आर्यनको निर्णयः आफ्नो ब्यानर बाहिरका चलचित्र नगर्ने

कुनै समय बर्षमा एउटा मात्र चलचित्र खेल्दै आएका नायक आर्यन सिग्देलले पछि अफर आएका सबैमा काम गरे । अहिले बर्षमा आर्यनले अभिनय गरेका आधा दर्जन चलचित्र हलमा रिलिज हुन्छन् । 

जसकाकारण आर्यनको क्रेज ह्वात्तै घटेको विश्लेषण गरियो ।कलाकार दर्शकका लागि सधै प्रतिक्षामा रहेको खण्डमा त्यसले उसलाई नै फाइदा पुग्छ । तर, आर्यन लगायतका चर्चित कलाकारले अफर आएका सबै चलचित्र गर्दा त्यसको  प्रत्यक्ष घाटा निर्मातालाई त हुन्छ नै स्वयंम कलाकारलाई पनि भैरहेको छ ।

सन् २०१६ लागेसँगै नायक सिग्देलले अब नयाँ निर्णय गरेका छन् । उनले अबदेखि अफर आएका सबै चलचित्र नखेल्ने निर्णय गरेका हुन् । उनले अब, आफ्नो ब्यानर ‘आर्यन सिग्देल इन्टरटेन्मेन्ट’बाट निर्माण भएका चलचित्र मात्र खेल्ने घोषणा गरेका हुन् ।
आर्यनले निर्माता सुवास गिरीसँग मिलेर ‘नोभेम्बर रेन र क्लासिक’ निर्माण गरिसकेका छन् । 

चाडै नै आर्यन ‘आर्यन सिग्देल इन्टरटेन्मेन्ट’बाट एक्लै चलचित्र निर्माण पनि गर्दैछन् । आर्यनले भने-‘मैले साइन गरिसकेका चलचित्रमा काम गर्छु । यसपछि भने आफ्नो ब्यानर जोडिएका चलचित्र मात्र खेल्छु ।’ यदि कुनै निर्माताले आर्यन सिग्देल इन्टरटेन्मेन्टलाई जोडेर चलचित्र बनाउन चाहेको खण्डमा त्यसमा आर्यनले अभिनय गर्नेछन् ।

यही निर्णयसँगै आर्यनले ऋषि लामिछाने लगायत केही निर्माता-निर्देशकका चलचित्र नगर्ने बताइसकेका छन् । आर्यनको यो निर्णयसँगै अब बर्षमा उनको २ वटा भन्दा धेरै चलचित्र रिलिज हुने संभावना कम देखिन्छ । आर्यनको यो निर्णयलाई उनका फ्यान तथा दर्शकले त स्वागत गर्लान् ? तर, आर्यनले भने यो निर्णयलाई सधैभर कायम राखेको खण्डमा उनलाई नै फाइदा हुनेछ ।