बिरामी प्रशालाई विश्व सन्देशले प्रदान गर्यो सहयोग


न्युयोर्क, अमेरिका / जनवरी ४,

अमेरिकको न्युयोर्कबाट प्रकाशित हुदै आएको सामुदायिक पत्रिका विश्व सन्देश साप्ताहिक आठ बर्ष पुरा गरी नौ बर्षमा प्रवेश गरेको छ |

नवौं बर्ष प्रबेश गरेको अवसर पारेर सो पत्रिकाको प्रकाशक समुहले सामाजिक सेवामुलक बार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्यो | विश्व सन्देशले जम्मा २४१७० अमेरिकि डलर अमेरिका मै फोक्सो प्रत्यारोपणको प्रतिक्षामा बसेकी प्रशा तुलाधरको परिवारलाई हस्तान्तरण गर्न सफल भएको हो |

"नेपाली समुदायका बिभिन्न संघ संस्था र व्यक्तिहरुबाट संकलित  रकमको साथमा विश्व  सन्देशले अमेरिकि डलर ११११ थप गरी जम्मा २४१७० अमेरिकि डलर बिरामी प्रशाको परिवारलाई हस्तान्तरण गरेका हौँ |" पत्रिकाका प्रधान सम्पादक विजय पौडेलले द नेपाल टुडेलाई बताउनु भयो |

"हाम्रो आह्वानलाई थुप्रै चन्दादाता र शुभेच्छुकहरुले सुनिदिएर गर्नु भएको यो सहयोगबाट हाम्रो प्रकाशनले अझै थप विश्वसनियता आर्जेको महसुस गरेका छौ । पत्रकारिता लेख्नु र बोल्न्नु मात्र होइन प्रबासी समाजप्रतीको उत्तरदायित्व पनि हो | आगामी दिनमा विश्व सन्देश अन्य मानवीय सेवामा जुटिरहने वाचा पनि गर्दछौ।" सम्पादक पौडेलले प्रतिबद्दता ब्यक्त गर्नुभयो |

फोक्सो प्रत्यारोपणको प्रतिक्षामा बसेकी प्रशाको सहयोग गर्नेहरुको  अमेरिका भित्र ठुलो सुची छ । अमेरिकाबाट मात्र होइन इजरायलमा बसोबास गर्ने नेपालीहरुले समेत सहयोग गरेर २४१७० पुगेको पत्रिकाका तर्फबाट जानकारी गराईएको छ |

"हामीले एउटा पबित्र कार्यको शुरुवात गरेका थियौं | प्राप्त सहयोगबाट हामी खुशी भयौं | संसारमा अझै पनि मानवता मरेको छैन भन्ने उदाहरण पनि हो |" पत्रिकाका ब्यबस्थापक रोशन ढुंगानाले द नेपाल टुडेसंग भन्नुभयो, "हामीले समस्या देखाउने मात्र होइन परेका बेला काम नै गरेर देखाउनु पर्छ भन्ने मान्यताले यो अभियान चलायौं | केही गर्यौं जस्तो लागेको छ |"

बिगतमा पनि आफुहरुले अप्टेरोमा परेका नेपालीहरुलाई यसरी नै सहयोग गरेको पनि ढुंगानाले स्मरण गर्नुभयो |

न्युयोर्कको ओमशक्ति मन्दिरमा विश्वसन्देशका व्यवस्थापक रोशन ढुंगानाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि राजदूत डा. अर्जुनकुमार कार्की  र नेपाली महावाणिज्यदूत नारायणप्रसाद मैनालीले विश्वसन्देशको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए |

कार्यक्रममा युवा समाजसेवी रविन वज्राचार्य, पत्रकारहरु  भोला आचार्य, दिनेशजंग शाह र शैलेश श्रेष्ठ, सामाजिक अगुवा रेणु शर्मा सापकोटा, कानुन व्यवसायीहरु विनोद रोका र रमेश श्रेष्ठ, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेललगायतका वक्ताहरुले विश्व सन्देश साप्ताहिकको नवौं बर्ष प्रवेशको शुभकामना दिएका थिए |




list from brt