अमेरिका सपनाको शहर - प्रकाश श्रेष्ठ



अमेरिका संसार कै महाशक्तीशाली देश हो । एकपटक अमेरिकाको भुमिमा पाईला राख्ने सबैको चाहना र कल्पना हुन्छ र त्यो कल्पनालाई साकार पार्न विभिन्न तरिका अपनाएर आउने प्रयत्न गरिएको हुन्छ । हुन पनि हो यसलाई सबैले भन्ने गरेको अवसरको भुमि (Land of opportunity) को रुपमा लिने गरिन्छ । विभिन्न अवसरलाई हात पार्न सकिने सम्भावना रहेको देश हो यो ।

यस भनाईलाई सत्य सावित पनि गराएर देखाएका छन् हामी जस्ता ईमिग्रेन्ट नागरिकहरुले । हामी नेपालीहरुका लागी केही दशक पहिला अमेरिका आउनको लागी त्यती सहज थिएन, खासगरी मध्यम र निम्न वर्गका सर्वसाधरण व्यक्तीहरुको लागी तर आज आएर वैधानिक तवरबाटै करिब २० बर्ष पहिला देखि डाईभरसीटी भिसा (DV Lottery) मार्फत अउनेहरुको संख्या उल्लेखनीय छ ।

साथै विभिन्न सभा/सेमीनार ,गोष्ठी, प्रदर्शनी, कलाकारिता प्रस्तुत गरिने स्टेज प्रोग्राम/कन्सर्टमा भाग लिन आउने जस्तै व्यापारी, उद्यमी, कलाकार, गायक-गायिका, फोटोग्राफर, पत्रकार, खेलाडी , लेखक, साहित्यकार, रंगक्रमी , वकिल, डाक्टर, ईन्जिनियर आदी जस्ता एक्स्टाअर्डीनरी व्यक्तीहरु , अध्ययनको लागी अउने विद्यार्थीहरु, अवैधानिक बाटोबाट आउने ब्यक्तीहरु, भिजिटर भिसामा आउनेहरु र अरु थुप्रै तरिकाबाट आउने व्यक्तीहरुको समेत बसाई अमेरिकामा पाईन्छ ।

सबैजसो व्यक्तीहरुको अमेरिका बसाईलाई रोज्ने कारण र एकपटक आईसकेपछि स्थायी बसोबास गर्न लालयित हुनुको सन्दर्भबारे कसैले जान्न खोजेमा प्रायः सबैबाट प्राप्त हुने रेडिमेड जवाफ भनेको नेपालको राजनैतिक अस्थिरता,अवसरको संभावनाको कमि,छोरा-छोरीको भविस्य , राम्रो कमाई र सुखी जिवनको खोजी भन्ने जस्ता जवाफ नै मिल्ने गर्दछ ।

अमेरिका सबैले माने झै अवसर कै भुमि हो तापनि यती भनिरहँदा यहाँ चुनौती छैन, मिहिनेत नगरी आम्दानी प्राप्त हुन्छ भनिन्छ भने त्यो सरासर गलत हो। यहाँ जति अवसर छ त्यती नै चुनौती छ तसर्थ यहाँको परिस्थीतीसँग चिरपरिचित बनेर राम्रोसँग सामाजिकरण(Socialization) भई अर्थात् सामाजिक वातावरण,कानुनी प्रावधानसँग घुलमिल भएर आफ्नो योग्यता र दक्षताले गर्न सक्ने काम गरेर समय र पैसा व्यवस्थापन(Time and money Management) उपयुक्त ढंगले गर्न सकेमा सोचेजस्तै आफु र सन्ततीको भविस्य उज्जवल बनाउँन सकिन्छ अन्यथा यहाँको परिस्थीतीलाई आत्मसाथ गर्न नसक्दा धेरै दु:ख पाईने पनि हुन सक्दछ ।

अमेरिका शुरुमा आउने व्यक्तीहरुमा सामान्यतया देखिने समस्याहरु भनेको मुख्यरुपमा भाषाको नै हो त्यस्तै उचित तालीम , शिपहरुको अभाव,खटेर काम गर्ने बानीको कमि,कामलाई समानरुपमा हेर्ने नजरको कमि ,चिनजान र सम्पर्कको कमि,कानुनी ज्ञानको कमि, काम खोज्नलाई र प्राप्त गर्न उपयुक्त माध्यम पहिचानको कमि, बसोबास व्यवस्था मिलाउने प्राविधीक कुराको ज्ञानको कमि, कागजी कामकार्वाही सम्बन्धी ज्ञानको कमि, स्वास्थ्य विमा, भाषाको कक्षा लिने सम्बन्धी सुचनाको अभाव,नयाँ आउनेहरुलाई पहिला देखिनै बसोबास गरिरहेका नेपाली समुदायसँग पर्याप्त समन्वय गर्ने कामको अभाव ,नयाँ परिवेश ,काम र नयाँ वस्तु तथा सेवा सम्बन्धी ज्ञान लिन लाग्ने कठिनाई जस्ता थुप्रै समस्या र चुनौतीलाई सामना गर्नु पर्ने हुन्छ ।भन्नुको अर्थ कतिपय जीवनशैली र काम गर्ने तौरतरिका शुन्यबाटै सिक्नु पर्ने हुन्छ तर विस्तारै साथीसंगी,चिनेजानेका व्यक्तीहरु ,कामको परिवेश आदीबाट नजानेका कुरा सिक्ने र परिपक्क हुन सकिन्छ ।

