मधेसका ८ जिल्ला भ्रमणमा हामीले जे देख्यौं -विश्वप्रकाश शर्मा



नयाँ संविधान जारीपछि नागरिक पंक्तिमा कतै उत्साह त कतै उदासिनता थियो। असोज ३ गते काठमाडौं नयाँ संविधान पाएको उमंगमा थियो र त्यो साँझको दिपावलीले राजधानी उजेलिएको थियो।

तर काठमाडौंबाट केही किलोमिटर तल मधेसमा सोही समयमा हजारौं मानिसको जुलुसले सडकमा टायर बाल्दै थियो। र त्यो बलेको टायरको कालो धुवाँभित्र नयाँ संविधानको सेतो पाना जलाइदै थियो।

गृह जिल्ला झापामा रहेर मैले टेलिफोनमा सम्पर्क गर्दा नेपाली कांग्रेसका मधेसी साथीहरूको घरमा संविधानको स्वागतमा मैनवत्ति बलेको थिएन। र संविधान जलाउन टायर बालेको आन्दोलनमा पनि उनीहरू थिएनन्।

अर्थात न मैनवत्ति बाल्ने नेतृत्वमा, न त टायर बाल्ने नेतृत्वमा नै कांग्रेसका साथीहरू थिए। उनीहरू न संविधान बनाएर विजयी मुद्रामा उभिन सके, न उनीहरूको पार्टी काठमाडौंमा पराजित नै भएको थियो।


तराईका जिल्ला भ्रमणमा निस्किएका बायाँबाट क्रमशः लवराजा सिंह, विश्वप्रकाश शर्मा, बजरंग नेपाली, देवराज चालिसे र मिथिलेस मिश्र। तस्विरः विश्वप्रकाश फेसबुक

चार महिनापछि...
संविधानमा मधेसका लागि पक्कै केही कुरा राम्रा थिए। राईले, लिम्बुले, तामाङले या थारूले उनीहरूको बाहुल्यता रहेको निश्चित भूगोल राज्यका रुपमा पाएका थिएनन्। तर, सप्तरीदेखि पर्सासम्मको भूगोल एक ढंगले मधेसी समुदायको बाहुल्यता रहेको राज्यका रूपमा संविधानसभाले रेखांकन गरेको थियो।

तर किन जल्यो मधेस? किन त्यहाँ आन्दोलन उठ्यो? किन कांग्रेस, एमाले, एमाओवादी मधेसमा डिफेन्सिभ भए? किन चुनाव हारेका राजेन्द्र महतोहरू एकाएक मधेसका नायक बने? वीरगञ्जमा किन ढालियो गिरिजाप्रसाद कोइरालाको सालिक? किन जले कांग्रेस, एमालेका पार्टी कार्यालयहरू? किन दिए ५० भन्दा बढी नागरिकले साहदत?

महिनौसम्म तराई/मधेस ठप्प हुँदा पनि यसबारे न राज्यले समस्याको सम्बोधन गर्यो न आन्दोलनलेनै विश्राम लियो।
यी प्रश्नको उत्तर खोज्न मसहित केही साथीको टिम जलिरहेको मधेस जाने निर्णयमा पुग्यौं।

हामीले पुस १२ गते वीरगञ्जमा पहिलो कार्यक्रम गर्ने निधो गर्यौं। हामी वीरगञ्जको कार्यक्रममा सहभागी हुनु अघिल्लो रात नवलपरासीमा थियौं। जब हाम्रो मोटरसाइकल पथलैयाबाट बिहानै वीरगञ्जतर्फ मोडियौं जीतपुरमा टायर बलिरहेको थियो।
सयौं युवा नारा जुलुसमा थिए। अझै अगाडि बढेर परमानीपुर पुग्यौं। हाम्रो नजर जलिरहेको कान्तिपुर दैनिक बोक्ने गाडीमाथि पर्यो। अघिल्लो दिन जोगवनीमा राजेन्द्र महतो घाइते भएको घटनाको प्रतिक्रियामा त्यो घटना हुनु स्वभाविक थियो। त्यहाँ माहोल एकदमै तनावग्रस्त थियो।

साथीहरूको टेलिफोन आउँदै थियो, वीरगञ्ज तनावमा छ, तपाईँहरू नआउनुहोस्। कोही भन्दै हुनुहुन्थ्यो, तनाव भएपनि कार्यक्रम स्थगन नगरौं।

