अमेरिकामा ड्राईभिग -प्रकाश श्रेष्ठ


अमेरिकाका हरेक ठाउँमा सडक यातायातका संजालहरु निकै आधुनिक किसिमबाट निर्माण गरिएको छ । देशका सबै राज्यहरुमा जोड्न द्रुत गतिमा सवारी साधनहरु चलाउन मिल्ने राजमार्गहरु देखि राज्यहरु वीच र राज्य भित्रै एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज हुने गरि सहायक एवं स्थानिय राजमार्गहरु व्यवस्थित तवरबाट निर्माण गरिएका छन् ।

ट्राफिक व्यवस्थालाई अत्यान्तै व्यवस्थित किसिमबाट मिलाईएको छ । हरेक ईन्टरसेक्सनमा स्वचालित लाईटिंग प्रणाली व्यवस्थित गरिएको छ ,सडक संकेत लगायत स्पीड लिमिट,सडकको अवस्था ,सहायक र लोकल रोडहरु कुन स्थानमा गएर मुख्य राजमार्ग (Highway )मा जोडिने सबै कुरा छर्लग बुझ्ने गरि सडकमा संकेत होर्डिंग बोर्ड ,साईड संकेत स्तम्भहरु आदीबाट चालकलाई जानकारी गराईएको हुन्छ । 

मुख्य  राजमार्गहरुमा ईन्टरसेक्सन नपर्ने भएकोले ट्राफिक लाईटमा जसरी लोकल रोडहरुमा रोकिनु पर्ने हुन्छ सामान्यतया रेड लाईटमा रोकिनु पर्ने र ग्रिनमा लाईटमा  सवारी साधन अगाडी बढाउने गर्नु पर्दछ त्यस किसिमको झंझट हुँदैन ,सामान्यतया तोकिएको स्पीड लिमिटमा रहेर निरन्तर अगाडी  गाडी चलाउन सकिन्छ । ठाउँ-ठाउँमा सहायक र लोकल रोडमा जोडिनको लागी बर्हिगमन(Exist) हुने गरि सडक बनाईएको हुन्छ र त्यसबाट हाईवेको यात्राबाट गन्तव्य आफु जान चाहेको स्थान तिर मोड्न सकिन्छ त्यस्तै लोकल रोडबाट हाईवे प्रवेश(Entery)को लागी पनि प्रवेश मार्गको व्यवस्था ठाउँ-ठाउँमा गरिएको हुन्छ ।

खासगरी लामो दुरीको गन्तव्यको यात्रामा हाईवेको यात्रा गर्दा छिटो -छरितो हुने गर्दछ ।लोकल एरियाको लागी पनि कतिपय अवस्था र सडकको पायकलाई आधार बनाई हाईवे र लोकल रुट जुन उपयुक्त हुन्छ त्यसैबाट यात्रा गर्न सकिन्छ ।

   

देश  विकासको लागी हवाई ,रेल ,जल तथा सडक यातायातको द्रुत विकास हुनु जरुरी छ तापनि अन्तिम गन्तव्य तथा Door to Door सेवाको लागी सडक यातायातको साहरा लिनै पर्दछ अन्यथा हिडेर पुग्नु पर्दछ ।छोटो दुरीमा हिडेर पनि गुजरा चलाउन सकिन्छ तर लामो दुरीमा सवारी साधन निजी तथा सार्वजनिकको सहायता लिनै पर्दछ ।त्यसैले सडक यातायात अन्य यातायात भन्दा बढी महत्वपूर्ण छ भन्न सकिन्छ ।
       
यसैले सडक यातायातमा हाम्रो ध्यान केन्द्रित गर्ने सन्दर्भमा पहिलो कुरा त हामीमा सडकसँग सम्बन्धीत सुचनाहरु वा जानकारीहरुमा ज्ञान हुनु पर्यो अर्को तर्फ सवारी साधन चलाउन सक्ने दक्षता र चलाउन पाउने परमिट वा लाईसेन्स हुनु पर्यो ।यात्रा गर्ने सन्दर्भमा कुरा उठ्न सक्छ की सार्वजनिक बस,रेल/सववे बाट पनि काम चलाउन सकिन्छ साथै ट्याक्सी/उवरको प्रयोग गर्न पनि सकिन्छ ।

