अमेरिकामा ग्याँस स्टेसनको अनुभव - प्रकाश श्रेष्ठ



नेपालमा छदाँ ग्याँस स्टेशन भनेको लाग्थ्यो खाना पकाउन प्रयोग हुने सिलिन्डर भरेको ग्याँस बेच्ने ठाउँ  होला ।त्यो ठाउँमा काम गर्नेले ग्याँसले भरिएको सिलिन्डर बेच्ने गर्छन् होला ।

जब अमेरिकामा २००९ को फेव्रेरी महिनामा पहिलो पटक फ़्लोरिडा राज्यको ओर्ल्याण्डो भन्ने ठाउँमा म आईपुगे ।त्यतीबेला मेरा नाताले मामा पर्नेको घरमा आश्रय लिएर बसे र उहाँले नै अमेरिकाको बारे मोटामोटी वस्तुस्थिती बताउनु भयो र भन्नु भयो की यहाँ जो आएपनि शुरुमा काम गर्ने भनेको ग्याँस स्टेशन, ग्रोसोरी स्टोर, रेस्टुरेन्ट, फास्टफुड स्टोरहरु-जस्तो की Subway, McDonald's , Dunkin-donuts, seven-eleven store आदीमा काम गर्ने हो | 

पछि आफु स्टाविलिष्ट भएपछि बल्ल बिजनेस संचालन गर्ने र पढ्ने जागर तथा आँट छ भने पढाईलाई कामसँगै अगाडी बढाउने हो साथै उहाँबाटै अधिकांश नेपालीको संलग्नता भएको जागिर भनेको ग्याँस स्टेसनको काम हो भन्ने पनि जानकारी पाईयो ।

त्यतीबेला मात्रै थाहाँ भयो की ग्याँस स्टेसनमा मुख्यरुपमा पेट्रोलियम पदार्थ -पेट्रोलको विभिन्न ग्रेड जस्तै रेगुलर(87),प्लस/मिडग्रेड(89) र प्रीमियम/सुप्रीम(93), डिजेल र कतैकतै किरोसिन/मट्टीतेल पम्पबाट बेचिदो रहेछ र साथमा विभिन्न दैनिक उपभोग्य बस्तुहरु , चिसो पिय पदार्थ , सुर्तिजन्य पदार्थ , अख़बार/न्युजपेपर , चिया-कफी, फास्टफुडहरु, लोटरी, फोनकार्डहरु , कुनै -कुनै स्टेटमा बाहेक प्रायः अधिकांश स्टेटमा बियर तथा वाईनहरु समेतका वस्तुहरु ,फलफुल ,दुग्धजन्य पदार्थ -दुध,दही,आईसक्रीम आदी त्यस्तै विभिन्न सेवाहरु -Money order बनाउने तथा सटही गर्ने, चेक क्यासिग, रेमिटेन्स सम्बन्धी सेवा जस्तै Money gram service, western union money Transfer, IME , ATM service आदी  जस्ता सेवा तथा सुविधाहरु उपभोक्ताहरुलाई प्रायः २४ अघन्टा(रात-दिन) उपलब्ध गराईने रहेछ ।

         
फ्लोरिडाको करिब एक बर्षको बसाईमा केही महिना नेपाली कै Beverage store मा काम गर्ने मौका मिल्यो खासगरी ठुला-ठुला क्यानमा भरिएको बियरहरु (बिशेष गरि विभिन्न पार्टीहरु -वर्थ डे, क्रिस्मस,नयाँ बर्ष , अन्य चाँडबाँड आदी जस्ता विशेष समारोहमा र ठुला-ठुला होटल तथा रेस्टुरेन्टमा प्रयोग गरिने ) तथा वाईनहरु र चिप्स ,  सोडाहरु, क्यान्डी,सुर्तिजन्य पदार्थहरु -सिगरेट, सिगारहरु, हुक्का पाईपहरु आदी र फास्टफुडहरु बिक्री गर्ने स्टोरमा काम गरे ।

स्मरण रहोस् फ़्लोरिडा स्टेटमा लगायत अरु केही स्टेटमा प्राय सबै स्टोरहरुमा बियर र वाईन जस्ता सफ्ट किसिमका मदिराहरु बिशेष लाईसेन्सविना नै बेच्न मिल्छ तर मेरिल्याण्ड लगायतका केही स्टेटमा मदिरापानसँग सम्बन्धीत चिजहरू केवल Liquor store मा विशेष मापदण्ड पुरागरि प्राप्त गरिएको विशेष लाईसेन्सको प्रयोग गरि Hard drinks -Whisky,Rum,brandy जस्ता पियपदार्थको साथमा बिक्री गर्ने ईजाजत प्राप्त गरिएको हुन्छ ।
      
