सी के राउतको आफ्नै सेना !


सुनसरी–राष्ट्रिय अखण्डता विरुद्ध सार्वजनिक स्थानहरुमा गैर अभिव्यक्ति दिँदै चर्चामा आएका मधेसका अभियन्ता डा. सिके राउत पछिल्लो समय सुनसरी क्षेत्रमा सशस्त्र गतिविधीमा संलग्न रहेको पाइएको छ ।

तराइ मधेसमा विभिन्न समयमा भूमिगत रहेर आन्दोलन तथा सशस्त्र गतिविधी मच्चाउँदै आइरहेका समुहसँग मिलेर मधेसका अभियन्ता डा. सिके राउतले सुनसरीको दक्षिणवर्ती गाविसहरुमा अभियान चलाइरहेको पाइएको हो ।


पृथकवादी आन्दोलनको नेतृत्व समेत गर्दै आइरहेका डा. राउतले पछिल्लो समय मधेसमा जनमिलिसिया सेना गठनको तयारीमा जुटेको र त्यसका लागि सुनसरीको दक्षिणीवर्ती गाविसहरुबाट अभियान नै सञ्चालन गर्ने गरेको सुनसरीका मधेसवादी दलहरुले बताएका छन् ।

मासिक १० हजार पारिश्रमिक दिने प्रलोभनमा डा. राउतले दक्षिणी क्षेत्रका युवाहरुलाई आफ्नो सेनामा समावेश गराउन निर्वाध गतिविधी थालेको र तराईका सशस्त्र समुहहरुसँग सामूहिक एकता गरिसकेका मधेसवादी दलहरुले बताएका छन् । डा. राउतले तराईमा राजेन्द्र प्रतापले गठन गरेको मधेसी मुक्ति टाइर्गस, जय किसन गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा र नागराजले नेतृत्व गरेको तराई कोब्रा पार्टीसँग २ महिना अघि नै सामूहिक एकता गरिसकेका छन् ।

सुनसरीको इनरुवामा एक कार्यक्रमको आयोजना गरी सो समुहबीच डा. राउतले सामूहिक एकता गरेका थिए । मधेसमा जारी आन्दोलनको क्रममा युवाहरु भड्किदै गएको मौकाको फाइदा उठाउँदै डा. राउतले सुनसरीको दक्षिणी गाविसहरुबाट हालसम्म १ सय बढी सेना गठनका लागि युवाहरु चुनिसकेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार डा. राउतले सेना गठनसँगै मधेसमा छिट्टै अर्को विद्रोहको संकेत देखाउन थालेको पाइन्छ ।

सिके राउतलाई सघाउने को–को ?

मधेसमा छुट्टै सेना गठन गर्न सुनसरीबाट पनि केही राजनीतिक दलका युवाहरु लागिपरेको पाइएको छ । राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीका जिल्ला स्तरीय नेताहरु डा. राउतलाई सघाउन र उनका लागि युवाहरुलाई सेना बन्नुपर्छ भन्दै उक्साउने कार्यमा लागेको देखिन्छ ।

यतिमात्र नभई सुनसरीको दक्षिणी भेगका युवाहरुको मुखमा यतिबेला सेनाकै मात्र चर्चा हुने गरेको प्रत्यक्ष पाइएको छ । आन्दोलनको क्रममा आक्रोसित बनेका युवाहरुलाई आफ्नो पक्षमा पारी डा. राउतले सेना गठनका लागि उक्साउने गरेका छन् । उनले मधेसमा सेना गठन गरिहाल्ने अवस्था नभएको तर गठनको तयारीमा रहेको सुनसरीमा रहेका मधेसवादीदलहरुले बताउँदै आएका छन् ।

पत्तो पाउँदैन प्रहरी

राज्यले देश द्रोहिको आरोप लगाई पक्राउ पर्दै बारम्बार छुटिरहने डा. सिके राउतले सुनसरीमै आएर विभिन्न सशस्त्र गतिविधीहरु गरिरहँदा समेत सुनसरी प्रसाशनले अहिलेसम्म केही अत्तोपत्तो पाएको छैन् । कार्यक्रम हुँदैछ भन्ने हल्ला सुनिन्छ । तर, त्यस ठाउँमा प्रहरी पुग्दा कार्यक्रम सकिसकेको हुन्छ अर्थात कार्यक्रम सकिएपछि मात्रै डा. राउतको बिषयमा जानकारी आउने र अहिलेसम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रसाशन कार्यालय सुनसरी बताउँछ ।
सुनसरीको अमडुवामा कार्यक्रम हँदै गर्दा प्रहरी परिचालन गरी पक्राउ गर्न खोज्दा उनी कार्यक्रम सकेर फरार भैसकेका कारण पक्राउ गर्न नसकिएको र पछिल्लो समयमा केही जानकारी आउन नसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए ।
स्रोत: रातोपाटी