हामीले हाम्रो मोटरसाइकल रोकेनौं। हामी वीरगञ्ज पुग्यौं। तर घण्टाघरमा भीडन्त भइरहेको देख्यौं। हामी बाटो मोडेर भारतीय वाणिज्य दूतावासको अफिस अगाडिको गल्लीबाट एकपछि अर्को गल्ली हुँदै निर्धारित कार्यक्रम स्थल पुग्यौं।
त्यहाँ करिब ६५ जना साथीहरू हाम्रो पतिक्षामा बसिरहनुभएको थियो। वीरगञ्जको एक होटलस्थित सभाहलमा विषय प्रवेश गर्दै छलफलका लागि मैले चारवटा बुँदा प्रस्तुत गरेँ।

पहिलो, असोज ३ गते जारी संविधानका बारेमा साथीहरूको व्यक्तिगत अभिमत र उहाँहरूको कार्यक्षेत्रका नागरिकको धारणा के छ?

दोस्रो, कांग्रेसको अगुवाइमा आएको दुईबुँदे संविधान संशोधनको प्रस्ताव कति उपयुक्त र कति पर्याप्त छ?
तेस्रो, प्रान्त नम्बर २ को सीमांकन चित्त बुझ्दो छैन भने हेरफेर कुन रूपमा गरे चित्तबुझ्दो बन्न सक्छ?
चौथो, मधेसमा अहिले प्रतिरक्षात्मक अवस्थामा पुगेको हाम्रा पार्टीलाई कसरी नयाँ ढंगले उठाउन सकिन्छ?
यीनै चारबुँदामा बारा र पर्साबाट भेला भएका साथीसँग वीरगञ्जमा पाँच घण्टा लामो छलफल चल्यो। निकै विचारत्तेजक धारणा साथीहरुबाट आए। कार्यक्रमपछि हामी गिरिजाबाबुको सालिक तोडिएको ठाउँमा पुग्यौं।

सांसद हुन अयोग्य राजेन्द्र मधेसको मसिहा बन्दैछन्
भोलिपल्ट रौतहटको छलफल पनि उस्तै गरमागरम भयो। त्यहाँ साथीले सोध्नुभयो, चार महिना बितिसक्यो, तर, किन काठमाडौंबाट हाम्रो कुरा बुझ्न अहिलेसम्म पार्टीका नेता कोही आउनुभएन?

सर्लाहीको कार्यक्रममा पुग्दा सोही दिन बिहान हेमपुरमा एमालेका एक जिल्ला सदस्यको रहस्यमय हत्याले वातावरण आतकंमय थियो। सर्लाहीको छलफल झण्डै ६ घण्टा चल्यो। साथीहरूले भन्नुभयो, ‘यो जिल्लाले राजेन्द्र महतोलाई सांसद हुन पनि योग्य देखेन। मधेसी जनताले उनलाई चुनावमा हराएर पठाएका थिए। तर हाम्रा नेताहरूको अदुरदर्शिताको कारण आज उनी एउटा क्षेत्रको सांसदमात्रै नभएर पुरै मधेसको मसीहा दावा गर्ने वातावरण पाएका छन्।’

साथीहरूको मत थियो, ‘यदि दुई बुँदे संशोधन त्यो संशोधनका रूपमा नभई सुरूमै संविधानमा समाहित गरेर ल्याएको भए मधेसमा आन्दोलन यसरी उठ्ने नै थिएन। अर्थात साथीहरूको निष्कर्ष थियो, आन्दोलनका ती मुद्दा सही थिए। तर, तिनै मुद्दा अपहरित भएर गलत नेतृत्वको हातमा पुग्यो।

महोत्तरी बुझ्न बर्दिवास होइन जलेश्वर पुग्नुपर्छ
सर्लाहीपछि हाम्रो निर्धारित कार्यक्रम १५ गतेका लागि महोत्तरीको जलेश्वरमा थियो। जहाँ हाम्रो पार्टी कार्यालय तोडफोड भएको थियो। तर १५ गतेको कार्यक्रम जलेश्वरमा नगर्न मधेस आन्दोलनका स्थानीय कतिपय नेताहरुले टेलिफोन गरेर हामीलाई दबाब दिए। कांग्रेसका जिल्ला सभापति महेन्द्र राय यादवले पनि टेलिफोन गर्नुभयो।