एक बर्षको फ्लोरिडा पछिको मेरो जीवन यात्राको रथले मेरिल्याण्डराज्यको बाल्टिमुरमा पाईला टेक्यो तत्पश्चात भने हाम्रै गाउँको भाईको शरणमा बसोबास र काममा लगाई दिने जिम्मा आयो र उनले आफुले गर्दै आएको एउटा Exxon नामको ग्याँस स्टेसनमा रात्रिकालीन काममा सातै दिन ,दिनको १० घण्टा काम गर्ने गरि लगाई दिए ।शुरुका दिनमा ग्याँस स्टेशनको कामको अनुभवको अभावले कार्यसम्पादन गर्न निकै समस्याहरु आए बिशेषगरि अमेरिकन अफ्रिकन  समुदायको उपभोक्ताहरुको बाहुल्यता रहेको ठाउँमा संचालित यो व्यवसाय भएकोले पनि थप समस्या झेल्नु पर्थ्यो । 

प्रायः रातमा गाँजा लगायत गैरकानुनीरुपमा बेचबिखन हुने लागुपदार्थको कारोवार गर्ने केन्द्र कै रुपमा ग्याँस स्टेसनहरुलाई मुख्यरुपमा यस किसिमका उपभोक्ताहरुले प्रयोग गर्ने गरेका हुन्छन् र तिनै ग्राहक/उपभोक्ता नै हामीले काम गर्ने स्टोरका ग्राहक/उपभोक्ता हुने र उनीहरु नशालु पदार्थको सेवन गरि स्टोरमा सामान किन्न र ग्याँस भर्न आउने हुँदा उनीहरुले बोल्ने अशिष्ट र अस्पष्ट भाषाको कारणले समेतले गर्दा कमिनिकेशनको सन्दर्भमा कतिपय अवस्थामा भनाभन् र झगडा समेत पर्थ्यो । 
   
करिब ३ महिनाको काम गराई पछि अर्को BP नाम गरेको ग्याँस स्टेसनको झण्डै २ बर्ष रात्रिकालीन काममा समेत त्यस्तै किसिम कै ग्राहकसँग काम गर्नु पर्थ्यो ।सामान्य व्यवहार देखाउने मिलनसार ग्राहकको उपस्थिती पाउनु भनेको संयोगले मिल्ने कुरा मात्र हुन्थ्यो प्रायः अधिकांशको मुख्य जमघटको ध्येय र किनमेल गर्नु भने कै लागुपदार्थ बेचबिखन र एक ठाउँबाट अर्को ठाउँमा सप्लाई गर्ने नै हो भन्न सकिने अवस्था थियो । कतिपय राज्यमा निश्चित परिमाणमा गाँजा लगायतका लागुपदार्थ बेचबिखन गर्ने ईजाजत छ भने मेरिल्याण्ड लगायत केही राज्यमा वैधानिक तवरबाट यसकिसिमको लागुपदार्थ बेचबिखन गर्ने अनुमति अजका दिन सम्म छैन । 

मेरिल्याण्ड राज्यको बाल्टीमुर क्षेत्रमा प्रायः क्यासियरले बुलेटपुरुफ बन्द क्याविनेट भित्र बसि काम गर्नु पर्ने हुँदा त्यतीसारो लुटपात/रबरी हुने कम संभावना भने हुन्छ तर कतिपय खुल्ला पसल ,ग्याँस स्टेसन ,Seven-Eleven store ,फास्टफुड स्टोरहरुमा भने लुटपाट,चोरी हुने र बर्षेनी लुटेराको निशानाबाट ज्यानलिने काम भएको पनि छ ।अर्को तिर रातमा काम गर्ने प्रायः वर्करले कुलर भर्ने ,सरसफाई गर्ने ,कफी-चिया बनाउने ,सामानहरु मिलाउने काम समेत एक्लै गर्नु पर्ने हुन्छ त्यस्तै दैनिक निकालिने सेल्स रिपोर्टहरुको अद्यावधिक श्रेस्ता राख्ने काम पनि गर्नु पर्दछ ।
   
यसरी रातमा काम गर्दै गर्दा करिब दुई बर्ष पछि दिनमा काम गर्ने ग्याँस स्टेसन जसमा पहिले काम गरेको स्टोरमा भन्दा धेरै थरी काम गर्नु पर्ने थियो त्यसमा काम गर्न थालियो ।मैले माथी उल्लेख गरे झै दैनिक उपभोग्य सामान देखि सिगरेट-सिगार जस्ता सुर्तिजन्य वस्तु ,सोडा-जुसहरु लगायत वस्तु बिक्री गर्ने ,लोटरी खेलाउने देखि पैसाहरु देशीय तथा अन्तरदेशियरुपमा हस्तान्तरण गर्ने money Gram service,  IME, Western Union Money transfer को काम, सामानको order गर्ने देखि डेलिभरी लिएर मिलाउने ,सरसफाई तथा कुलरमा सामान मिलाएर राख्ने ,ATM मा पैसा राख्ने समेत विविध काम गर्नु पर्ने जिम्मा क्यासियरहरुको थियो ।कार्य  जिम्मेवारीको मात्रा बढी भएपनि प्रति घण्टा मिल्ने सेलरी भने उस्तै थियो ।

