उखाने काकाहरुको सिंहदरवार तीर्थाटन - सरगम भट्टराई





एक जना मै हूँ भन्ने विद्वान काकाले बहालवाला प्रधानमन्त्रीको  बचाउ गरेर एउटा लामो बचाउपत्र लेखेपछि मेरा कन्सुरीका रौं एकाएक ठाडा भए। लेखक काकामा उ बेलाँ मेरो जस्तै हनुमानी गुण रछ क्यारे, आफ्नो त्यो बेलाको चुरी फुरी संझेर चुप्प लागेँ।

फेसबुक र ट्वीटरमा अहिलेको सरकारलाई उखाने काकाहरुको सरकार, टुक्के सरकार र यस्तै के के भन्ने रछन, यो सरकारका गतिविधि म जस्तो बबुरोले के नै ब्याख्या गर्न सक्छुर?खुद उखान शिरोमणी काका देशको शक्तिशाली कुर्चीमा आफ्ना दुई बीसे मन्त्री मार्फत आफ्ना प्रहसनहरुले जनताहरुलाई मनोरन्जन गराईरहनु भएकै छ अरे! नेपाल टेलिभिजनमा मेरी बास्सै र तितो सत्त्य किन बन्द भो भन्या त तिम्ले पो सबैलाई फ्लप गराएछौ त काका जनता हँसाएर।

शुरुमा त म उखाने काकाहरुको फ्यान नै हो नि ! कसैले काकाहरुको बारेमा खोकीहाल्यो कि प्रतिकारमा उत्री हाल्थेँ, सत्य कुरो नढाँटी जनै छोएर भन्दा म काकाहरुको हनुमान नै थिएँ । काकाहरुले जे जे प्रहसन गरेपनि आँखा चिम्लेर त्यसलाई अति उत्तम संझेर टाउको हल्लाउँथे।

जेल नेल खाएका काकाहरु त म मिसावट युक्त तेल खाएको बबुरो भन्दा त दोब्बर तेब्बर राष्ट्रवादी छन भनेको त काकाहरुको राष्ट्रवाद त मेड इन चाईना, हिजो ठिक थ्यो आज छैन जस्तो पो रछ बा!

बबुरोलाई कुरो अझै ताजै छ, उखाने काकाहरुको फ्यान हुँदा काकाहरुकै भाषण सुन्न घरको तोरी चोरी चोरी बस भाडा  बाट बचेको पैसाले पार्टीका  किताब सुटुक्क किनेर त कति पढ्यो कति? बाले दुर्गा सप्तसती कण्थस्थ गर्न भन्दा  मार्क्सवादी ठेली लुकि लुकि घोक्दा म पुनि नेता हुन्छुकि जस्तो लाग्थ्यो ।कसैसंग राजनितिका गफ गर्दा काकाहरुको बिल्लीबाँण गर्नेलाई त म जगल्ट्याउन पनि तम्सन्थेँ।  बैसको तातो रगत न हो, बिरोधिहरु संग पौठे जोरी त कति खेलियो कति!

बिस्तारै मेरो रगत सेलाएछ कि, खोई के भा हो अचेल काकाहरुको बोली नै मन पर्दैन बा!  परोस पनि कसरी र हिजो फुर्के चप्पल लाउने काकाहरु आज महाराजा जस्ता भईसकेछन। म बबुरो चाहीं अहिले पनि धतुरो खाएजस्तो सुईखुट्टे।मेरै भर्यांग चढेर काकाहरु सिंहदरवारको मचान माथि चचहुँई गर्दा म चाहिं साउदी अरबको जंगलमा भेंडा चराउदै सुईं सुईं गरिरहेको छु। काकाहरुको फाईंफुट्टी देख्दा त मलाई पनि प्याट्ट यो मरभूमि छोडेर सिंहदरवार पो छिरौं जस्तो झोंक चल्छ बा ! कतै बबुरोले उपप्रधानमन्त्री पो पड्काउन के बेर? त्यहि हो काकाले आफ्नो भु. पु. हनुमान चिन्छन कि चिन्दैनन् कुन्नि?

ए साँच्चै काका! तुईन मुक्त  देश बनाउछु भनेर फुँई झारेथ्यौ रे! हैन काम चै के के शुरु गर्यौ त?अब त नेपालमा पनि घर घरमा ग्याँस पाईप पुर्याउने अरे,प्याट्ट बटन खोल्दा भरर , मेट्रो हो कि के रेल हाल्ने रे, हावाबाट बिजुली निकालेर लोडशेडिंग अन्त गर्ने रे! अरु पनि के के गर्न आँट्या छौ रे?

