हत्या आरोपमा पक्राउ परेका चारजना प्रहरीद्वारा सार्वजनिक

महोत्तरी - जलेश्वर नगरपालिका–१२ मलिवाडा का ११ वर्षीय बालक निश्चल पाण्डेको अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले जलेश्वर नगरपालिका–१ का  २७ वर्षीय पप्पुकुमार यादव, जलेश्वर–६ का २१ वर्षीय गोविन्दकुमार मिश्र, जलेश्वर–१२ मलिवाराका २७ वर्षीय सरोज पाण्डे र सञ्जिब मिश्रलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।


 प्रहरीका अनुसार पक्राउ परेका चार जनाले घटनामा संलग्न भएको स्वीकारेका छन्। पैसाका लागि बालक अपहरण गरेको उनीहरुले प्रहरीमा बयान दिएका छन्। उनीहरुमाथि  कर्तव्य ज्यानअन्र्तगत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।

मलिवाडास्थित वस स्टेशनमा खेल्न गएका बेला गत पुस ३० गते राति जलेश्वर नगरपालिका–१२ मलिवाडा का ११ वर्षीय निश्चल पाण्डेको अपहरण गरी हत्या गरिएको थियो। अपहरणकारीले बालक पाण्डेलाई अपहरणपछि हत्या गरी जलेश्वर १३ स्थित रातो खोलाको पश्चिम किनारमा खरबारीमा खोल्डो गाडेका थिए।