शरीरमा किन कम हुन्छ भिटामिन “डी” - अतुल मिश्र


काठमाडौं, माघ २, २०७२

सहरी जनमानस अचेल भिटामिन ‘डी’ को कमीको समस्यासँग बढी जुझ्ने गरेको छ । त्यसको प्रमुख कारण हो– भिटामिन ‘डी’ को सर्वसुलभ स्रोत सूर्यकिरणको सम्पर्कबाट टाढा रहने जीवनशैली ।

पहिले पहिले मानिसहरू प्रकृतिसँग बढी नजिक हुन्थे, घाममा बढी निस्किने गर्थे, धेरैजसो काम वा क्रियाकलाप खुला वातावरणमै हुने गथ्र्यो । हाल बढ्दो प्रदूषणबीच कार्यालयको कोठा, सूर्यको किरणको सम्पर्क नहुने अन्य ठाउँमा बढी समय व्यतीत गरिन्छ । त्यही भएर पनि ठूलो जनसंख्यामा भिटामिन ‘डी’ को कमी पाइन थालेको छ ।

नेपालमा वर्षका १२ महिनामध्ये नौ महिना प्राय: भागमा पर्याप्त सूर्यकिरण पाइन्छ । गर्मीमा सूर्यको किरणबाट जोगिने प्रयास गरिन्छ भने जाडोमा पूरै जीउलाई लुगाले ढपक्क ढाक्ने गरिन्छ, जसका कारण सूर्य किरण शरीरमा जान सक्दैन ।

हाम्रो मुलुकमै गरिएका विभिन्न अध्ययनका अनुसार, यहाँको करिब ८५ प्रतिशत जनसंख्यामा भिटामिन ‘डी’ को कमी पाइएको छ । छिमेकी मुलुक भारतमा समेत ८०–९० प्रतिशत जनसंख्यामा यो भिटामिनको न्यूनता रहेको उल्लेख विभिन्न अध्ययनमा पाइन्छ ।

भिटामिन ‘डी’ को स्तर ३० देखि ७४ नानोग्राम प्रतिमिलिलिटर भए यसलाई सामान्य मानिन्छ, २१ देखि २९ नानोग्राम हुनु अपर्याप्त हो । यस्तै, २० नानोग्राम प्रतिमिलिलिटरभन्दा तल हुनुले शरीरमा यसको कमी रहेको देखाउँछ । ५ नानोग्रामभन्दा कम हुनु भनेको समस्यामा पर्नु हो ।

मानव छालाले सूर्य प्रकाशमा भएको परावैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ । अनि शरीरले यो भिटामिनलाई संगृहीत राखेर पछि उपयोग गर्न थाल्छ । छालाले कति मात्रामा भिटामिन ‘डी’ निर्माण गर्छ भन्ने कुरो त्यो दिनको समय, मौसम, अक्षांश, छालाको रंग र अन्य कारकमा निर्भर हुन्छ ।

विज्ञहरूका अनुसार, भिटामिन ‘डी’ बोसोमा घुलनशील हुन्छ । यसले शरीरलाई क्याल्सियम सोस्न सघाउँछ । भिटामिन ‘डी’ माछा, च्याउ, दूध, मासु, अन्डा, फोर्टिफिकेसन भएका खाद्यपदार्थहरूमा पाइन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, कम मात्रामा सूर्य प्रकाश शरीरका लागि फाइदाजनक नै हुन्छ । गर्मी याममा आकस्मिक रूपले सातामा दुईदेखि तीन पटकसम्म ५ देखि १५ मिनेटसम्म हातपाखुरा, अनुहारमा घाम पार्न सके हाम्रो शरीरमा भिटामिन ‘डी’ को स्तर उच्च रहिरहन सक्छ ।

परावैजनी किरणको स्तर उच्च भएको भूमध्य रेखानजिकका ठाउँहरूमा चाहिँ घाममा एकछिन् बस्दा पनि यो भिटामिन पर्याप्त मात्रामा पाउन सकिन्छ ।

शरीरमा भिटामिन ‘डी’ को मात्रा बढाउने चाहना भए दिनहुँ मध्याह्न १२ बजेदेखि तीन बजेसम्मको घाममा कम्तीमा ३० मिनेट थोरै कपडा लगाएर बस्नुपर्छ । अनुहार र हातपाखुरामा सन ब्लक क्रिम लगाउनु हुन्न । क्रिम लगाएर घाममा बस्दा भिटामिन ‘डी’ को आवश्कयता पूर्ति नहुने त्रिवि शिक्षण अस्पतालको बायो–केमिस्ट्री विभागका प्रमुख प्रा. भरत झा औंल्याउँछन् ।

सन स्क्रिन वा सन ब्लक क्रिमले भिटामिन ‘डी’ बनाउने हाम्रो छालाको क्षमतामा कमी ल्याउँछन् । ‘कतिसम्म भने, एसपीएफ ८ सन प्रोटेक्सन फयाक्टर ८ ले पनि भिटामिन ‘डी’ बनाउने क्षमतालाई ९५ प्रतिशतसम्म रोक्ने गर्छ,’ झा भन्छन् ।

‘‘भिटामिन ‘डी’ वास्तवमा एउटा हार्मोन हो, जसले शरीरमा क्याल्सियम मेटाबोलिज्मलाई रेगुलेट गर्छ,’ इन्डोक्राइनोलजिस्ट डा. अंशुमाली जोशी भन्छन्, ‘यदि तपाईंको शरीरमा पर्याप्त मात्रामा यो भिटामिन छ भने, यसले तपाईं खाएको खानाबाट पेटमा पुगेको क्याल्सियमलाई सोसेर हाडमा पुर्‍याउँछ । शरीरमा भिटामिन ‘डी’ कम भए दूध वा क्याल्सियम भएका अन्य खानाबाट क्याल्सियम सोसिएर हाडसम्म पुग्न पाउँदैन । भिटामिन ‘डी’ नभए तपाईंले खानाको माध्यमले लिएको क्याल्सियम शरीरमा अवशोषित हुन सक्दैन ।’