हैन ए काका !भुईचालो पिडितको हालत देखेनौं?यो पुसको सिरेटोमा हिउँले त्रिपाल पुर्यो रे त?पालमा बसेकालाई त राहत र राशन पो पुर्याउनु, मृतकका नाममा शालिक पो बनाईदिन्छु भन्छौ रे? पहिले बाँचेका लाई त केहि गर।फेसबुकमा त तिम्रा उखानले ढपक्कै ढाक्या पो छन त!

हैन, गाउँ गाउँमा हेलिप्याड बनाउन आँट्या छौ रे! उद्घाटन र समापनमा पहिला झैं हिड्या हिड्यै छौ रे! डोल्पामा डोल्माले सिटामोल नपाएर परान त्याग्दा  काकाहरु त अमेरिका र थाईल्याण्डमा जरो जचाउन पुग्छौ रे! हैन के नै लछार्या छौ र देशको लागि ! देशको ढुकुटीमा रजाँई गरी गरी दवाई गर्न विदेश जान्छौ?तिम्रो बिमार पनि अचम्मैको रैच कुर्सी बिरामी हुदा पनि बिदेस, फुर्सी बिरामी हुँदा पनि बिदेश! भूतपूर्वे कुर्सी काकाहरुलाई पैसो र सुबिधा त कनिका बाँडेजस्तै बाँड्या छौ रे! म जस्ता बिदेशिएका बबुरोलाई पनि केहि गर्छु भनिदेऊ न काका, बबुरो त यतै बूढो हुने भयो उ बेलामा पढ्न जान्छु भन्दा झोला बोकायौं, अब मन्त्री बन्ने बाहेक क्यै योग्यता छैन, उप-प्रधानमन्त्री दियौ भने उखान त मैले पनि कड्काएर भन्छु है काका !

ए साँच्चै काका !अस्ति समाचारमा सुनेको वेलायतको प्रधानमन्त्री र रसियाको राष्ट्रपतिले पनि नेपालको नेता भएर नजन्मेकोमा आफ्ना पुर्पुरोलाई धिकार्दै थिए रे। किन होला? डेविड काकालाई रेलमा  सिट नमिलेर उभिनु परेछ, पुटिन काकालाई आफै पेट्रोल भर्न परेर हो कि? तिम्लाई त क्या मज़ा रछ  वरिपरी हनुमानहरु,जहाँ गएनि हरर!

जे होस पेशो चाईं बडो खाँटी रछ, घाटो कैले नहुने। लैनु, बकेर्नुमा टन्न धुत्न पाईने थारो भएपनि   ढुक्कले सुत्न पाईने।

काका ! नैयाँ नेपालमा अझै के के देख्न र सुन्न पर्ने हो? कर्मचारी हेर्यो त्यस्तै, पन्ध्र हजार तलब हुनेको पाँच तला घर, म अरबमा आको ५ बर्ष भो घरमा जाबो जस्ताले घर छाउन सक्या छैन, डलरे संस्थाका हाकिम नि त्यस्तै, नेताको त कुरै के गरौं र काका तिम्रै वरिपरि राता पिरा देखिएकै छन त!ब्यापारीहरु काला बजारी गर्ने, काकाहरुले नदेखेझैं गर्ने !  जनता पानी नुन सम्म खान नपाएर मर्न ला बेलामा तिमी चैं सुनको कुरा गर्छौ?

हैन के हो यो सिंहदरवारमा शैतानै बस्या छ कि क्या हो, जुन काका गए नि डाँका भएर निस्कन्छन बा । भो डाँका भएर बाँच्न भन्दा त बरु यहिं अरबमै मर्न ठिक! चाहिएन उपप्रधानमन्त्री सन्त्री बरु यहिं भेंडाको मन्त्री भएर बस्छु।

काका काम गर! दुनियाँ नहसाऊ।तिमी लास माथि बसेर उखान भन्दैछौ,बाँचेका जनता पनि मर्न आँटे अब हाँस्न सक्दैनन् क्या! धन्य तिम्रो सिंहदरवार तीर्थाटन !!

भृकुटी-न.पा .६ कपिलवस्तु