उदितको स्वरमा ‘कैफियत’को कर्णप्रिय गीत

माघ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कैफियत’ अहिले चर्चामा छ । चलचित्रमा समावेश गीतले पनि यसलाई चर्चामा ल्यादिएको छ । विशेषगरि, चर्चित गायक उदितनारायण झाको स्वरमा समावेश ‘मन्द मन्द’ बोलको गीतले विस्तारै चर्चा पाइरहेको छ । अर्जुन पोख्रेलको संगीतमा समावेश यो चलचित्रका गीत कर्णप्रिय छन् । 

चलचित्रमा ३ वटा गीत समावेश छन् । जसमा ‘विस्तारै विस्तारै’ र ‘तिमी छैनौ जहाँ’ पनि छन् । राजेश पायल राई, मिलन अमात्य, अन्जु पन्त, राज सिग्देल लगायतका गायक-गायिकाको स्वर रहेको चलचित्रका गीतले चर्चा पाउनेमा संगीतकार अर्जुन पोख्रेल विश्वस्त छन् । 

दशरथ गिरीको निर्देशनमा तयार भएको यो चलचित्रमा नन्दिता केसी, नविन श्रेष्ठ, सीपी पौडेल, शंकर शाही ठकुरी, किशोर सुनुवार, साजना थापाको मुख्य भूमिका छ । निर्देशक गिरी चलचित्र हेरेपछि सेन्सर बोर्डका सदस्यहरुले दिएको प्रतिक्रियाबाट आफू अत्यन्त उत्साहित भएको बताउँछन् । चलचित्रमा चिन्तामणी बराल र धना देवकोटाको लगानी छ । निर्माता बराल आफू निरन्तर यो क्षेत्रमा लाग्ने बताउँछन् । उनले चलचित्र क्षेत्रमा केही गरौ भनेरै नै आफूले ‘कैफियत’बाट निर्माणमा हात हालेको बताए ।