हाम्रो मुलुकमा प्रशस्त घाम लाग्ने गरे पनि जाडोमा घाम ताप्दा शरीरमा भिटामिन ‘डी’ को उत्पादन खासै हुन पाउँदैन । गर्मी याममा हात र अनुहार खुला भएको अवस्थामा आधा घन्टा घाम तापे पनि यो भिटामिनको आवश्यकता परिपूर्ति हुन्छ, तर हामी दिउँसो आकाशमुनि बस्न रुचाउँदैनौं ।

भिटामिन ‘डी’ बोसोमा घुल्ने भएकाले मोटा मान्छेहरूमा यसको कमी बढी हुन्छ । मोटा मान्छेहरूको शरीरमा भएको भिटामिन ‘डी’ बोसोमा जान्छ, रगतमा आउन पाउँदैन । भिटामिन ‘डी’ घामबाट मात्र पाइने भए पनि नुनमा आयोडिन मिसाएझैँ गरिएको भए हाम्रो मुलुकमा कमी नहुने औंल्याउँदै डा. जोशी भन्छन्, ‘पश्चिमा मुलुकहरूमा खाद्यपदार्थमा यो भिटामिन मिसाउने गरिएझैँ हाम्रो सरकारले कुनै विशेष प्रक्रिया ल्याउन ध्यान दिनुपर्छ । सूर्य प्रकाशले तपाईंको शरीरको छालाभित्र भएको भिटामिन ‘डी’ लाई सक्रिय गर्न सक्छ, तर यसलाई तपाईं त्यसै लिन सक्नुहुन्न । ९० प्रतिशतभन्दा बढी सहरी जनसंख्या घामको अभावले गर्दा भिटामिन ‘डी’ को कमीको सामना गरिरहेको छ ।’

क्याल्सियम मानव जीवनका लागि अत्यावश्यक हुन्छ, जसले हाडलाई बलियो बनाउँछ र रगतलाई जम्न समेत सघाउँछ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक तथा नशा रोग विशेषज्ञ डा. जगदीशप्रसाद अग्रवालका अनुसार, शरीरमा भएको ९९ प्रतिशत क्याल्सियम हाड र दाँतमा हुन्छ । दिनहुँ हामीले छाला, नङ, रौँ, पसिना, पिसाब र शौचका माध्यमले क्याल्सियम गुमाउँछौं, तर हाम्रो शरीरले नयाँ क्याल्सियम उत्पादन गर्न सक्दैन । यसैले हामीले खाने पदार्थहरूका माध्यमले क्याल्सियम पाउन प्रयास गर्नु धेरै महत्त्वपूर्ण हुने जनाउँदै डा. अग्रवाल थप्छन्, ‘जतिखेर हामी पर्याप्त क्याल्सियम पाउँदैनौं त्यो अवस्थामा यो भिटामिन हाडबाट निस्किने गर्छ ।’

भिटामिन ‘डी’ कमीको असर
भिटामिन ‘डी’ को कमीले गर्दा हाड र मांसपेसीमा पीडा, थकाइ, कमजोरी आदि समस्या हुन्छ । यस्तो समस्या देखिए अन्य कारणबाहेक यो भिटामिन ‘डी’ को कमीले गर्दा पनि हुन सक्ने भएकोले एकपटक इन्डोक्राइनोलजिस्टसँग परीक्षण गराउनु उपयुक्त हुन्छ ।

डा. अग्रवालका अनुसार, भिटामिन ‘डी’ को कमीबारे अस्पतालमा पक्षाघात (स्ट्रोक) र सामान्य व्यक्तिबीच तुलनात्मक अध्ययन गरिँदा पक्षाघातको बिरामीमा उल्लेखनीय रूपमा भिटामिन ‘डी’ को कमी पाइएको थियो । मधुमेह भएकाहरूमा समेत भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को कमीका कारण बढी मात्रामा पक्षाघात, हृदयाघात, हाड खिइने समस्या (अस्टियोपोरोसिस) हुने गरेको पाइएको छ । प्रा. झा भन्छन्, ‘भिटामिन ‘डी’ को कमी र टाइप २ मधुमेहबीच सम्बन्ध रहेको पाइएको छ ।’ डा. जोशीका अनुसार, यो भिटामिनको कमीका कारण क्यान्सर, मधुमेह, क्षयरोग, नशा र मुटुको रोग हुने गर्छ ।

गहुँगोरा मानिसमा बढी कमी
नेपाली र भारतीयहरू बढी गहुँगोरो हुने भएकाले यो क्षेत्रमा भिटामिन ‘डी’ को कमी बढी पाइएको डा. जोशी बताउँछन् । मिलेनिनको कमीले छालाको घाम सोस्ने क्षमता कम हुन्छ । छाला गहुँगोरो बनाउने ‘मिलेनिन पिग्मेन्टेसन’ ले भिटामिन ‘डी’ को उत्पादनमा अवरोध गर्छ । गोरो छाला भएकामा भने सूर्य प्रकाशको सहयोगले भिटामिन ‘डी’ को उत्पादन बढी हुने गर्छ । यसैले नेपालीहरूले गोरा मानिसको तुलनामा २० देखि ४० गुणासम्म बढी घाम ताप्नुपर्छ ।
स्रोत:कान्तिपुर