हो यसरी पनि काम चलाएर जागिर-व्यवसाय गरेको पनि पाईन्छ तापनि अमेरिका जस्तो मिनेट -मिनेटको महत्व भएको ठाउँमा आफ्नै सवारी साधनको प्रयोग गरेर एक ठाउँबाट अर्को ठाउँमा पुग्न सके समयमै काम हुन सक्ने ,चाहेको समय र ठाउँमा सजिलै पुग्न सकिने सुविधा प्राप्त हुन्छ ।

त्यस्तै कतिपय राज्यमा सार्वजनिक सवारीका साधनहरुको उपलब्धता र व्यवस्थालाई हेर्दा निजी सवारीसाधन हुनुमा सहज र छिटो-छरितो गन्तव्यमा पुग्ने देखिन्छ ।यस हिसाबले पनि हामीलाई निजी सवारीसाधन प्रयोग गर्नु पर्ने बाध्यता हुन जान्छ र कतिपय अवस्थामा तोकिएको समयमा सार्वजनिक यातायातको साधन तोकिएको स्टपहरुमा  नआईदिदा तोकिएको समयमा काम गर्ने अफिस,स्थानमा नपुग्दा जागिरबाट हात धुनु पर्ने पनि हुन सक्छ ।तसर्थ पनि चालक अनुमतीपत्र लिएर आफ्नै सवारीसाधन चलाउनु राम्रो हुन्छ ।
     
अमेरिकामा चालक अनुमतीपत्र (Driving License) लिने क्रममा विभिन्न राज्यका आफ्नै नियमहरु छन् । सामान्यतया आँखाको शक्ती जाँच्ने (Eye Test) ,Drug Test class लिने ,लिखित परिक्षा दिने र प्राक्टिकल टेस्ट दिने जस्ता काम गर्नु पर्दछ । खासगरी Eye Test मा आँखाको दृश्य शक्तीको परिक्षण गर्ने काम हुन्छ  ,Alcohol or Drug Test Class मा करिब ३-४ घण्टाको क्लास लिने गरिन्छ यसमा कुनै आधिकारिक संस्था वा अनलाईन मार्फत क्लासमा सहभागी हुनु पर्दछ जसमा ड्राईभिग गर्दा के ,कसरी अल्कोहल र अन्य लागु पदार्थजन्य चिज त्यस्तै संवेदनसिल मेडिसिनहरु खादाँ पर्ने प्रभाव र अपनाउनु पर्ने सतर्कता सम्बन्धी सैदान्तिक र व्यवहारीक ज्ञान दिईन्छ । 

त्यस्तै लिखित परिक्षामा सडक संकेतहरु/ट्राफिक लाईटको बारे साथै सवारी चलाउँदा पालना गर्नु पर्ने नियम -कानुन सम्बन्धी प्रश्नहरुको जवाफ दिनु पर्ने हुन्छ । तसर्थ यस्तो टेस्टमा पास हुनको लागी सडक सम्बन्धी संकेतका बारे र सडक सम्बन्धी नियम र सवारी साधन चलाउन पालना गर्नु पर्ने नियम-कानुनका बारे राम्रोसँग अध्यायन गर्नु जरुरी छ । यो लिखित परिक्षा यस अर्थमा पनि महत्वपूर्ण छ की सडक सम्बन्धी संकेतको अर्थ र सवारीसाधन संचालनका नियममा दुविधामा परेर सवारीसाधन चलाउँदा गम्भीर सडक दुर्घटना हुन सक्ने र अकालमा ज्यु-धनको क्षति समेत हुन सक्छ तसर्थ त्यस सम्बन्धी विस्तृत जानकारी लिनु जरुरी छ ।

यदी लिखित परिक्षामा उत्तिर्ण भएमा अर्को स्टेप भनेको प्राक्टिकल परिक्षा वा गाडी चलाएर कार्यदक्षता देखाई उत्तिर्ण हुनु पर्ने हो यसका लागी पहिला ड्राईभिग स्कुलबाट क्लास लिएर दक्ष बन्नु पर्दछ वा कुनै ड्राईभिग सिकाउन लाईसेन्स लिएको व्यक्तीबाट ड्राईभिग सिकेर दक्ष हुनुपर्दछ र कतिपय अवस्थामा अनुभवी साथीहरु,आफन्तहरुबाट ड्राईभिग सिक्न पनि सकिन्छ ।जसरी हुन्छ गाडी राम्रोसँग चलाउने दक्ष हुनु पर्दछ ।