ग्राहकको स्वभाव भने दिनमा अल्ली फरक अर्थात् रातका ग्राहक जस्तो झगडालु स्वभावका कमै थिए ।यसरी नै काम गर्ने क्रम बढ्दै गयो र काम गर्ने सन्दर्भमा धेरै अनुभव बटुल्ने र समयानुसार एवं ग्राहकको मनोविज्ञानको अध्ययन गरेर ब्यवहार गर्ने गर्नाले काम गर्न सहज भएको अनुभव पनि भयो ।
    
मोटामोटीरुपमा हेर्दा ,अमेरिकाको   प्रायः ठुला ग्याँस स्टेसनहरुमा २-४ जना कामदारले एकै साथ काम गर्ने र एकजना व्यवस्थापकिय काम गर्ने मेनेजरको व्यवस्था गरिएको हुन्छ तर साना आकारका ग्याँस स्टेसनमा भने एक -दुई जना क्यासियरले नै सबै काम गर्नु पर्ने हुन्छ र मेनेजरको रुपमा काम स्वयं स्टोरको मालिकले नै गर्ने गर्दछन् । Royal farm,wawa ,seven-Eleven store(कतिपय स्टोरमा ग्याँस बेचिदैन)जस्ता ठुला प्रकृतीका स्टोर एउटै सिफ्टमा समेत धेरै क्यासिशर,सुपरवाईजर ,मेनेजरले काम गर्दछन् भन्नुको मतलव चेनस्टोर स्वरुपका ग्याँसको बेचबिखन गर्ने स्टोरमा कर्मचारी र व्यवस्थापकिय ढाँचा अल्ली फरक हुन्छ तुलनात्मक रुपले साना निजी व्यवसायीबाट संचालित ग्याँस स्टोरमा भन्दा भन्न सकिन्छ ।
     
ग्याँस स्टेसनमा बिक्रीका लागी राखिएको ग्याँस (पेट्रोल-डिजेल ) सामान्यतया ग्राहक स्वयंले आफ्नो कार,गाडी/भेईकलहरुमा राख्ने गर्दछन् अर्थात् self-pumping system हुन्छ र कतिपय ग्याँस स्टेशनमा अशक्त र बृद्धाहरुलाई उक्त स्टोरको कर्मचारीले नै ग्याँस सवारी साधनमा भरिदिने व्यवस्था समेत हुने गर्दछ ।मोटामोटी बिस्लेषण गर्ने हो भने खुद्रा व्यापारको महत्वपूर्ण हिंसा ग्याँस स्टेसनहरुको हिंस्सामा पर्दछ ।सामान्यतया सर्वसाधारणको रोजाईमा यस्ता स्टोर पर्नुमा सबैखाले दैनिक उपभोगका सामान तथा सेवाहरु  सजिलै प्राप्त गर्न सकिने र पायक पर्ने ठाउँमा संचालित हुनुले पनि हो भन्न सकिन्छ ।

शुरुको अमेरिकाको बसाईमा हामी नेपालीहरुले अधिकांश नेपालीको जनघनत्व बढीरहेको स्टेटमा ग्याँस स्टेशनको काम पनि पहिलो रोजाई ,चाहना वा बाध्यताले पर्ने गर्दछ ।टेक्सास,मेरिल्याण्ड लगायत अधिकांश स्टेट र सिटीहरुमा नेपाली विद्यार्थी ,भर्खरै डि.भी.लोटरी परेर आएका व्यक्तीहरु,अवैधानिक बाटो लुकीछिपी आएका व्यक्तीहरु बढीमात्रमा यही काममा संलग्न रहेको पाईन्छ । 

हुन त होटल-रेस्टुरेन्ट,फास्टफुड स्टोर ,ग्रोसोरी स्टोर ,वर्कसप ,पिजा स्टोर ,ड्राईभिग सर्भिस ,प्राईभेट तथा सरकारी,कम्पनी,प्रतिष्ठित निकायहरु ,प्राध्यापनपेशा, डाक्टरी, नर्सिग पेशा, ईन्जिनियरीग, रियल स्टेट कम्पनी, विमाकम्पनी, हस्पिटल, स्कुल, यातायात कम्पनी,आर्मी आदीमा काम गर्ने र विभिन्न व्यवसाय संचालन गर्नेहरुको संख्या पनि उल्लेखनीय रुपमा छ भने सामाजिक संघ-संस्था र अमेरिकन राजनितीमा पाईला राख्नेहरुको पनि कमि छैन ।

