सरकार ! महतोलाई जेल हाल -सरगम भट्टराई




         
सरकारको हनिमून पनि हनहन गर्दैमा सकियो | गनगन गर्दैमा सकियो | मधेसमा आगो दनदन गर्दैमा सकियो। काम शून्य तर र्युमर र ह्युमर गर्दामै सकियो।

     फेरि मोरंगमा मान्छेकै करंग छेड्ने गरि गोली चले, तीन जना त ठाउमै ढले ! माउ पार्टीहरुलाई मधेसमा आत्मरक्षा गर्न हम्मे हम्मे पर्यो । यसो गर्दा गर्दै हनिमून टर्यो।

वारपाकमा  हिउँले त्रिपाल पुर्यो रे, चिसो हिउँमा खानापिना बिना आकास ओढेर बस्ने बूढा, बूढी, बालबालिका र सुत्केरीलाई राज्यको न्यानो कहिले दिने हो सरकार? तिनीहरुलाई रेल हैन खोले पकाउने नुन र तेल चाहिएको छ ! भुकम्पले आधा लुछेको शरीरलाई सरकारको आश्वाशन हैन राशन चाहिएको छ सरकार।

         ठोकर्पामा अझै पनि तिम्रै प्रतिक्षामा कैयौं आँखाहरु बेचैन छन सरकार ! तिनीहरुको घाउमा नुन चुक हैन मलहम पो चाहिएको छ त ! जनताले ढुंगो उसिनेर खाने कि ढुंग्रो फुकेर बाँच्ने?सिंहदरवारको सुबिधायुक्त जिन्दगी संग धुन्चेको रुन्चे जिन्दगी तुलना हुन्न सरकार। पुनर्निर्माणको ढोल बजाएर प्राधिकरणका कर्मचारीलाई मनपरि सुबिधा दिनुअघि दोलखाका भुकम्प पिडितलाई एक सरो न्यानो लुगा बाँड्न के ले रोक्यो सरकार?

चिसा ओछ्यान, चिसो चुल्हो र भिजेका आँखालाई उखान हैन सरकार ओभानो देऊ,न्यानो देऊ र अभिभावकत्व देऊ,कालाबजारी र भ्रष्टाचारले थलिएका जनतालाई आहत हैन राहत देऊ।आज  एक छाक खाना पकाउन जनता आधा सिलिण्डर ग्याँसका लागि भौतारिहँदा एक बर्षमा घर घरमा पाईपबाट ग्याँस पुर्याउने कुराको योजना गर तर जनतालाई आधा सिलिण्डर ग्याँस त देउ सरकार ।

       मधेश तातो छ ,चार महिना देखि बलिरहेको छ,मान्छे जिउदै जलिरहेको छ, तातेको मधेसमा तातो अनि चिसो पहाडमा चिसो छाडेर हुदैन सरकार! भारतीय हस्तक्षेप बिरुद्दको अडानले स्वाभिमान त ठाडो होला तर भारतबादीहरुको पो दवदबा भो त सरकार !

  हो मधेस हेपिएको छ, कर्णाली चेपिएको छ, तर मधेसले कर्णाली बुझ्दैन, काठमांडौले मधेस सुन्दैन। मधेसमा बिखण्डनकारी तत्वहरु हावी हुँदा मूल धारमा बिश्वास गर्ने पन्चानब्बे प्रतिशत जनताको बाँच्न पाउने अधिकार कुण्ठित भएन र सरकार? हैन भने किन ठूला पार्टीहरुले मधेशमा आत्मऱक्षा गर्न सकिरहेका छैनन? किन वर्तमान कानुनले मन्त्री बन्न नसक्ने राजेन्द्र महतोहरु मधेसको मसिहा बनिरहेका छन? किन युबा संघको गाडी रोकेर पेट्रोल छर्केर आगो लगाईन्छ ? संघियता यदि अभिसाप होईन भने किन आफ्नो बिचार राख्न खोज्दा रंगेली रगतले रंगिन्छ? के मधेस केहि हुल्लड र विखन्डनकारीको बिर्ता हो? किन टिकापुर र गौर घटना देहोर्याउन घोषणै गरेका तत्वहरु आतंककारी घोषणा हुदैनन ? किन तरुणहरु मधेस पस्दा मसानघाट पसे जस्तो सशंकित हुन्छन ?

मधेस आन्दोलन जायज़ छ भने किन ती मुद्दाहरु संबोधन हुदैनन? किन हेपिएका चेपिएका मधेसीका पक्षमा संबिधान शंसोधन हुदैनन? किन नाकाहरु सुचारू हुदैनन? किन मधेसका जनताले पत्याएका नेपाली कांग्रेस, एमाले र एमाओवादीका नेताहरु गम्भीर हुँदैनन ? किन मधेँस अनिर्णयको बन्दी हुन्छ सरकार?

मधेश आन्दोलन नाजायज़ छ भने किन जिउँदै मट्टीतेल छर्केर मान्छे मार्नेहरु थुनिदैनन ? किन अबोध बालक मार्नेहरु जेल पर्दैनन?किन सांप्रदायिक दंगा फैलाउनेहरु खादा ओढाईन्छन ? किन एम्बुलेन्स बाट मान्छे थुति थुति मार्नेहरु पक्राउ पर्दैनन ?  किन माउ पार्टीका कार्यालय जलाउने र कार्यकर्ता हत्या गर्नेहरु दशगजामा दश हात उफ्रिन्छन ? किन गिरीजा प्रसाद कोईरालाका शालिक ढलाउनेहरु जेल पर्दैनन ?

       किन बिखण्डनकारी राजेन्द्र महतो हरु जेल पर्दैनन ? जवाफ दे सरकार! लोकतन्त्रमा यदि बहुमतको कदर हुन्छ भने अब आफ्नो कानमा तेल हैन बिखण्डनकारी र अराजक तत्वहरुलाई  जेल हाल सरकार !!

   युद्दको पनि नियम हुन्छ, आज मधेसमा संघीयतालाई बटम लाईन बनाउनेहरुलाई भोलि संघीयता टीका लगाएर दियो भने फेरि धेरै रंगेलीहरु रंगिने छन, फेरी गौरमा ज्यानहरु गौंण हुनेछन। फेरि टिकापुरमा रगतको टीका लगाईने छ। मधेसमा भएको अराजकता आन्दोलन हैन आतंक हो । अडान लेउ सरकार ! अब कानमा तेल हैन: ठाउमा नआउने महतोहरुलाई राज्यद्रोह बिरुद्दको मुद्दामा जेल हाल । मधेसका ९५ प्रतिशत जनताको माग पूरा गर सरकार !

-भृकुटी-६ कपिलवस्तु