ड्राईभिग प्राक्टिकल टेस्ट जानु भन्दा पहिला सबै कुरामा दक्ष भएर जानु पर्दछ अर्थात् पार्किंग गर्न सक्ने देखि रोडमा गाडी राम्ररी चलाउन सक्ने हुनु जरुरी छ । ड्राईभिग भन्ने कुरा वास्तविक किसीमले सडकमा सावधानीपुर्वक सवारीसाधन चलाउन सक्ने हुनु पर्ने हुन्छ । तसर्थ कुशल किसिमबाट सवारीसाधन चलाउन सक्षम भएमा मात्र सम्बन्धित निकायबाट ड्राईभिग लाईसेन्स दिने गरिन्छ । प्रत्येक राज्य सरकारको माताहतमा ड्राईभिग लाईसेन्स दिनको लागी छुट्टै विभाग खडा गरिएको हुन्छ । तोकिएको विभागमा गएर प्रकृया पुरा गरेर मात्र लाईसेन्स निकाल्न मिल्दछ ।
  
कुनै न कुनै स्टेटमा लाईसेन्स निकाल्ने क्रममा लिने प्राक्टिकल टेस्टहरु तुलनात्मकरुपमा सजिलो हुन्छ जस्तो की पार्किंग लटमा पार्क गर्ने र टेस्ट लिने ठाउँमा केही समय ड्राईभिग गरेर देखाउने जस्ता काम गरे हुन्छ तर कुनै राज्यमा भने पार्किंग देखि लोकल राजमार्गमा राम्रैसँग गाडी चलाउन सक्ने प्रमाणित हुन सके मात्र लाईसेन्स दिईन्छ ।जुन नियम -तौर एवं तरिकाबाट लाईसेन्स दिने नियम भएपनि मुख्य कुरा भनेको दक्ष व्यक्ती वा संस्थाबाट ड्राईभिग सिकेर कुशलतापुर्वक सडकमा ड्राईभिग गर्न सक्ने हुनु जरुरी छ किनकी सानो कमजोरीले पनि ठुलो जोखिम मोल्नु  पर्ने हुन्छ ।
    
यती कुरा साँचो हो की ड्राईभिग गर्ने भन्ने कुरा हल्कारुपमा लिने विषयवस्तु हुँदै हैन । सधै निकै सिन्सियर/सावधान भएर सवारीसाधन चलाउनु पर्ने हुन्छ कहिल्यै पनि लापार्वाही गर्नु हुँदैन सधै नियमको अनुसरण गरि आफुले चलाउने कार वा भेईकल सहीसलामतमा छ छैन चेक/जाँच गरेर मात्र गन्तव्यको लागी प्रस्थान गर्नु पर्दछ ।

आफु निपुर्ण नभईकन सहयोगीविना एक्कासी सडकमा यात्राको शुरुवात गर्नु राम्रो हुँदैन । एकैचोटी कोही पनि निपुर्ण हुँदैन तापनि विस्तारै अनुभव लिदै ड्राईभिग गर्नु उपयुक्त हुन्छ । यदी कहिल्यै मुल राजमार्गमा सवारी साधन चलाएको छैन भने सहयोगीको साथ नलिईकन ड्राईभिग गर्न खोज्नु कतिपय अवस्थामा विपत र घटना घट्न सक्छ ।

हाईवे मा तिव्र गतिमा सवारीसाधन चलाउनु पर्ने र एक लेनबाट अर्को लेनमा परिवर्तन गरी सवारीसाधन चलाउनु पर्ने अवस्थामा राम्रो अनुभव वेगर हतारमा हाईवे मा ड्राईभिग गर्नु त्यती उत्तम हुँदैन तरपनि सिकाउने व्यक्तीको साथ केही पटक ड्राईभिग गरेपछि भने एक्लै पनि ड्राईभिग गर्न सकिन्छ । हाईवेमा ड्राईभिग गर्दा कुन Exit कहाँ लिने थाहाँ हुन जरुरी छ र यस्तो अन्यौलता हटाउन ,बाटो देखाउने मेशिन/उपकरण GPS को सहायता लिन सकिन्छ |

अधिकांश सेलफोनमा भएको GPS वा Google maps बाट पनि रोड डाईरेक्सन अवगत गरि जान चाहेको स्थानमा सजिलै पुग्न सकिन्छ । कतिपय अवस्थामा लोकल मार्गबाट कुनै ठाउँमा पुग्दा समेत  GPS  र Google Maps को प्रयोग गर्न सकिन्छ र आजकल त नयाँ मोडेलका गाडीहरुमा GPS पनि साथमै जडान समेत गरिएको पाईन्छ जसले गर्दा अतिरिक्त उपकरण र सेलफोनको प्रयोग गर्ने झंझटबाट समेत मुक्त हुनसकिन्छ ।
      
