमा हुल्न खोजिरहेका छन् । उनको एक ‘कासन’मा ज्यान दिन तयार जनताका छोराछोरी, मोदीको देश र कतारमा मजदुरी गर्न बाध्य छन् ।

राष्ट्रिपतिलाई विधवा, कुलङ्गार र अलछिना भन्ने मधेशको युवा पुस्ता भोली माओवादी आन्दोलनका मेरा सहपाठी पुगेको ठाउँमा पुग्ने निश्चित छ । जो आज पश्चातापको आगोमा जलिरहेका छन् । मधेश आन्दोलनको नेतृत्व गर्ने महन्थ ठाकुर, उपेन्द्र यादव, विजय गच्छेदार र उनका परिवारको जीवनमा यो आन्दोलनले अवश्य परिवर्तन ल्याउनेछ । तर, आन्दोलनमा लागेका युवा खाली हात, भाग्य र कर्मलाई दोष दिएर भारत पलायन हुन्छन्, नभए कुनै खाडी मुलुकको तातो रापमा पोलिएर जीवनको भविष्य खोजिरहेका हुनेछन् । मेरो पुस्ताको अनुभवले यहि भन्छ ।

माओवादी आन्दोलनको अनुभवका आधारमा म ठोकेरै भन्न सक्छु– मधेश आन्दोलनका नेता र तिनका आफन्तबाट अहिलेका आन्दोलनकारी युवाका आमा, दिदी, बहिनी र श्रीमतीहरू शासित हुनेछन् ।

ती युवाहरूको परिवारले जानकी मन्दिर परिसरमा विद्यादेवी भण्डारीको जस्तै दुर्व्यवहारको शिकार हुन धेरै समय कुर्नुपर्ने छैन । त्यो बेला आँखा खुल्नेछ । तर, समय यति घर्किसकेको हुनेछ कि त्यसबेला आन्दोलनकारीसँग पछुतो बाहेक केही बचेको हुनेछैन ।
 ……………………….

हामी दई दशकका साक्षी हौं  । समाज परिवर्तनको सपना देख्दै घरपरिवार छोडेर हजारौं युवा बाबुराम र प्रचण्डको पछि लागे । असी काटेका बुबा आमालाई मर्ने बेलामा सुन पानी खुवाउने समय थिएन मेरो पुस्तासँग ।

क्रान्तिका लागि भन्दै हजारौं शहिद भए, सयौं बेपत्ता छन् । अंगभंग हुनेको सँख्या कति छ कति । केही महिला साथीहरू बलात्कृत भए । आन्दोलन टुंगियो । घर फर्कंदा गाउँको पाखो बारीमा दुबो उम्रिएको थियो । ढुंगाले छाएको घरको छाना चुहिने भएको थियो । आगनको डिलमा बसेर हामीलाई नछोडे है भन्ने आमा बुबा थिएनन् ।

समय बदलिन बेरै लागेन । जनमुक्ती सेनाका कमाण्डरहरू भ्रष्टाचारको आरोपमा परे । छानविनका लागि पार्टीले अनुगमन टोली बनायो । अनुगमन टोलीको प्रतिबेदनले भन्यो– रसरंगमा कमाण्डरहरूले पैसा उडाए ।

पर्सामा सामूहिक बलात्कारमा परेकी महिला अहिले कतारमा घरेलु कामदार छन् । उनी भन्दा पछि पार्टीमा आएकाहरू कतारमा पसिना बगाएकी ती महिलाको कमाईमाथि आँखा लगाउन थालेका छन् । कुनै आयस्रोत नभएका नेताले शान्ति प्रक्रियापछि महल ठड्याए । कस्तो अचम्म एउटै आन्दोलन, उस्तै लगानी । नेता झन् झन् धनी, कार्यकर्ता झन् झन् गरिव । बुझि नसक्नुछ यो समाजशास्त्र र अर्थशास्त्र भन्ने कुरा ।
 ……………………..
माओवादी नेताको नियत थाहा पाउन कार्यकर्ताले दूइ दशक कुर्नु पर्‍याे । तर, मधेशी नेताको नियत सत्तासाझेदारी भएको अर्कोदिन देखि नै छर्लङ्ग हुनेछ ।

