देश भुगोल मात्र होईन -प्रकाश श्रेष्ठ ,



वर्तमान युग विश्वव्यापिकरण(Globalization)को युग हो । मानिसहरुले जिवन निर्वाह गर्ने क्रममा आफु जन्मेको देशको भुगोलको सिमालाई नाघेर संसारका विभिन्न मुलुकमा रोजगारीमा संलग्न हुने,आर्थिक पेशा वा व्यवसाय संचालन गर्ने, आयात -निर्यात व्यापारहरु संचालन गर्ने गरेको पाईन्छ ।

यो युग विज्ञान र प्रविधीमा हुर्केको युग हो त्यसैले मानिसका चाहना र आवस्यकताहरु पहिलेको युग भन्दा निकै बढी छन् । त्यसैले संसारको एउटा कुनामा उत्पादन भएको चिज ,संसारको अर्को कुनामा बस्ने उपभोक्ताले सजिलै प्राप्त गर्न सक्ने अवस्थाले सुसज्जित प्रविधीको युग पनि हो, आजको  युग । संचार र प्रविधीले संसारलाई साँघुरो बनाईरहँदा परम्परागत सोच र तरिकाबाट न देश चल्न सक्छ न जनताहरु चलिरहन सक्छन् । आखिर देश भन्नु मात्र जमिन,ढुंगा ,पानी,बनजंगल,जीव-जन्तु,वनस्पति ,खानी,वायुमण्डल आदीले मिलेर बनेको भौतिक स्वरुपको भुगोल मात्र होईन यो त त्यो भन्दा बढी कुनै सिमामा बाँधिएर बसेको भुगोल भित्र र त्यो भन्दा बाहिर छरिएर रहेका मनहरुको समस्टीगतरुप हो भन्न सकिन्छ ।

           धेरै पुस्ताहरु पहिले नेपाल बाहिर बसिरहेका बैधानिकरुपमा अर्कै भुगोल र सिमा भित्र रहेको देशमा बसिरहेका नेपाली भाषीहरु जो मन र मुटुमा नेपालप्रेम साँचेर आफ्ना पुर्खाको संस्कार ,परम्परा र भाषालाई जिवन्त राखिराखेका छन् तीनीहरुलाई पनि देश भित्रै अटाउने नेपालीमा गणना गर्दा हामीले के नै गुमाउछौ तर हामी आफ्नै भुगोलले बाँधिएको देशमा बस्ने नेपालीहरु नै , नेपाल देशका नागरिक हौ कि हैनौ भन्नेमा संका भईरहेको समयमा बिदेशमा पुस्तौ देखि बस्नेहरुलाई नेपाली भन्न तयार हुने की नहुने यो आफैमा अनुत्तरित प्रश्न अवस्य हो ।

   वास्तवमा देश त्यतीबेला देश हुन सक्छ जतिवेला त्यो देशको हरेक स्थानमा बस्ने नागरिक राज्यको नजरबाट समान व्यवहारबाट हेरिन्छन् ,सबैले समान अबसरहरु पाउँछन् ,पुर्वको ईलाम दुख्दा सुदर पश्चिमको कर्णाली दुख्छ ,तराईको रंगली जल्दा ,पहाडको काठमाण्डौले पिडाको अनुभुती गर्छ , मलेशियाको सडकमा बिभत्स हत्यामा मारिने निर्दोष व्यक्तीलाई देख्दा काठमाण्डौ बस्ने शहरीयाको मन दुख्छ |

बारपाक र सिन्धुपालचोकका पालहरुमा तपतप शितले मुटु काँप्दै जिउन को लागी संघर्षरहत नेपालीहरु पिडा देख्दा सिंह दरबारमा बस्नेहरुको मनमा चोट लाग्छ तब मात्र त्यहाँ एउटा देश हुन्छ र देश सधै देशको गतिमा बढिरहन्छ ।तर बिडम्वनानै भन्नु पर्छ हामीहरु सबैको मनहरुमा  पर्याप्त देश दुखिरहेको छैन ।यदी दुख्थ्यो भने सिन्धुपालचोकमा बस्ने "उजेलीहरु "किन पिडाको पहाड सुनाएर मनको सन्तोष बिसाईरहेकाछन्  ।

९-९ महिना सम्म भुकम्पले विक्षिप्त बनाएको मनहरुलाई जोड्न किन सरकारमा बस्नेहरुले ठोस कदम चाल्न सकिरहेका छैनन् ।आफन्त गुमाएर आँसु पिएर बाँचेकाहरुलाई किन न्यूनतम राहत सम्म पुर्याउन सक्दैन राज्य विदेशीहरुको सहयोगलाई पिडीत सम्म पुर्याउन फास्ट ट्र्याक प्रणाली अबलम्बन गर्न कसले रोकेको छ राज्यलाई ?राजनितिक नियुक्तीको दलदलमा किन फसीरहको छ ,राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ? किन नेताहरु केवल आश्वासनका बण्डलहरु मात्रै बाँडिरहेका छन् भाषणहरुमा ? यी र यस्तै तमाम प्रश्नहरु जो कोही को मनमा उठ्नु स्वभाविक मान्न सकिन्छ ।ती पिडीत स्थानमा राज्यले केवल सहजिकरणको भुमिका र निर्माण सामग्रीहरुको व्यवस्था मात्र गरिदिए पनि ती तमाम जनतामा अझै आफु बस्ने बासस्थान निर्माणको लागी श्रम गर्ने हिम्मत बाँकी रहिरहेको हामी देख्न सक्छौ ।