नयाँ आउनेहरुलाई अमेरिका बसाईका शुरुका दिनहरु केही कष्टकर र सोचे भन्दा फरक हुनेहुँदा व्यक्तीहरुमा विचलन आउने सम्भावना र कतिपय सन्दर्भमा अप्रिय बाटो अपनाएको पनि पाईन्छ यसो हुन नदिन कम्तीमा अमेरिका आउने मानशिकता बनाउँदाबित्तिकै पुर्वजानकारीहरु लिएर आयो भने त्यतीसारो समस्याहरु र मानसिक तनाव हुँदैन ।

खासगरी विद्यार्थी भिसामा आउनेका लागी आईसकेपछि कमाएर पढ्नुपर्ने हुँदा पढाई र कामको लोडले गर्दा शारिरीक एवं मानसिकरुपमा थकान त हुने नै भयो अर्को तर्फ अन्तराष्ट्रिय स्टूडेण्टलाई यहाँको स्टूडेण्टलाई भन्दा धेरै महंगो शुल्कहरु तिर्नु पर्ने र भनेजस्तो खोजेजस्तो काम गर्न नपाईने र कानुन त तोकेको अवधी काम गर्दा कलेजको फी समेत तिर्न नपुग्ने हुँदा अवैधानिक तवरबाटै थोरै सेलरीमा नै धेरै अवधी/आवर काम गर्नु पर्ने बाध्यता हुन्छ ।

त्यस्तै काम र पढाईको समयतालिका मिलाउनु पर्ने ,आउँदा लागेको खर्च कमाएर पठाउनु पर्ने जस्ता समस्या पनि हुने हुन्छ यसले गर्दा विद्यार्थीका लागी पढाई पुरा नगरिन्जेल थुप्रै समस्यासँग राम्रैसँग जुध्नु पर्ने हुन्छ । नेपालमा बस्ने अभिभावकले यहाँको समस्यालाई राम्रो किसीमबाट बुझ्न सकेनन् भने विद्यार्थीहरुमा थप पारिवारिक तनावलाई पनि झेल्नु पर्ने हुन्छ यसका बाबाजुद पनि कडा मिहिनेत र अरु थप समस्यालाई व्यवस्थापन गरेर सफलता प्राप्त गरी विद्यार्थीले पढाई पुरा भएपछि राम्रो जागिर खाएको पेशा, व्यवसाय संचालन गरेको देखिन्छ ।

त्यस्तै डि.भी.चिठ्टामा आउने र अवैधानिक बाटो मार्फत धेरै पैसा दलाललाई तिरेर लुकीछिपी दु:ख-कष्ट झेल्दै आउनेहरुको पनि समस्या आफ्नै ठाउँमा छन् ।खासगरी डि.भी.बाट आउनेहरुलाई आउँदाबित्तिकै स्थायी बसोबास अनुमतीपत्र अर्थात् ग्रिन कार्ड(पि.आर.) पाउने हुँदा कागजी प्रोसेस मिलाउने झंझट लुकेर चोरबाटो बाट आउनेलाई जस्तो केही हुँदैन तर अंग्रेजी भाषाको दक्षताको कमि र पेशागत काम सम्बन्धी सिपको अभावले भने कतिपयलाई समस्या पारेको देखिन्छ ।

अर्को तर्फ त्यस्तै समस्या अवैधानिकरुपमा आउनेहरुको लागी पनि पर्दछ त्यस्तै कागज नबनुन्जेल अर्थात् वोर्कपर्मिट पाएर ग्रिनकार्ड नबनुन्जेल अवैधानिकतवरबाटै पाकिस्तानी, ईन्डियन, नेपाली ग्रोसोरी स्टोर , ग्याँस स्टेसन, लिक्योर स्टोर ,होटल एवं रेस्टुरेन्टमा साहुले तोकेको पैसामा काम गर्नु पर्ने बाध्यता छदै छ त्यस्का अतिरिक्त बस्ने एपार्टमेन्ट सोझै आफ्नै नाममा लिन नपाईने हुँदा अरु कानुनीरुपमा बसोबास गरिरहेका सँग मिलेर बस्नु पर्ने वा काम दिने साहुले उपलब्ध गराएको ठाउँ मै बस्नु पर्ने हुन्छ र अर्को मुख्य समस्या भनेको दक्ष कानुनी व्यक्तीलाई सम्पर्क गरि एसेलम केस फाईल गर्ने र विभिन्न कागजात पेश गरी अदालत मार्फत केस जितेर पि.आर.बनाउने काम हो । यस सम्बन्धी काम सावधानीपुर्वक गर्नु पर्ने र केहीगरि केश जित्न नसके डिपोर्ट हुनुपर्न अवस्था पनि आउन सक्दछ ।