नेपालबाट अमेरिका आउने नयाँ व्यक्तीहरुले नेपालमा नै सवारी चालक सम्बन्धी ज्ञान र सिप प्राप्त गरी लाईसेन्स समेत लिएर आएमा ड्राईभिग लाईसेन्स निकाल्नको लागी सजिलो हुन्छ । शुरुबाटै  ड्राईभिग सम्बन्धी सबै कुरा सिक्नु पर्ने र गाडी चलाउने बारे नितान्त अनविज्ञ हुनु पर्दैन । नेपालको ड्राईभिग र अमेरिकाको  ड्राईभिग विधीमा केही असमानता रहेतापनि सडकसंकेत सम्बन्धी ज्ञानमा प्रायः समानता रहने साथै ड्राईभिग गर्दा अपनाईने  सामान्य विधी समान नै हुन्छ तथापी नेपालमा गियरवाला गाडी चलाईने हुन्छ र चालक बस्ने सिटको साईड दायाँपट्टी हुन्छ भने अमेरिकामा गियरवाला पुरानो मोडेलका गाडी बाहेक सबै विनागियरका गाडी अर्थात् नेपालमा झै ड्राईभिग गर्दा गियर चेन्ज गर्ने किसिमका गाडी हुँदैनन् ।

ब्रेक र एक्सिलिटरको मद्दतमा सवारीसाधन चलाउने काम गरिन्छ । त्यस्तै सवारीसाधनको ड्राईभिग सिट बायाँ पट्टी रहेको हुन्छ र सडकमा गाडी चलाउने साईड पनि नेपालको भन्दा ठिक अपोजिट हुन्छ ।यसरी केही तौर-तरिकामा फरक भएपनि नेपालबाट चालकअनुमती पत्र राम्रो तरिकाबाट गाडी चलाउन जानेर लिएको व्यक्तीलाई भने केही लिखित र प्राक्टिकल सिप सिकेर सजिलै लाईसेन्स लिन सकिने सम्भावना हुन्छ ।
      
ड्राईभिग कार्य वास्तविक फिल्डमै गर्नु पर्ने हुँदा सैदान्तिक ज्ञानको साथै व्यवहारिक कार्यदक्षतामा निपुर्णता हुनु जरुरी छ र आत्मविश्वासका साथ सवारीसाधन हाँक्नु पर्ने हुन्छ त्यस्तै सवारीसाधनमा देखापर्ने सामान्य समस्या र समस्या पर्यो भने समाधान गर्न सकिने ज्ञान तथा सिप पनि हुनु जरुरी छ जस्तो टायर फेर्न जान्नु, एन्टाफ्रीज चेक गर्ने -राख्ने, ब्रेक फ्लुड,पावरस्टेरिग फ्लुड,windshield washer fluid आदी चेक गर्ने र भर्ने काम,हेडलाईट-ब्रेकलाईटको फ्युज चेन्ज गर्ने, टायरमा हावा भर्ने जस्ता सामान्य  काम गर्न जानेमा यस्ता किसिमका साना-तिना समस्याले गर्दा वर्कसप मै  गएर सेवा लिनु पर्ने बाध्यताबाट केहीहद सम्म छुट्कारा मिल्न सक्छ ।

अत:सामान्य मेकानिक्सले गर्ने काम पनि जानेको भएमा सवारी चालकलाई निकै सजिलो हुने गर्दछ ।अमेरिकामा सामानको मुल्य भन्दा प्राविधिक काम गर्ने प्रतिघण्टा लिईने सर्भिस चार्ज महंगो पर्ने हुँदा सानो-तिनो सेवा लिनको लागी सर्भिस सेन्टरमा धाउनु भन्दा आफैले जानेमा समय र लागत दुवैको वचत हुन सक्दछ । त्यस्तै आफुले चलाउने सवारीसाधनको नियमित सर्भिसिग गरेर अद्यावधिक राख्नु पर्दछ अन्यथा विच सडकमै बिग्रेर समस्या पार्दछ ।सवारीसाधनलाई हेलचक्राई गरिने बानीले कतिपय समयमा ठुलो समस्या र गम्भीर दुर्घटनाको सिकार हुनुपर्ने हुनसक्दछ तसर्थ सवारीसाधनलाई उपयुक्त अवस्थामा राख्ने र ड्राईभिगमा होशियार पुर्याएर यात्रा गर्दा नै गन्तव्यमा सजिलै पुगिने र समयमै सोचेअनुसार काम गर्न सकिन्छ ।
     