हामीलाई फोन गर्नेको दबाब के थियो भने, ‘महोत्तरीमा कार्यक्रम गर्ने नै हो भने, बर्दिवासमा गर्नुहोस्, जलेश्वरमा होइन।’ तर हामी दृढ थियौं। पर्सा बुझ्न पथलैया होइन वीरगन्ज पुग्नुपर्छ, महोत्तरी बुझ्न बर्दिवास होइन जलेश्वर पुग्नुपर्छ। धनुषा बुझ्न ढल्केवर होइन धनुषाधाम पुग्नुपर्छ। त्यसैले हामी बर्दीवासमा कार्यक्रम गर्न सहमत भएनौं।

तर स्थानीय प्रहरीले समेत आज लाठी जुलुस भएको कारण त्यही समयमा जलेश्वरमा कार्यक्रम नगरिदिन सुझाव दिएपछि हामीले १५ गतेको कार्यक्रम स्थगित गर्यौं। त्यसपछि म पाँच दिनका लागि पश्चिम क्षेत्रका सुर्खेत, डोटी, दैलेख, अछाम, डढेलधुरालगायतका जिल्ला यात्रामा लागेँ।

फर्केर आएपछि २१ गते फेरि हामीले महोत्तरीमा रोकिएको मधेस यात्रालाई त्यहिबाटै सुरू गर्यौं। पहिला निश्चित गरिएकै बर्दिबासभन्दा ४२ किलोमिटर दक्षिण महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालय महेश्वरप्रसाद सिंह स्मृति भवनमा हामीले कार्यक्रम गर्यौं।

साथीहरूले त्यहाँ उठाएको महत्वपूर्ण प्रश्न थियो, ‘हाम्रो पार्टीले मधेसमा सबैभन्दा बढी सिट जित्यो र ठूलो दल भयो। ठूलो दल भएकै हैसियतले संविधान निर्माणमा नेतृत्व गर्यो। तर संविधान बनाइरहँदा राजेन्द्र महतो या महन्त ठाकुरको कुरा नसुन्नु त एउटा कुरा। तर कांग्रेसका मधेसी सांसदहरुकै कुरा समेत किन सुनिएन?’

जलेश्वरमा एउटा भिन्दै र भयंकर प्रकृतिको पीडा हाम्रा साथीले भोगरे बस्नुभएको थियो र अहिले पनि छ।
आन्दोलन चलिरहेको बेला एक दिन ट्यूसन पढ्न साइकलमा जाँदै गरेका कांग्रेस विद्यार्थी संगठनका एक कार्यकर्ता रोहन चौधरी प्रहरीको गोलीबाट मारिए। घटनाको दुईदिनपछि उनको लास पोष्टमार्टम भयो। उनको लासलाई सद्गतिमा लानु अघि कात्रो किन्न बजार गएका उनका हजुरबुबा गणेश चौधरी पनि प्रहरीको गोली लागेर मारिए।

हजुरबुबा र नाती दुबै जो कांग्रेसका कार्यकर्ता थिए, हाम्रो पार्टीका साथीहरूले उनीहरुलाई हाम्रो भनेर लासको छेउमा जानसक्ने अथवा पार्टीको झण्डा ओडाउन सक्ने वातावरण समेत थिएन। बरू एकातिर कांग्रेसका दुई कार्यकर्ता मधेसमा आन्दोलनकारीहरूको बिचमा जल्दै थिए। अर्कोतर्फ जलेश्वरस्थित कांग्रेस पार्टी कार्यालय तोडफोडको सिकार बन्दै थियो।
साथीहरूले हामीलाई प्रश्न गर्नुभयो, ‘मधेसमा कांग्रेसी भएर जय नेपाल भन्दै जान सान मिलिरहेको छैन र काठमाडौंमा जाँदा मधेसी भएर सम्मान मिलिरहेको छैन। हामी कहाँ जाने?
साथीहरूका यस्ता धेरै प्रश्न, गुनासा, आक्रोश सुन्दै हामीले प्रस्तुत गरेका चार बुँदा उपर एकदमै महत्वपूर्ण सुझावहरू पनि टिप्यौं। र कार्यक्रम त्यही तोडफोड भएको कार्यालयमा झण्डा फहराएर गर्यौं।

