ब्यापारबाट मिलियन कमाएँ, समाज सेवा गर्दैछु - तारा गुरुङ

-पुरुषोत्तम ढकाल/लस एन्जलस
शिक्षक बाबुको छोरी तारा गुरुङको वाल्यकाल शिक्षाको अवसरबाट बन्चित रह्यो भन्दा नपत्याउने धेरै भेटिन्छन्, उनले बाँचिरहेको आजको सफल अमेरिकी जिन्दगी देखेर । कुनै बेलाको तिनै निरक्षर तारा गुरुङ यतिबेला संयुक्त राज्य अमेरिकाको मायावी शहर हलिवुड आसपासको क्षेत्रमा तारा हिमालयन कुजिन नामको हिमाली स्वादको फ्रेञ्चाइज संग्रह संचालन गर्छिन् । 

उनकै शब्दमा सयौं नेपाली अमेरिकनलाई रोजगार दिएकी छिन् र सगर्व घोषणा गर्छिन्, ‘झण्डै १० मिलियन अमेरिकी डलर नगद र त्यतिनै जिन्सी धन मैले आर्जन गरेको छु ।’ भन्छिन, ‘कहिले काहीं आफुले बस्ने घर, चढ्ने गाडी र आफ्नो सफल ब्यबसाय सम्झेर आफैंलाई प्रश्न गर्छु, के यो मेरै हो, के यो साँचो हो र क्षणभर सपना जस्तो रनभुल्ल हुन्छु ।’ ताराकै शब्दमा, ‘अमेरिका यस्तो देश हो जहाँ मेहनत गर्नेहरुको सपना पूरा हुन्छ ।

’ तारा भन्छिन्, ‘जिन्दगीमा केहि गर्नुपर्छ भन्ने सपनाले घचघच्यायो । पति र नाबालिका छोरी छोडेर सन् १९९४ मा अमेरिका हानिए । झन्डै एक दशक भारतीय मूलका अमेरिकनले संचालन गरेको रेस्टुरेन्टमा भाँडा माझे र त्यहि कुकिङ्ग र ब्यबस्थापन सिके । सन् २००१ मा सुरु गरेको उनको रेस्टुरेन्ट ब्याबसाय तारा हिमालयन कुजिनको नाउँमा आजका दिन ४ ओटा शाखा सफलता साथ संचालनमा रहेका छन् । 

तपाइलाई आश्चर्य लाग्ला उनले प्राप्त गरेको सफलता संगै उनले मातृभूमिको लागि पु¥याएको योगदान  डाएस्पोरामा दानबिर कहलिएका भन्दा ठूलो र उल्लेख्य छ तर उनी आफुले गरेको दान र सेवाको चर्चा र मूल्य खोज्ने कुराको सख्त बिरोध गर्छिन् । उनले आफ्नै जन्मथलो कास्कीको अर्मलामा आफ्नै नाउँमा एउटा प्राथामिक विद्यालय निर्माण गरेकी छिन् भने उक्त स्कुलको ब्यबस्थापन र निःशुल्क शिक्षाको लागि शिक्षकको तलव र पाठ्यक्रमको सामाग्री उपलब्ध गराउँदै आएकी छिन् । 

गत अप्रिल महिनामा आएको सक्तिशाली भुकम्पले तहस नहस मातृभूमिको अति प्रभावित क्षेत्रमा केहि सहयोगी सहित पुगेकी ताराले झन्डै २० लाख रुपियाको नगद र त्यतिनै राशिको खाद्यान्न तथा त्रिपाल लत्ता कपडा ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक लगायतको जिल्लाको बिकट गाउँमा पुगेर आफ्नै हातले बाड्ने काम गरिन । 

नेपाली भाषा, संस्कृति र लोक नृत्य भने पछि हुरुक्क हुने तारा गुरुंगले लस एन्जलसमा निर्माणाधिन श्री पशुपतिनाथ मन्दिर निर्माणमा समेत मोटो रकम दान गरेकी छिन् । तारा भन्छिन्, ‘बिपतमा परेको हरेकलाई सक्ने सहयोग गर्दै आएको छु र दिन पाउँदा रमाउँछु । दिएको हिसाब राख्दिन तर दिएको हिसाब गर्ने हो भने त्यो रकम लाखौ डलर हुन्छ । 
शिक्षक बाबु मकरध्वज गुरुङ र आमा राजकुमारी गुरुङको कान्छी छोरी तारा गुरुङ निकट भविष्यमै मातृभूमिको बिकट कर्णालीमा शिक्षामा लगानी गर्ने सोच बनाएकी छिन् । उनी यो योजना बोकेर स्वदेश फर्किने तयारीमा छिन् । आश्चर्य नमाने हुन्छ नेपालमा हुँदा साक्षर मात्रै रहेकी शिक्षक बाबुकी कान्छी छोरी तारा अहिले पोख्त अंग्रेजी लेख्ने बोल्ने मात्र होइन रेस्टुरेन्ट ब्यबस्थापनको कुशल प्रशिक्षक समेत हुन् । 

