छात्रबृत्तिका लागि एक करोडको कोष


काठमाडौँ, डिसेम्बर ८ /

सुजन परिता एजुकेशन फाउण्डेसन अमेरिकाले नेपालका वालवालिकाका लागि छात्रबृति दिने उदेश्यले एक करोड रुपयाँको अक्षयकोष खडा गरेको छ ।

अमेरिकाको नर्थ क्यारोलिना राज्यको क्यारी सहरमा बसोवास गर्दै आएका चितवन निवासी सुजन न्यौपाने र उनकी पत्नी परिता न्यौपानेको नाममा फाउण्डेसनको स्थापना गरिएको अध्यक्ष सुजन न्यौपानेले बताए ।

फाउण्डेसन स्थापना लगत्तै चरिकोट स्थित कालिन्चोक उच्च माविमा अध्ययनरत चार जना उत्कृष्ट विद्यार्थीहरुलाई जनही २५ हजार रुपयाँ र एक एक ओटा ल्यापटप कम्प्युटर शुक्रवार आयोजित एक कार्यक्रममा प्रदान गरियो ।

छात्रबृत्ति पाउनेहरुमा हरिकृष्ण गिरी, सञ्जु बिके, सरस्वती बुढाथोकी र राजेश खत्री रहेका छन् ।

छात्रबृत्ति वितरण समारोहमा बोल्दै कालिन्चोक उच्च माविका पूर्व विद्यार्थी समेत रहेका अध्यक्ष न्यौपानेले फाउण्डेसनले विद्यार्थीहरुको शैक्षिक अवसर बृद्धि गर्न एवं इन्फरमेशन टेक्नोलोजीको पहुँच बढाउन सहयोग पु¥याउने उदेश्यले छात्रबृत्ति प्रदान गरेको बताए ।

कालिन्चोक विद्यार्थी समाजद्धारा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, विद्यालयका प्राचार्य नवराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर गौतम,कालिन्चोक विद्यार्थी समाजका संस्थापक अध्यक्ष भोजराज न्यौपाने, पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धर र समाजका अध्यक्ष दिपक बस्नेत लगायतले छात्रबृत्तिले वालवालिकाको मनोबल बढेको धारणा राखेका थिए ।

सोही कार्यक्रममा कालिन्चोक विद्यार्थी समाजले पनि कालिन्चोक उच्च माविमा अध्ययन गरेका विद्यार्थीकालागि कल्याण कोषको स्थापना गर्ने जनाएको छ ।
समाजले एक करोड रुपयाँको अक्षय कोष खडा गर्ने महत्वकाक्षी योजना अघि सारेको छ । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरुले दुई लाख सैंतिस हजार रुपयाँ संकलन गरेका छन् ।

उनीहरुले आफूले पढेको विद्यालयका लागि अक्षय कोष खडा गर्न पूर्व विद्यार्थीहरुलाई आव्हान गरेको छ ।

स्रोत: रेडियो हिमालय