जलेका पार्टी कार्यलय हेर्नुहोस् र बुझ्नुहोस् संविधानप्रति मधेसीको धारणः साह
जलेश्वर पछाडि हामी पुग्यौं धनुषाको जनकपुरधाम। त्यहाँको वातावरण झनै प्रतिकूल थियो। पार्टीका जिल्ला सभापति रामसरोज यादवले दुईदिन अघि टेलिफोनमा भनिसक्नुभएको थियो, ‘पार्टी अफिस त पुरै जलाएर खरानी बनाइएको छ। कार्यक्रम कि कुनै होटलमा राखौं?’ मैले भने, ‘होइन सभापति ज्यू पार्टी अफिस खरानी भएपनि आँगन त सग्लै छ नि।’
उहाँले भन्नुभयो, ‘एउटा मिटिङ हल दमकलले पानी हालेर आगो निभाएपछि बचेको छ।’ २२ गते त्यही हलमा करिब ८० जना साथीहरूको उपस्थितिमा हामीले चार बुँदा उपर छलफल गर्यौं।

हलको एउटा कुनामा करिब ६० वटा झण्डा थन्किएका थिए। तीनै झण्डा थिए, जसलाई हातमा बोकेर जुलुसमा जाने तयारी धनुषा कांग्रेसका कार्यकर्ताले केही समयअघि गर्दा कांग्रेसको पुरै अफिस बाहिरबाट घेरेर मधेसकेन्द्रीत आन्देलनकारी दलका नेता कार्यकर्ताले जुलुस निकाल्न दिएका थिएनन्।

जुलुस निस्किएको भए थाहा छैन कस्तो अवस्था र भीडन्त हुन्थ्यो भन्ने। किन कि सञ्चारमाध्यमबाट सबैले सुनेकै हुन् वीरगञ्जमा जुलुस निकाल्दा कांग्रेसको झण्डा खोसेर आन्दोलनकारी मधेसी दलका कार्यकर्ताले जलाइदिएका थिए।
धनुषामा त जुलुस पार्टी कार्यालय बाहिरसम्म निश्कन सकेन। धनुषामा कांग्रेसको करिब १८ हजार क्रियाशिल सदस्य मात्रै छन्। ७ वटा मध्ये पाँचवटा क्षेत्रबाट गत निर्वाचनमा कांग्रेसका उम्मेद्वार विजयी भएका थिए। समानुपातिक र प्रत्यक्ष गरी करिब १५ जना सांसदमात्रै धनुषाबाट छन्। तर मधेस आन्देलन सुरू भएपछि पार्टी कार्यालयसम्म खरानी भएको दृश्य धनुषामा हामीले देख्नुपर्यो।

कार्यक्रममा बोल्दै जनकपुरका पूर्वमेयर बजरगंप्रसाद साहले भन्नु भयो, ‘जलेको यो पार्टी कार्यालय हेर्नुहोस्, र बुझ्नुहोस्, असोज ३ को संविधानप्रति यहाँको नागरिकको धारणा यही हो।’

धनुषाकै छलफलमा बोल्दै हाम्रो भ्रमण टोलीका सदस्य देवराज चालिसेले भन्नुभयो, ‘मेरो पोखरा या अरूको काठमाडौंमा बसेर मधेस बुझ्न नसकिने रहेछ।’ जनकपुरको कार्यक्रम सकिएपछि भोलिपल्ट बिहानै जानकी मन्दीरको दर्शनगरी सप्तरीको राजविराज जाँदै गर्दा मेरो मोटर साइकलमा पछाडि बसेका महोत्तरीका नेता बजरंग नेपालीले विश्लेषण सुनाउनु भयो, ‘मधेसको मुद्दा मुद्दामात्रै रहिरहेको थियो भने यसलाई सम्बोधन गर्न सहज हुन्थ्यो। तर यो मुद्दाले अब सेन्टिमेन्टको रूप लिइरहेको छ। जसका कारण हामी पछि पर्दैछौं र त्यो सेन्टीमेन्टलाई बोक्नेहरू अघि आउदैछन्।’

राजविराज पुग्दै गर्दा त्यहाँ भिन्दै प्रकारको तनावले हामीलाई स्वागत गर्यो। दुई दिनअघि मात्रै प्रहरीका असइ रमेश सुब्बाको हत्या गोइत समूहले गरेको थियो। शसस्त्र समूहले यसरी प्रहरीको हत्या गरेपछि चिसो मौसममै राजविराजमा तातो अनुभूति हुनु हामीलाई अनौठो कुरा थिएन।