राष्ट्रप्रमुख जनकपुर पुगेका बेला मधेशी जनताले खोजेको न्याय र समानताको सूची थमाउनु पर्थ्या। एक जना महिला मुलुकको राष्ट्रपति पदमा पुगेको अवसरको सदुपयोग मधेश आन्दोलनले गर्न सकेन । महिलालाई बदनाम गर्न खोजेर आन्दोलन आफै बदनाम हुन पुग्यो । जानकी मन्दिरमा भएको घटनालाई अहिले नयाँ मोड दिन खोजिएको छ ।

‘जुत्ता र कुत्ता’

राष्ट्रिपतिका सुरक्षागार्डले कुत्ता र जुत्ता मन्दिरभित्र लगेको हुनाले मन्दिर अपवित्र भएको भन्दै पखालेको प्रतिक्रिया आउन थालेका छन् ।

अचम्मको कुरा, रातोकार्पेट विछाएको मन्दिरको मुल ढोकामा हातमा कालो झण्डा बोकेका मधेशी मोर्चाका कार्यकर्ता जुत्ता लगाएरै उफ्रिएको भिडियोमा प्रष्ट देख्न पाइन्छ । मिथिलाको आस्थाको धरोहरमाथि मिथिला पुत्रहरूबाटै तोडफोड हुनु शोभनीय काम थिएन ।

त्यसलाई जुत्ता र कुत्ताको अर्थ लगाउनु त एउटा गल्ती छोप्न हजार गल्ती गरे जस्तै भयो । उनीहरूले बुझ्नु जरुरी छ सास्कृतिक र धार्मिक मान्यतनमाथि प्रहार गर्दा राजनीतिक उद्देश्य पुरा हुँदैन ।

अहिले सड्कमा प्रहरीलाई ढुंगा हान्ने, औषधीको गाडी जाउने, यातायात तोडफोड गर्न प्रयोग भएका युवा र तीनको परिवारले वर्षौसम्म लोकतन्त्रमा भोट हाल्ने अधिकार मात्रै पाउने छन् । जनसँख्याका आधारमा भएको निर्वाचन क्षेत्र निर्धारणको अधिकार समाजका केही बिशेष व्यक्तिले नै उपभोग गर्नेछन् ।

हिजो नयाँ जनवादी क्रान्तिको लागि परिवार गुमाएका, अंगभंग भएका र आफन्त बेपत्ता भएका युवाहरूबाट मधेशी युवाले पाठ सिक्नुपर्छ । आन्दोलन सकिएपछि नेताहरुको वर्ग कसरी बदलिनपुग्छ र मर्न मार्न उक्साइएका कार्यकर्ताको कस्तो बिजोग हुन्छ भन्ने हजारौं माओवादी कार्यकर्ताको अनुभवबाट सिके हुन्छ ।

मधेशी जनताले अधिकार पाउनुपर्छ । म त्यसको पक्षमा खुलेर वकालत गर्छु । यसमा मलाई कुनै द्धिविधा छैन । तर केही सामन्ती चिन्तन बोकेका नेताको स्वार्थमा मेरी आमा, दिदी, बहिनी र भाउजुमाथि गरिएको दुर्व्यवहार म सहन सक्दिन । गल्ती यहाँ नेर छ ।

मेरो साथीले प्रचण्ड र बाबुरामबाट अहिलेसम्म नपाएको प्रश्नको जवाफ भोली तराइका युवाले पनि पाउने छैनन् । केहि वर्ष नबित्दै कुनै दिन तराईका ती युवाले ‘मैले विद्या भण्डारीलाई अपमान गरेर आखिर के पाएँ’ भनेर एकछिन मनन गर्नेछन् । तर, जवाफ जीवन भर पाउने छैनन् । पछुतो मात्रै पाउने छन् । मात्र पछुतो ।

महिलाखबरबाट
प्रकाशित मितिः २०७२ पुस ८ गते बुधवार