सन्दिपको सपना र देशको ईज्जत




, जनवरी ३० | बंगलादेशमा जारी विश्वकपमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गर्ने १६ वर्षे नेपाली किशोर सन्दिप रातारात राष्ट्रिय हिरो भएका छन् । नेपालबाट प्रकाशित हुने सबै मिडियामा छाएका छन् सन्दिप |

सन्दिपले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय खेल खेल्ने सपना बोकेर १३ वर्षको उमेरमा भारतमा कार्यरत बाबु र उतै बस्ने आमाको काख छाडेर नेपाल फर्केका थिए ।


उनका बाबु भारतीय रेल्वेका कर्मचारी भएको हुदा सन्दिपले हरियाणामा नै क्रिकेटको खेल्न सिकेका थिए । जब क्रिकेटमा आफु केहि जान्ने भए त्यसपछि सन्दिपले नेपालको जर्सी लागेर अन्तराष्ट्रिय खेलमा खेल्ने धोको पाल्न थाले | बाबा आमाको काख छोडेर आफ्नो गाउँ नवलपरासीको रजहर फर्किए ।

रजहरमा दिदी भिनाजुसँग बसेर देवचुली उच्च माविमा अध्ययनसँगै क्रिकेट पनि खेलिरहेका सन्दिप काठमाडौँ आउनुमा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायकेको मुख्य हात छ |

दासानायके चितवन आउने थाहा पाएपछि उनी नेपालका पूर्व कप्तान राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पा चौरमा आइपुगेका थिए । खड्काकै प्रशिक्षणमा बलिङ गरिरहेका सन्दिपको हातमा जादु नै देखेर होला उनलाई पुवुदुले काठमाडौं बोलाए । एक वर्षअघि काठमाडौं आएका सन्दिपको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उनले १९ वर्षमुनिको विश्वकप क्रिकेटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको सुपर लिग प्रतियोगितामा १२ विकेट लिए । त्यो १२ विकेटले नै उनलाई राष्ट्रिय टिममा पर्न मद्दत गरेको थियो ।

बंगलादेशमा जारी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्धको खेलमा ह्याट्रिकसहित ५ विकेट लिएपछि उनले आफ्नो क्षमता सबैसामु स्पष्ट पारिदिएका छन् ।

सन्दिपको प्रदर्शनकै कारण नेपालले आयरल्याण्डलाई ८ विकेटले हराउन सकेको थियो । ३१.४ ओभरमा लोर्कन टुकर (१५ रन) लाई दिपेन्द्र सिंह ऐरीको हातबाट तथा ३१.५ ओभरमा डेनिसन (२१ रन)लाई विकेट किपर राजु रिजालको हातबाट क्याच आउट गराएका उनले ३१.६ ओभरमा फिचरा टुकरलाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरेका थिए  ।

सन्दिप जारी विश्वकपको एकै इनिङमा ५ विकेट लिने दोश्रो खेलाडी हुने । जिम्बाबेका वेश्ली माडभेराले फिजीविरुद्ध २४ रन दिँदै ५ विकेट लिएका थिए । यो विश्वकपमा अहिलेसम्म २ खेलमा ७ विकेट लिएका इंग्ल्याण्डका सकिब महमुद धेरै विकेट लिने खेलाडी हुन ।

जारी विश्वकपको पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध १ विकेट लिएका सन्दिपको भने ६ विकेट पुगेको छ । पाकिस्तानका सदिप खानले पनि २ खेलमा ६ विकेट नै लिएका छन् ।

पहिलो पटक अन्तर्राष्ट्रिय टोलीमा परेका सन्दिपले १९ वर्षुमनिको विश्वकपको अभ्यास खेलमा पाकिस्तानी टोलीविरुद्ध ३ तथा श्रीलंकाली टोलीविरुद्ध २ विकेट लिएका थिए ।

सन्दिपको शानदार प्रस्तुतिले राष्ट्रले बिजयोत्सब मनाईरहदा उनले पढेको स्कुल देवचुली कलेज रजहरले फेसबुकमा बधाई दिएको छ | सोहि स्कुलका पूर्व बिद्यार्थी र अहिले अमेरिकामा रहेर सामाजिक काममा सक्रिय युवा प्रभात सापकोटाले सन्दीपको प्रस्तुतिले आफुहरुको र देशको शिर उठाएको प्रतिक्रिया दिए |