टोपी दिवस र राष्ट्रियता


राष्ट्रवादको कुरा आउँदा अधिकांसको हृदयमा राष्ट्रवाद हुन्छ, कसैले खुलेर प्रकट गर्दछ त कोहि खोल्दैनन, कसैले लेखेर त कसैले भाषण गरेर प्रकट गर्दछन । कसैले नारा जुलुस गरेर त कोहि शहिद भएर । आ-आफ्नो तर्फबाट सबै राष्ट्रबादी हुन् ।


याद आउँछ मलाइ ती दिन, ढाका टोपी लाउने ब्यक्ती पाखे कहलिन्थ्यो तर अहिले आएर राष्ट्रबादी कहलिन एकदिन भए पनि टोपी लाएर फेसबूकमा फोटो राख्न पर्ने भयो । तर,  दु:ख लाग्छ हामी नेपालीलाई टोपी लाउन पनि टोपी दिवस कुर्नु पर्ने भएछ । ढाका टोपीको बिरोधी होइन म, गर्व गर्छु टोपी लाउनलाई, मन पर्छ नेपाली पन र नेपाली संस्कार किनकि यो मन त नेपाली हो । सलाम छ सबैलाई एकदिन भए पनि टोपी लगाएर राष्ट्रियताको पहिचान गराएकोमा ।

आधुनिक र नामले मात्र गणतान्त्रीक  सरकारले संविधानबाट हटाइएका पोशाक र टोपीलाई जनताले स्वस्फुर्त रुपमा मान्दै आउँछ भने बिरोध पनि किन गरिरहनु र ?

बरु शेर्पाले शेर्पा समुदायको प्रतिनिधित्व झल्काउने टोपी लाएर, मधेसका जनताले धोती र कुर्ता लगाएर, गुरुङ समुदायले घलेक लगाएर आफ्नो समुदाय र क्षेत्र प्रति गर्व गर्न जति पनि हुन्छ तर राष्ट्रियता प्रति आघात पुग्ने काम नगरियोस ।

लामो समय देखि चलिआएका कुरा कानून नभए पनि प्रथा र परम्परा हुन्, यस्ता कुराको बिरोध गरिदा बिद्रोह हुन्छ, भनिन्छ नराम्रा प्रथा, परम्परा र कुरीति हटाउँदै जानुपर्दछ । तर कसैको कुभलो र बिगार नगरेका प्रथा र परम्परा प्रति विवाद गरिरहनु कसैको भलाई हुँदैन भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

अर्को कुरा पञ्चायत कालमा शुरु भएको झण्डा, टोपी र पोषाक फेर्नुपर्छ भन्ने कुरामा बिवाद किन गरिरहनु पर्यो र ?

राणा शासन, पञ्चायत शासन मन परेन जनतालाई अनि अझ भन्दा नेतालाई । त्यतिबेलाका अधिकांस शासकहरुलाई कसैले मन पराएनन । राजा र राजतन्त्रसँग जोडिएका नामबाट राखेका बाटाघाटाका नाम, दरबारका नाम, शहरका नाम, नदीका नाम, पाटि-पौवाका नाम मन परेन हाम्रा गणतान्त्रीक नेताहरुलाई ।  फेरे सबै कुराका नाम । तर अचम्म लाग्छ तत्कालिन राणाकालीन दरबार सिंहदरबारमा बसेर सत्ता चलाउन र पुस्तौ पुस्तासम्म पुग्ने धन आर्जन गरी जनतालाई लडाउन लाज लाग्दैन यी गणतन्त्रे नेतालाई ? किन बनाउदैनन नयाँ गणतान्त्रीक सिंहदरबार ?

जस्तो सुकै, जतिसुकै क्रुर शासक भएपनि इतिहास मेटाउनु हुन्न, शालिक फुटाउनु हुन्न किनकी भावी पुस्तालाई इतिहास पढ्ने र जान्ने मौका मिल्नु पर्छ, अनि ईतिहास सम्पत्ती हो जसको जगेर्ना गरिनुपर्दछ । त्यसैगरी प्रथा र परम्परा उपर कसैले हस्तक्षेप गर्दा दुर्घटना हुने कुरालाई समेत सरकारबाट समेत सचेतता अपनाउनु पर्ने हुन्छ ।