अमेरिकाका ५० वटा राज्यहरुमा हावापानी वा मौसममा एकरूपता छैन कतै गर्मीको मात्रा बढी त कतै ठण्डीको मात्रा बढी भने कतै न गर्मी न ठण्डी अर्थात् नेपालमा पोखरा जस्तो हावापानी भएको ठाउँ छ । हुन त नेपाल सानो देश भएर पनि हावापानीमा विविधता छ त्यस्तै अमेरिकामा पनि त्यस्तै विविधता छ हावापानीमा । अहिले Winter Season मा मेरिल्याण्ड, भर्जेनिया,पेन्सलभेन्या, कोलोराडो, न्युयोर्क, अलास्का, मिचिगन, मोन्टना, साउथ डेकोटा, नर्थ डेकोटा,ईन्डियना,वाशिंगटन लगायत राज्यहरुमा हिउँ पर्ने गर्दछ । यस्तो हिउँ परेको बेला सवारीसाधन चलाउँदा सामान्य मौसममा जस्तो सजिलो र कम जोखिम हुने संभावना कम हुन्छ किनकी हिउँ परिरहेको बेला सवारीसाधनहरुलाई गति नियन्त्रण गर्ने देखि स्मुथ तरिकाले सडकमा गाडीलाई अगाडी बढाउन मुस्किल पर्दछ, टायर स्लिप खाने,ब्रेकले राम्ररी काम नगर्ने,स्टेरिग दायाँ-बायाँ गर्दा सही तरिकाले नमोडिने जस्तो समस्या हुन्छ अर्थात् समग्ररुपमा ड्राईभिग गर्दा मुस्किल पर्ने र हिउँ परिरहेको बेला र हिउँ परिसकेको केही दिन पछि हिउँ नपग्लने बेला सम्म निकै सतर्कता अपनाएर सुरक्षित तवरबाट सवारीसाधन चलाउनु पर्दछ ।

यस्तो समयमा सडकको अवस्था सामान्य परिस्थितीको भन्दा पृथक हुने भएकोले सडक दुर्घटनाहरु बढी हुने संभावना हुने भएकोले बढी हिउँ परेको बेला ड्राईभिग नगर्दा नै राम्रो हुन्छ गर्ने पर्ने भए ठुलो पावरफुल भेईकल भएमात्र छोटो दुरीको लागी हिउँ परेको बेला ड्राईभिगको अनुभव भएकोले मात्र चलाउँदा हुन्छ ,भर्खरै पहिलो पटक हिउँ परेको बेला सानो सवारीसाधन भएको व्यक्तीले बढी बाख्लो हिउँ परेको बेला नचलाउँदा नै बुद्धिमानी काम हुन्छ बरु काम मै जानु छ भने पनि बस वा रेलमा चढेर जाँदा ठिक हुन्छ । कतिपय अवस्थामा थोरै हिउँ परिरहेको बेला यात्रामा निस्किदै गर्दा हिउँ पर्ने गतिमा तीव्रता आउँदा विच सडकमै सवारीसाधन सडकमा फस्ने ,मुभ गर्न नसक्ने समस्या आउँन पनि सक्छ तसर्थ यस किसिमको समस्याबाट केही हद सम्म सजक हुनको लागी weather channel बाट weather को बारे पुर्व जानकारी लिन जरुरी छ । 

हिउँ परेको समयमा हिउँलाई पगाल्नको लागी समेत राज्य सरकारले आवस्यकिय सेवा-सुविधा दिन धेरै स्रोत र साधनको खर्च गरिरहेको हुन्छ । सडकमा हिउँ पगाल्न प्रायः नुनजन्य पदार्थ राख्ने/फिजाउने, हिउँ सोरेर सडक छेउ लगाउने, हिउँ सोरेर उठाएर लाने ,ठाउँ -ठाउँमा सुरक्षाकर्मी / प्रहरीहरुको गस्ती बढाउने ,एम्बुलेन्सहरुलाई तयारी अवस्थामा राख्ने, मेडियाबाट न्युजहरु अद्दावधिक गर्ने आदी काम गरिरहेको हुन्छ । यसरी हिउँबाट प्रभावित क्षेत्रमा हिउँ पगाल्नको लागी प्रयोगमा ल्याईने नुनजन्य पदार्थको प्रयोगले हिउँ पगाल्नुको अतिरिक्त सडकको कालोपत्र गरिएको ठाउँमा समेत असर पारी सडक खाल्टा-खुल्टी बनेर पछि मर्मतसंभारको लागी समेत धेरै खर्च गर्नु पर्ने हुन्छ ।

