मधेसी दल सहमतिमा अाउँछन्ः भारत

नयाँदिल्ली – भारत सरकारले नेपालमा मधेस केन्द्रित दलहरुसँग छिट्टै समझदारी बन्ने विश्वास लिएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताएका छन् ।

हरिद्वारको अध्यात्मिक यात्रापछि दिल्ली आएका पौडेलले बुधबार अपराह्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता पछि ‘अहिले बनेको दलीय कार्यदलको संयन्त्रमार्फत मधेस आन्दोलनका माग र नाकाबन्दी समस्या सुल्झने’ स्थिति देखिएको बताए ।

‘मैले नेपाल –भारतबीचको सहज सम्बन्धमा केही महिनायताको कठिनाइ र नाकाबन्दीका कारण उब्जिएको समस्याबारे अवगत गराएँ,’ दुवै मन्त्रीसँगको वार्तापछि पौडेलले भने, ‘उहाँहरुले नेपालमा आइपरेको समस्या र सहज आपूर्ति अभावबारे जानकार रहेको बताउनुभयो । त्यही भएर तदारुकताका साथख समस्या सुल्झनुपर्छ भनेर लागेका छौं भनेर उहाँहरुले वचनबद्धता जनाउनु भयो ।’ कान्तिपुर दैनिकले लेखेकाे छ।