दिनहुँजसो नेपालबाट उल्लेखनियरुपमा नेपाली युवायुवतीहरु आउने क्रम बढ़े सँगै यस्ता व्यापारिक संगठन र रोजगारीका क्षेत्रमा काम गर्नेहरुको संख्या बढ्नु स्वभाविक हो तापनि ग्याँस स्टेसनको काम बढ्दो आकर्षण भनेको सामान्य भाषागत ज्ञान ,सिप भएकोले पनि सजिलै काम गर्न सक्ने,नेपाली,ईन्डियन,पाकिस्तानी,ईरानी/अरबियनहरुले संचालन गरेका प्रसस्त स्टोरहरु हुनु ,काम गर्ने घण्टा बढी पाईनु ,क्यासमा पनि काम गर्न मिल्नु,पेपर नहुनेले पनि काम गर्न पाउनु(औपचारिक रुपमा कागजात नभएकालाई काम गर्न अनुमती नभएपनि त्यती सारै कडाई गरेको भेटिदैन ),नेपालीहरुसँग साथमा काम गर्न सजिलो हुनु त्यस्तै विद्यार्थीलाई तोकिएको आवर भन्दा बढी पनि क्यासमा काम गर्न पाउने अवसर मिल्नु आदीले गर्दा नै हो ।
    
यसरी  अधिकांश नेपालीहरुको संलग्नता रहेको काम गर्ने क्षेत्र ग्याँस स्टेसन भएकोले यस्तो ठाउँमा काम गर्दा अपनाउनु पर्ने सावधानी सुरक्षाको बारेमा पनि सचेत बन्नै पर्दछ ।खुल्ला काउन्टरमा काम गर्ने र बन्द काउन्टरमा काम गर्ने दुबै थरिका क्यासियर,कर्मचारी ,मालिक ,सबैले कस्तो -कस्तो जोखिम वा खतरा आएमा के गर्ने,खतरा हुनबाट के के कुरामा आफुलाई सजकता अपनाउने र अहिले सम्म घटेका घटनाका प्रकृती के ,कस्ता थिए र आउँदा दिनमा के ,कस्तो घटना आउन सक्छ ,कस्तो लोकेशन र समुदायको पेरिफेरीमा बिजनेस संचालित छ ,वरीपरी सरकारी सुरक्षा निकायको उपस्थिती कस्तो छ ,कस्ता किसिमका ग्राहकहरु छन् , जोखिमको हिसावले कस्तो सुचांकमा पर्ने शहर-काउन्टी हो आदी जस्ता विषयमा विशेष पुर्वजानकारीहरु पहिला काम गरिरहेको व्यक्ती ,साथीहरु बाट वा साहु/मालिकबाट विस्तृतरुपमा लिनु पर्ने हुन्छ ।

कतिपय अवस्थामा यथेष्ट सुचनाको अभाव र सुरक्षित रहने उपाय साथै घटनाघट्दै गर्दा प्रस्तुत गर्नु पर्ने ब्यवहारको बारे जानकारी नहुने कारण अनाहकमा ज्यान गुमाउनु परेको घटनाहरु देख्न र सुन्नमा आएको पनि छन् । त्यसैले ग्याँस स्टेशन लगायत तमाम स्टोर र रोजगारीको क्षेत्रमा काम गर्दा ,व्यवसाय संचालन गर्दा अपनाउनु पर्ने सतर्कता सम्बन्धी तालीम ,गोस्टी/सेमीनारहरु संचालन गर्नु पर्ने हुन्छ यस्तो काममा नेपाली समुदायको हितको लागी स्थापना र संचालन गरिएको विभिन्न नेपाली सामुदायिक संस्था वा निकायबाट आवस्यक जागरुकता देखाई कार्यक्रम समय-समयमा संचालन हुनसकेमा यस्ताखाले जोखिम न्युनीकरणगरि अनाहकमा ज्यान जाने घटनाबाट जोगिन मद्दत पुग्ने देखिन्छ ।

त्यस्तै विभिन्न क्षेत्रमा काममा प्रवेश गर्दा आवस्यक ज्ञान र सिप ,गर्नु पर्ने काम र कामको खोजी गर्ने तरिका आदी बारे पनि सामान्य अभिमुखीकरण कार्यक्रम समेत विभिन्न राज्यमा स्थापना गरिएका नेपाली समुदायका सामाजिक संस्था,नेपाली जनसम्पर्क समिती,नेपाली प्रवासी मंच ,गैरआवासिय नेपाली संघ आदीले संचालन गर्नु पर्ने देखिन्छ जसले गर्दा भर्खरै नेपालबाट अमेरिका आएका व्यक्तीहरुलाई ठुलो टेवा पुग्नेछ ।

 बाल्टिमोर- मेरिल्याण्ड , अमेरिका 

,