त्यस्तै पानी परिरहेको अवस्थामा समेत सडकलाई राम्रोसँग देख्न नसकिने,गाडीले स्लिप खाने ,ब्रेकले राम्रोसँग काम नगर्ने जस्ता समस्या देखिने हुँदाँ निकै सतर्कता अपनाएर सवारीसाधन चलाउनु पर्दछ ।अर्को तर्फ हुस्सु,कुहिरो लागेको बेला पनि सावधानी पुर्याएर सवारीसाधन चलाउनु जरुरी छ । यसरी हेर्दा प्रतिकूल मौसममा थप सावधानी पुर्याएर ड्राईभिग गर्नु पर्दछ ।
     
यसरी समग्रमा जुनसुकै मौसममा पनि सवारीसाधन चलाउँदा निकै होशियार र सावधानी अपनाउनु जरुरी छ ।सानो गल्तीले गर्दा पनि भविस्यका तपाईका सपनाहरु ,परिवारको सपनाहरु सबै चक्नाचुर हुन पनि सक्छ तसर्थ चालकहरु सधै सचेत रहेर सवारीसाधन चलाउनु पर्ने हुन्छ ।

       
अमेरिकामा सवारी साधनको दुर्घटनालाई न्युनीकरणका गर्नका लागी निकै सतर्कता अपनाईएको हुन्छ जस्तो की राज्य सरकारले प्रायः ईन्टरसेक्सनहरुमा सि.सी.क्यामरा फिट गरेको हुन्छ जस्ले गर्दा ट्राफिक लाईटको नियमलाई उल्लंघन गरि रेडलाईटमा गाडी चलाउनेको सवारी साधनको Name plate no.सहितको फोटो ट्राफिक कन्ट्रोल सेन्टरमा पुग्दछ र मोटर -भेईकल एडमिनिस्ट्रशन डिपार्टमेन्टबाट तोकिएको निश्चित जरिवाना तोकेर पत्र(टिकट) नियम उल्लंघन गर्नेको नाम र ठेगानमा पठाउने  गर्दछ र तोकिएको समयमा उक्त रकम बुझाउनु पर्दछ ।

त्यस्तै सडकको अधिकांश किनारामा समेत गाडी चलाउन पाउने स्पिड लिमिट तोकिएको हुन्छ यस्तो स्पिड लिमिट मुख्य शहर(Down Town),मानव वस्ती,व्यापारिक तथा औद्योगिक क्षेत्र ,सामान्य स्थानमा अलग-अलग कायम गरिएको हुन्छ भने ठाउँ-ठाउँमा सि.सि.क्यामेरा समेत राखिएको हुन्छ र स्पेडिग गर्नेलाई ईन्ट्रसेक्सनमा नियम उल्लंघन गर्नेलाई झै निस्चित रकमको टिकट (जरिवाना)तोकेर पत्राचार गरिन्छ र ताकेता गरिएको मितीमा उक्त रकम बुझाउनु पर्ने हुन्छ ।

यसका साथै सडक नियमलाई पालना गरि चालकहरुले सवारी चलाए -नचलाएको र ब्रेकलाईटले काम गरे-नगरेको, रातीमा हेडलाईट सही तरिकाले बले-नबलेको आदी चेक-जाँचमा प्रहरी खटिरहेका हुन्छन् र चालकले कमिकमजोरी गरेमा चालकलाई Pull over गरि आवस्यक कार्वाही गर्ने काम गरिन्छ जस्तै चेतावनी लेटर दिने,जरिवाना टिकट दिने आदी ।यस्तो काममा प्रहरीहरु चौविसै घण्टा खटिएका हुन्छन् ।यस किसिमले सडक यातायतलाई नियमन गर्ने काम गरिएको हुन्छ ।

बाल्टिमोर, अमेरिका ।

,