ताराकै शब्दमा अमेरिकाले उनलाई सबैथोक दियो । बिछोडिएको जिन्दगीमा माया पनि दियो दुर्भाग्य उनलाई औधी माया गर्ने उनको मायालुलाई निष्ठुरी कालले अल्पायुमा खोसेर लग्यो । आफ्नो एक मात्र सन्तान प्यारी छोरीको साथमा जिवन यापन गर्दै आएकी उनि फुर्सदमा छोरी पट्टिको नातिको स्याहार गर्छिन । 

अमेरिकामा सफलताको लोभ लाग्दो कथा लेख्न सफल नेपाली छोरी तारा गुरुङ यतिबेला चर्चा र नामको भोकबाट मुक्त हुँदै सेवा परमो धर्मको यात्रामा आफुलाई समर्पित गरिरहेकी छिन । पर्यटकहरुको पथ प्रदर्शनको रमणीय गन्तव्य कास्कीको अन्नपुर्ण क्षेत्रमा घाँस दाउरा र गोठाले जिन्दगी बिताएकी तारा गुरुङलाई वाल्यकालमा अध्यन भन्दा सोरठी, सालेजु र रोधिमा नाच्नु र बन पाखामा रम्नुनै जिन्दगी जस्तो लाग्थ्यो । 

उनको सौभाग्य सोरठी, सालेजु र रोधिमा नाच्ने उनको रहरले उनलाई राजधानी काठमाडौँ मात्र पुर्याएन सफल लोक नृत्यङ्गनाको रुपमा देश बिदेशका स्टेजमा कम्मर मर्काउने अवसर समेत जुरायो  । उनले नाचेको हेर्नकै लागि देश देशान्तरबाट मान्छेहरु आउने भए पछि उनलाई अनुबन्धित गर्न नाम चलेका रेस्टुरेन्टले मनग्य धनको अफर दिए । 

यस बिचमा उनले नेपाल प्रहरीको संस्कृतिक समुहमा रहेर कुशल नृत्यांगनाको रुपमा आफुलाई स्थापित गरिसकेकी थिइन् । हो दुई दशक संयुक्त राज्य अमेरिकामा मैले आफ्नो लोक संस्कृति प्रतिको आस्था, नृत्य मोह र नृत्यांगनाको मेरो नाम अमेरिकी सपना पुरा गर्न लागि गुम्स्याएर राख्ने तर एकदिन मेरो मनले भन्यो जति सुकै बैभवता हाँसिल गरेपनि मेरो परिचय रोधिमा नाच्नु हो, सोरठिमा कम्मर मर्काउनु हो जसले मलाइ स्वर्गीय आनन्द दिन्छ । 

हो उनले तारा हिमालयन कुजिन नामको नयाँ रेस्टुरेन्ट हलिवुड आसपासको क्षेत्रको आर्टे्सिया शहरमा खोलेकी छिन जहाँ लोक गायिका शिला आले देखि चर्चित गायकहरु  सपना श्री र नरेन्द्र प्याशिलाई अनुबन्ध गरेकी छिन् । 


हिजो आज अमेरिकाको मायावी शहर हलिवुड आसपासको क्षेत्रमा खुलेको तारा गुरुङको तारा हिमालयन कुजिनमा हिमाली स्वादको पारखीहरुले खानाको स्वाद संगै नेपाली लोक र आधुनिक गितको आनन्द लिन थालेको महिनौ बितेको छ । तर उनको रोधी, सोरठी र सालेजुमा कम्मर मर्काउने धोको पुरा हुन भने केहि महिना कुर्नै पर्ने हुन्छ । उनले आफ्नो नाच्ने धोको संगै देशको राजनीति प्रति असन्तुष्टि व्यक्त गर्दै भनिन, ’सुन्दर हिमालको काखमा रहेको स्वर्ण भुमि नेपाल राजनीति गर्नेहरुको स्वार्थले हिमाल, पहाड र तराइमा विभाजित भएको खबरले मन दुख्छ । प्रवाशमा समेत जाति भाषा र बर्णको नाउँमा नेपाली नेपाली बिचको फुट देख्दा दिक्क लाग्छ । उनले आफु बसेको शहर लस एन्जलसको नर्वाक सिटीमा उनी जस्तै दानबिर नेपालीहरुको सहयोगमा निर्माणाधीन श्री पशुपतिनाथ मन्दिरको भगवानलाई दुई हात जोडेर बिन्ति गर्दै भनिन्, ‘नेपाल र नेपाली जातिको त्यो हाँसो, त्यो खुसि र त्यो एकता फर्काइदेउन भगवान ।’