तर त्यसको बाबजूद पनि राजविराजमा करिब डेढसय साथीहरूको उपस्थितीमा करिब ६ घण्टा लामो छलफल भयो। तीनै चारबुँदा उपर साथीहरूका थुप्रै रायहरू आए। साँझ राजविराजमै बसेर भोलिपल्ट हामी सिरहाको लाहन पुग्यौं। जो अघिल्लो मधेस आन्दोलनको उद्गम भूमि थियो। लाहानमा लामै छलफल सकिएपछि हाम्रो मधेस यात्रा टुंगियो।

यसबीचमा हामीले ८ वटा केन्द्रीत छलफल, २४ वटा विकेन्द्रीत छलफल गर्यौं। राजधानी आइपुगेर मधेस मिसनको अन्तिम छलफल काठमाडौंमा २८ गते सम्पन्न भयो। जहाँ मधेसबाट राजधानीमा आइ विभिन्न पेशा व्यवसाय र पार्टी राजनीतिमा रहेका कांग्रेसका शुभचिन्तक र साथीहरूको सहभागिता थियो। त्यो भेलामा पनि मधेसमा जुन प्रकृतिको भावना पाएका थियौं त्यही प्रकृतिको दृष्टिकोण र भावना सुन्यौं र टिपोट गर्यौं। समग्रतामा आम कांग्रेसजनको धारणा हामीले के पायौं भने, ‘आन्दोलनलाई यथाशिघ्र सम्बोधन गरेर समाधानमा पुग्नु नै देश, कांग्रेस र मधेसको हितमा छ।’
निश्कर्ष


८ जिल्लाको अध्ययन भ्रमण सकेपछि काठमाडौंमा भएको कार्यक्रममा सहभागीहरू क्रमशः जनकपुरका पूर्वमेयर बजरंग साह, देवराज चालिसे, विश्वप्रकाश शर्मा र बजरंग नेपाली।

 खासगरी संविधान जारी गर्न केहीदिन पर्खिएको भए या पछि ल्याइएको दुईबुँदे संशोधन सुरूमा संविधानमै ल्याइएको भए, सीमांकन गर्दा चुरे र कोशीसहितको प्रदेश नम्बर दुई बनाएको भए सायद ५० नागरिकको अमूल्य जीवन गुम्ने थिएन।
थोरै दूरदर्शिता हामीले राखेको भए, जनताले हराएका राजेन्द्र महतोहरू हिरो हुने अवस्था आउने थिएन। यद्यपि एम्बुलेन्सबाट थुतेर घाइते प्रहरीको हत्या गर्नु, दशगजामा धर्ना दिएर देशमा नाकाबन्दी गर्नु जस्ता घटनाप्रति नागरिकपंक्ति र हाम्रा साथीहरुको गम्भीर विमति थियो। सँगैमा आन्दोलनलाई साम्य पार्ने र नियन्त्रणमा लिने निहुँमा शिरमा गोली हानिएका घटनाप्रति हाम्रा साथीहरुको उत्तिकै आक्रोश थियो।

समग्रमा हामी के निश्कर्षमा पुग्यौ भने, ‘कांग्रेसका दुई हात, पहाड र मधेसको साथ हुनुपर्छ। किनभने, पहाडले एकढंगको पीडा भोगिरहेको छ त मधेसले अर्को ढंगको। मधेस पछाडि परेको छ त पहाड पनि कुनै स्वीट्जरल्याण्ड बनेको छैन। जब कतारबाट बाकसमा बेरिएर कुनै युवकको लास नेपाल आउँछ, त त्यो पहाडीको पनि हुन्छ र मधेसीको पनि। बाकसमा बेरिएर आउने लास मधेसी या पहाडीको नभएर वास्तवमा एउटा नेपालीको हुन्छ। त्यसैले नयाँ संविधानकाप्रति अपनत्वको दायरा बढाउने र सबै भेग, भूगोल र भावनालाई  प्रेम र विश्वासमा बाँधेर अघि लग्न कांग्रेसले विशेष रूपले गम्भीर हुनुपर्छ।
(मधेस यात्रामा कांग्रेसका देवराज चालिसे, बजरंग नेपाली, मिथिलेस मिश्र, शम्भु चौहान, लबराजा सिंह, मोहन पाण्डे, विष्णुमणि घिमीरे र दिलबहादुर बुढाथोकी लगायतका साथीहरू हुनुहुन्थ्यो) भ्रमण सकेर आएका शर्मासँग सेतोपाटीका बिष्णु बुढाथोकीले गरेको कुराकानीमा आधारित)