दुई साहित्यकारका अनुभब



नेपाल लिटरेचर फेस्टिभलको पहिलो दिनको कार्यक्रमका बक्ताहरुको विचार :

नारायण वाग्ले

कार्यक्रमको यो शीर्षक त मलाई नै हेरेर राखिएजस्तो छ।

पहिलो पुस्तक कसरी सफल हुन्छ भन्दा नारायण वाग्ले। दोसो पुस्तक कसरी असफल हुन्छ भन्दा नारायाण वाग्ले।

हामी अघि कुरा गरिरहेका थियौं, पहिलो सिर्जना लेख्दा दकस हुन्छ, दोस्रोमा सकस, तेस्रोमा बकस। म अहिले तेस्रोमा छु, त्यसैले बकस पाउनेवाला छु।

मैले दुवै किताब अत्यन्त सक्रियताको घडीमा लेखेको हुँ। दोस्रो किताब लेख्दा त अझ सक्रिय अवस्था थियो। एकातिर राजनीति संक्रमणको घडीमा थियो भने अर्कातिर व्यक्तिगत रूपमा म संस्था परिवर्तनको बेलामा थिएँ। त्यो बेला धेरैले मलाई ‘अर्को पल्पसा क्याफे’ लेख्नुपर्छ भन्थे। पाठकहरू अर्को पल्पसा क्याफेको पर्खाइमा हुनुहुन्थ्यो। मैले भने लेखकका रूपमा प्रयोग गर्नुपर्छ भन्ठानेँ। र, अघिल्लो किताबभन्दा फरक विषय, फरक परिवेश र फरक शैलीमा हात हालेँ।

लेखकका रूपमा हामीले प्रयोग गर्नैपर्छ। पूर्णकालीन लेखकले त प्रयोगमा झन् बढी ध्यान दिनुपर्छ। प्रयोग भनेकै लेखकले नयाँ–नयाँ विषयमा नयाँ–नयाँ शैलीमा लेख्ने साहस वा दुस्साहस गर्ने हो। पाठकको दबाबमा बस्ने होइन। लेखकले पाठकको दबाबमा सिर्जना गर्न थाल्यो भने उसको सिर्जनशीलता नै बाँकी रहँदैन, लेखनमा प्रयोग भन्ने नै हुँदैन।

यति भन्दाभन्दै पनि दबाब त हुन्छ नै। हाम्रो समाजमा धेरै कथा छन्। पाठकले फरक फरक शैलीमा लेखिएका त्यस्ता कथा पढ्न मन पराउँछन्। पाठकको यही रुचिले पनि लेखकमाथि दबाब सिर्जना गरिरहेको हुन्छ।
‘पल्पसा क्याफे पहिलो किताब होइन’
पल्पसा क्याफे मेरो पहिलो किताब होइन। त्यो आउनुअघि मेरो एउटा कविता संग्रह आएको थियो। तीन जना साथी मिलेर छापेका थियौं हामीले र त्यसलाई आफैं बाँड्दै हिँडेका थियौं। तीनमध्ये एक जना साथी यहीँ पोखराकै थिए, उनको अहिले निधन भइसक्यो। तर, म आफूलाई कवि भनेर चिनाउन सक्दिनँ, किनकि मेरो कविता राम्रो थिएन।

‘पूर्णकालीन लेखन खराब हो’

पूर्णकालीन लेखन एकदमै खराब हो भन्ने मलाई लाग्छ। किनकि, जतिसुकै रोयल्टी पाए पनि पूर्णकालीन लेखक भएर बाँच्न सम्भव छैन। त्यसैले, एउटा न एउटा पेसा वा स्वरोजगार हुनुपर्छ। त्यो भयो भने लेखकलाई आफ्नो सिर्जनामा प्रयोग गर्ने सुविधा हुन्छ। यसले लेखनमा सम्झौता गर्नुपर्दैन।

अरू जेसुकै पेसा अपनाए पनि लेखकले अनुशासन भने पालना गर्नुप¥यो। म दिनको यति शब्द लेख्छु वा यति समय लेखनमा बिताउँछु भन्ने स्वअनुशासनमा बस्नुपर्यो। त्यस्तै, पाठक वा लेखकहरूसँग अन्तक्र्रिया, अध्ययनमा पनि समय बिताउनुपर्यो।

समाचार र आख्यान
समाचार लेख्दा विश्वसनीय बनाउन स्रोत उद्धृत गरिन्छ। आख्यान लेख्दा त्यो पात्र आफैंले लेखेजस्तो बनाइन्छ। हामी पात्रको विश्वसनीयता स्थापित गराउन कथाको संरचना तयार गर्छौं। आफ्नो विचार, अनुभव र भोगाइ त्यसमा मिसिएर आउँछन्। समाचारको भने कडा अनुशासन हुन्छ, दायरा निर्धारित हुन्छ। प्रयोग त गर्न सकिन्छ, तर प्रयोग गर्ने ठाउँ थोरै हुन्छ। आख्यानमा प्रयोग गर्ने ठाउँ धेरै हुन्छ।

बुद्धिसागर 

म लेखन क्रममा आफ्ना पाठकहरूसँग गाँसिएको हुन्छ। उनीहरूसँगै हाँस्छु, उनीहरूसँगै रुन्छु। फिरफिरे लेख्दा पनि त्यस्तै भयो।
एक रात मैले सपना देखेँ, पवन भन्ने पात्र जंगलै जंगल दौडिरहको छ। कसैले उसलाई गोली हान्दैछ। म ‘भाग पवन भाग’ भन्दैछु। मेरो आवाज सुनेर श्रीमती झस्कँदै ब्युँझन्छिन्। उनले मलाई उठाइन् र सोधिन्, ‘यो पवन भनेको को हो ?’