       आज राज्यका संचालकहरु केवल एकआपसमै हिलो छ्याप्न तल्लिन छन् ,नेताहरु खाँदा र गर्दनले धान्नै नसकिने मालाहरु भिर्नमै आतुर छन् र केही नेताका चाकरी गर्नेहरु त्यही काम गर्न पाएकोमा दंग छन् ,ती खाँदा र मालाको ठाउँमा सानो एउटा फुलको गुच्छाले मात्रै पनि स्वागत-सत्कार गरेर तडक-भडकमा खर्चिने रकम भुकम्पले मर्माहत भएकालाई सहयोग गरे पनि ती टुटेका मनहरुले कति आशिर्वाद दिने थिए होला त्यस तर्फ उनीहरुको ध्यान पुगेको देखिदैन ।

त्यस्तै विदेशमा बसेका नेपालीहरु -अस्थायीरुपमा काम गरि बस्नेहरु अर्थात् खाडी लगायत जापान,कोरिया ,थाईल्यण्ड जस्ता देशहरु बस्नेहरु र स्थायीरुपमै बस्ने अर्थात् बेलायत,स्पेन,डेनमार्क ,नेदरल्याण्ड ,पोर्चुगल लगायत युरोपका मुलुकहरु त्यस्तै ,अष्ट्रेलिया,क्यानडा ,अमेरिका लगायत देशमा बस्नेहरुले समेत नेपालबाट नेताहरुको स्वागत-सत्कारमै काम-धन्दा छोडेरै तामझामका साथ खर्च गर्नुको सट्टा नेपालमा पिडीत दुरदराजका जनताहरुको शिक्षा-दिक्षा,स्वास्थ्य क्षेत्रमा थोरै भएपनि सहयोग पुर्याएमा बास्तवमा त्यहाँ पनि मनहरु भित्र देश बाँचिरहने थियो ।

यती भनिरहँदा देशको भुगोल देखि टाढा हुनेहरुमा पनि मन भित्र देश बाँचिरहेको छैन भन्न मिल्दैन किनकी देशकै मायाले सबैलाई सताईरहेको हुन्छ ,मात्र छाती चिरेर देखाउन नमिल्ने मात्र हो । शिरानीमा देशकै माया साँचेर सबै आप्रवासी नेपालीहरु बाँचिरहेका हुन्छन् भन्ने कुराको उदाहरण दिनको लागी भुकम्प पश्चात विदेशमा बस्ने नेपालीहरुले देखाएको देशप्रेम नै काफी छ ।

  विदेशी भुमीमा समेत नेपालीपन र नेपाली भाषालाई आफ्ना सन्ततीबाट लोप हुन नदिन नेपाली भाषाका स्कुलहरु, पाठशालाहरु खोलेर नेपाली भाषा सिकाउनु,नेपाली संस्कारहरुलाई आत्मसाथ गरिरहनु , चाड-बाडहरु धार्मिक आस्थाका धरोहरहरु जस्तै मन्दिर, गुम्बाहरु निर्माण गरिनु, नेपाली खाना, नेपाली गित-संगित, परम्परा आदीलाई जीवन्तता दिईरहनु यी सबै कुराहरु मनभित्र देशलाई बचाई राख्नु हो ।

         कहिलेकाही भने विदेशमा बस्नेहरुलाई नेपाल भित्रै संघर्ष गर्न डराएर भागेका भगौराहरु भनिरहेको देख्दा,सुन्दा भने निकै दिल दुखेर आउँछ । हो यसमा आंशिक सत्यता होला तापनि नेपाल भित्रै सबै बसेको भए शायद अहिले सम्म नेपालीहरु भोकमरी , रोग, शोक र अभावबाट ग्रस्त भएर जीवन गुजार्नेहरुको संख्या अत्याधिक हुन्थ्यो होला लाखौ-लाख मानिसहरु विदेशमा बसेर नेपालमा आफ्ना परिवारहरुलाई आर्थिक सहयोग गरिरहदा त यस्तो किसिमको  आर्थिक पछौटेले नेपाललाई गाँजेको छ भने सबका सब नेपाली जनताहरु नेपालमै रहेको भए के हुन्थ्यो त्यो कल्पना बाहिरको कुरा हो ।

तसर्थ जहाँ जुनसुकै अवस्थामा रहे पनि नेपाली मन लिएर बाँच्न पाउने अधिकारलाई कसैले पनि ठेस नपुर्याउन र सबैको माया र सद्भाव सधै जिवन्त हुन सकोस् यही नै हामी सबैले कामना गरौ ।

बाल्टिमोर ,मेरिल्याण्ड , अमेरिका |

,