केही दिनमै नाकाबन्दी खुल्छ, अान्दोलन रोकिन्छः सञ्चारमन्त्री

काठमाडाैं–सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकार केही दिनमै नेपालम जारी रहेको अघोषित नाकाबन्दी र राजनीतिक समस्या अन्त्य भएको घोषणा गर्ने तयारीमा रहेको बताएका छन्।

रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको साक्षात्कारमा मन्त्री राईले मोर्चासँग सकारात्मक सहमतिमा पुग्ने दाबी गर्दैै केही दिनमा शीर्ष तहमा छलफल गरेर राजनीतिक संकट समाधानको घोषणा गर्ने बताए। ‘राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिने गरी कुटनीतिक तहमा छलफल भएको छ,’ उनले भने, ‘फलस्वरुप अघोषित नाकाबन्दी अन्त्यको घोषणा गर्दैछौं।’

मन्त्री राईले  मधेसी मोर्चासँग सहमति भइसकेको दाबी गर्दै सीमांकनमा राजनीतिक संयन्त्रलाई तीन महिनाको समय दिने र त्यसलाई संसदबाट वैधानिकता दिने बताए।

उनले संविधान जारी भएको डेढ महिना संविधान कार्यान्वयन गर्न सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न, सरकार गठन हुनु अघिकै समस्याको रुपमा रहेको अघोषित नकाबन्दी र त्यसबाट उत्पन्न मानवीय संकट समाधानलाई पहिलो प्राथमिकतमा राखेर समय खर्चिनु परेको बताए।
मन्त्री राईले नाकाबन्दी अन्त्य, मधेसको समस्य समाधान, पुर्ननिर्माण विधेयक, प्राधिकरण गठन गरेर महाअभियानको सुरुवात जस्ता कारणले सरकार सफल भएको दाबी गर्दै बाहिर हल्ला फैलाइए जस्तो सरकारले केही गर्न सकेन भनेर शीर निहुँर्याउने अवस्था नरहेको बताए ।