त्यस्तै Extra ordinary person मा केस फाईल गर्नेले समेत विभिन्न कागजातहरु,प्रमाणहरु पेश गरि आफुलाई संम्बन्धीत क्षेत्रको अब्बल व्यक्ती भएको देखाउन सक्नुपर्दछ ।त्यस्तै यो क्षेत्रका व्यक्तीले झन् नेपालमा पाएको नाम र काम जस्तै उपयुक्त फिल्ड शुरुमा पाउन नसक्ने संभावना त्यती नै हुन्छ र आम नेपालीले गर्ने काम जस्तै रेस्टुरेन्ट, ग्रोसोरी स्टोर, ग्याँस स्टेसन, फास्टफुड, पिज्जा डेलिभरी, ब्युटीपार्लर, टेक्सी ड्राईभिग आदी जस्ता काम नै गर्नु पर्ने हुन्छ । यसले गर्दा नाम चलेका कलाकार, साहित्यकार, गायक-गायीका, फ़ोटोग्राफर, चलचित्रकर्मी, पत्रकार, खेलाडी , राजनितिज्ञ, लेखकहरुलाई थप मानसिक तनावहरु शुरुको अमेरिकी बसाईमा हुन सक्छ । तापनि बसाईको समय लम्बिदै जाँदा विस्तारै नेपालमा अबलम्बन गरिएको क्षेत्र जस्तै यहाँ पनि त्यस्तै क्षेत्रमा लाग्ने बाटाहरु भने मिल्ने देखिन्छ ।उदाहरण कै रुपमा बढ्दो नेपाली रेस्टुरेन्टले गर्दा लोक दोहरी कलाकारले गायन पेशालाई नै आफुले आत्मनिर्भर पेशा बनाउने गरेको देखिन्छ ।फ़ोटोग्राफरहरुले पनि फोटोग्राफीलाई मुख्य पेशा बनाएको पाईन्छ त्यस्तै पत्रकारितामा लाग्ने पत्रकार, गायक-गायिका, विभिन्न क्षेत्रका कलाकारले सहायक पोशाको रुपमा समेत काम गरिरहेको देखिन्छ ।

अत:जे जसरी भएपनि सपनाको शहर अमेरिका आए पछि प्रायः सबैले शुरुमा संघर्ष गर्नै पर्ने हुन्छ र यहाँको अलग परिवेश,सामाजिक-सांस्कृतिक रहनसहन,बोलीचालीको भाषा,कानुनी प्रावधानहरु सँग समायोजन हुँदै सबै चाजोपाजो मिलाएर बस्ने जागीर,पेशा ,व्यवसाय गर्ने,बालबच्चालाई उचित शिक्षा-दिक्षा दिने र समयसापेक्ष आफुलाई परिवर्तन गर्दै सुखद जिवनयापन गर्ने तर्फ लाग्ने गर्नु पर्दछ ।

यसरी हेर्दा हामीले के बुझ्नु जरुरी छ भने कोरा हात र मुठ्ठी लिएर अमेरिका आउनु भन्दा पहिला नेपालमा मै केही आधारभूत दक्षता लिएर आउन सके यहाँ आईसकेपछि धेरै सजिलो हुन सक्दछ । जस्तै अंग्रेजी बोलचालको भाषा सिक्ने, कुक-वेयटर को तालीम लिने,सेल्समेनसिपको तालीम,कम्युटर सम्बन्धी तालिम आदी जस्ता भाषागत, पेशागत ज्ञानहरु साथै अमेरिकीमा सामान्यतया गरिने कामको प्रकृतीको ज्ञान,कानुनी प्रावधान सम्बन्धी ज्ञान,अमेरिका पहिला देखि बसिरहेका व्यक्तीहरुसँगको सम्पर्कबाट विविध पक्षमा जानकारी लिने, आउने ठाउँ र ठाउँको वस्तुस्थितीको बारे जानकारी लिने, ड्राईभिग तालीम , स्वास्थ्य परिक्षणबाट स्वास्थ्य स्थितीको जानकारी लिने जस्ता तमाम काम गरेर आफु पुर्व तयारीका साथ अमेरिकी यात्राको तय गरि अमेरिका आएमा निकै हद सम्म यहाँ आईसकेपछि सहजरुपमा छिट्टै यहाँको वातावरणसँग समायोजन हुन सकिने देखिन्छ ।

त्यसैले यहाँ आईसकेपछि यो काम नेपालमै गर्नु पाएको भए भनि पछुताउनु भन्दा नेपालबाटै सिकेर आउनु राम्रो हुन्छ र अब आउँदै गरेका तमाम व्यक्तीहरुमा यसबारे जानकारी गर्न सकेमा उनीहरुलाई भविस्यमा अमेरिका आईसकेपछि सजिलो हुने हुन्छ ।

बाल्टिमोर, अमेरिका