विश्व चर्चित महिलामा राष्ट्रपति विद्यादेवी भण्डारी

लन्डन- सन् २०१५ मा विश्व आतंकवादग्रस्त भयो भने नेपाल, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पले ठूलो विनाश गर्योव। सन् २०१५ मा शान्त र समृद्ध युरोप आतंकवादी आक्रमणको त्रासमा बाँच्न विवश भयो।

तर यस्तो अवस्थामा पनि यसअघि जस्तै विश्वका कतिपय देशका महिला चर्चाको शिखरमा पुग्न सफल भए। सन् २०१५ मा चर्चाको शिखरमा पुग्न सफल महिलाहरूमा पर्छन्– जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी पूर्वविदेशमन्त्री तथा पूर्वप्रथम महिला हिलारी क्लिन्टन, माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सकी धर्मपत्नी मेलिन्डा गेट्स, अमेरिकी प्रथम महिला मिसेली ओबामा, म्यानमारकी प्रजातान्त्रिक नेत्री आङ सान सू ची, सन् २०१५ को साहित्यतर्फ नोबेल पुरस्कार जित्न सफल बेलारुसकी पत्रकार तथा लेखिका स्वेतलाना अलेक्सिभिच, चीनकी प्रथम महिला पेङ लियुआन र दक्षिण एसियाली राष्ट्र नेपालमा पहिलोपल्ट महिला राष्ट्रपति निर्वाचित विद्यादेवी भण्डारी।

एक दशकयता युरोपको सम्पन्न राष्ट्र जर्मनीलाई प्रभावकारी नेतृत्व दिन सफल महिला नेत्री एन्जेला मर्केल यस वर्ष पनि चर्चामा रहिन्। प्रभावकारी नेताको पहिचान दिन सफल जर्मन चान्सलर मर्केल गत वर्ष पनि सबैभन्दा प्रभावशाली 'सेलिब्रिटी'का रुपमा परेको विश्वविख्यात पत्रिका फोर्ब्सको मूल्यांकन छ। ओरालो लागेको युरोपेली अर्थतन्त्र आश्चर्यजनक रुपमा माथि उकास्न सफल मर्केल युरोपेली नागरिकबीच अत्यन्तै लोकप्रिय भइन्। विश्वका शक्तिशाली देशलगायत इराक र सिरियामा भीषण आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट आइएस आतंककारीविरुद्ध उनले चालेको कदम पनि प्रशंसनीय रह्यो।

फोर्ब्सको मूल्यांकनमा विश्वकै प्रभावशाली महिलाको दोस्रो स्थानमा पर्न सफल अमेरिकी पूर्वविदेशमन्त्री हिलारी रोधम क्लिन्टन हुन्। शक्ति राष्ट्र अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा हिलारीलाई सत्तारुढ डेमोक्रेटिक पार्टीका तर्फबाट प्रमुख दावेदारका रुपमा हेर्न थालिएको हुनाले पनि उनी चर्चाको शिखरमा पुग्न सफल भइन्।

अमेरिकाको ४२औं राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी सन् १९९३ देखि २००१ सम्म अमेरिकाकी प्रथम महिलासमेत रहेकी थिइन्। उनी समाज सेवामा व्यस्त रही सन्तुलित निजी जीवन बिताउँदै विख्यात महिलाका रुपमा परिचित छन्।

नेपालकी एक जना नेत्री विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित भइन्। उनी गणतन्त्र नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित भइन्। सन् २०१५ अक्टोबरमा उनी नेपालको राट्रपतिमा निर्वाचित भएकी थिइन्।

अार्थिक, सामाजिक र राजनीतिक रुपमा समेत महिला पछि परिरहेको नेपालजस्तो तेस्रो विश्वको देशमा समेत एउटी महिला राष्ट्रप्रमुखमा निर्वाचित हुनुलाई विश्वका अधिकांश सञ्चारमाध्यमले उदाहरणका रुपमा प्रशंसा गरेका थिए।