मैले भनेँ, ‘मेरो पात्र हो।’

उनी छक्क परिन्।

किताब लेख्न सकसले भन्दा पनि म पात्रहरूसँग भिजेर उनीहरूको दुःखमा रुने गर्छु। कहिलेकाहीँ त लेख्दालेख्दा आँशु कि–बोर्डमा झर्छ। म सामान्यतया दिनको हजार शब्दको दरले लेख्छु। तर, पात्रसँगको सम्बन्धले अति भावुक भएको अवस्थामा दिनको दुई–तीन शब्दभन्दा बढ्ता लेख्न सक्दिनँ। मन भारी भएर आउँछ।

‘कवि बुद्धिसागर मरिसक्यो’
लामो समय कविता लेखेपछि म आख्यानमा आएँ, किनकि मसँग यस्ता चिजहरू थिए, जुन म कवितामा भन्न सक्दैनथेँ। आफूसँग भएका भावना अभिव्यक्त गर्न कविताभन्दा आख्यानमा सजिलो हुन्छ भन्ने मलाई लाग्यो। आज म के भन्न चाहन्छु भने, कविता र गजल लेख्ने त्यो कवि बुद्धिसागर सायद मरिसक्यो। म अहिले आख्यानको बुद्धिसागर हुँ र म आख्यानकै बुद्धिसागरसँग सन्तुष्ट छु।

‘दोस्रोमा सकस हुन्छ’
दोसो किताब लेख्दा निश्चित रूपमा सकस हुन्छ। किनकि, पहिलोमा म कोही थिइनँ। दोस्रो किताब पाँच वर्षपछि आयो। यो अवधिमा पहिलो किताबका कारण मेरा केही पाठकहरू जन्मिसकेका थिए। उनीहरू मबाट केही आश गर्न थालेका थिए। यति मात्र होइन, दुइटा किताबको बीचमा लेखकभन्दा पाठकको स्तर बढिसकेको हुन्छ। कर्नाली ब्लुज र फिरफिरे बीचको पाँच वर्षमा मैले बढीमा सयवटा किताब पढेँ हुँला, किनकि मैले यही अवधिमा लेख्नलाई पनि समय छुट्टयाउनुपर्यो। जबकि, यही अवधिमा पाठकले पाँच सय किताब पढिसकेका हुन्छन्। उनीहरूको स्तर नै पहिलेभन्दा बढिसकेको हुन्छ। स्तर बढिसकेको पाठकलाई पुरानै शैलीमा सन्तुष्ट पार्न सकिन्न। त्यो चुनौती पनि लेखकमाथि थपिएको हुन्छ।

सायद यही दबाबले हुनसक्छ, किताब लेख्ने क्रममा मलाई विभिन्न रोगले च्यापेजस्तो हुन्छ। हरेक रोगका लक्षण आफूमा मिलेजस्तो लाग्छ। मेरो हकमा त गर्भवती महिलामा देखिने लक्षण पनि मिलेजस्तो भयो। एकचोटि छाती दुखेजस्तो भएपछि गुगल गरेँ। मुटुरोगको लक्षणसँग मिलेजस्तो लाग्यो। मैले राति साढे ९ बजेतिर आख्यानकार तथा मुटुका डाक्टर रामेश कोइरालालाई सम्पर्क गरेँ।

‘डाक्साप मेरो मुटु त ढुकढुक गर्दैछ, के गरुँ,’ मैले यस्तो सोध्दा उहाँले भन्नुभयो, ‘सुत्नोस्, यो किताब आउन लागेको तनाव मात्र हो।’ उहाँले जे भने पनि पछि गंगालाल गएर जचाएँ, सब ठिक रहेछ।

‘पूर्णकालीन लेखक हुँ’
पूर्णकालीन लेखक भएर बाँच्न सकिन्छ कि सकिन्न भन्ने कुरा व्यक्तिको जीवनशैलीमा भर पर्छ। मेरो जुन खालको जीवनशैली छ, मलाई आफू पूर्णकालीन लेखक भएर बाँच्न सक्छु जस्तो लाग्छ। म बीचमा अरू काम पनि गर्छु, तर त्यो लेखनसँगै सम्बन्धित हुन्छ। म १०–५ को काम गर्न सक्दिनँ। त्यसो गरेँ भने त्यो कामप्रति न्याय गर्न सक्दिनँ भन्ने लाग्छ।

मेरो विचारमा जीवन बाँच्न मासिक आय चाहिन्छ भन्ने कुराले लेखनसँग सम्झौता गर्न बाध्य बनाउँछ। मैले आफ्नो जीवनसँग जोखिम मोलेको छु। मैले यस्तो बीज रोपिरहेको छु, जसमा फूल फुल्छ कि सुकेर जान्छ थाहा छैन।
स्रोत: सेतोपाटी