महत विश्वकै उत्कृष्ट अर्थमन्त्रीको उपाधिबाट सम्मानित


काठमाडौं : पूर्व अर्थमन्त्री डा. रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्रीको उपाधिबाट सम्मानित भएका छन् ।

 प्रख्यात अन्तराष्ट्रिय म्यागेजिन "दी बैंकर" ले डा. महतलाई उत्कृष्ट अर्थमन्त्रीको अवार्डबाट सम्मानित गरेको हो ।   लण्डनस्थित दी बैंकर म्यागेजिनले प्रत्येक वर्ष प्रदान गर्ने यो सम्मान पाउने महत एसिया प्रशान्त क्षेत्रकै पहिलो अर्थमन्त्री हुन् । उनी अघिल्लो सरकारमा अर्थमन्त्री थिए।

  नेपालमा गत वैशाखमा गएका दुई ठुला भुकम्पले तहस नहस भएको देशको आर्थिक अवस्थालाई सहज र भूकम्पपछिको असहज परिस्थितिको प्रशासनलाई सुधार गरेको आधारमा महत सम्मानित भएका हुन् |

उनले भूकम्प लगत्तै अजरवैजानको बाकुमा भएको एसियाली विकास बैकको वार्षिक बैठकमा नेपालको भूकम्पपछिको अवस्थाका बारेमा जानकारी दिदै नेपाललाई अन्तराष्ट्रिय समुदायबाट सहयोगका लागि आग्रह गरेका थिए। साथै डा. महतले नै विदेशी दातृ निकायहरुसँग समन्वय गरी भूकम्पपछि देशको आर्थिक कृयाकलाप सामान्य बनाउन र सहयोग जुटाउन दाता सम्मेलन आयोजना गरेका थिए |

तत्कालिन अर्थमन्त्री महतले सम्मेलनबाट उनले साढे चार खर्ब रुपैयाँ सहयोगको प्रतिवद्धता दाताबाट जुटाएका थिए।

भूकम्पपछि नेपालले आपतकालीन सहयोगस्वरुप १५ करोड डलर बराबरको सहयोग प्राप्त गरेको थियो। यो मध्ये १० करोड डलर सरकारको आफ्नै पहलबाट प्राप्त गरेका थियो।

आफ्नो ९०औं वाषिर्कोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी दि बैंकरले डा . महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा गरेको हो ।


बैंकरले विगत १४ बर्षदेखि उत्कष्ठ अर्थमन्त्री र उत्कष्ठ गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ । बैंकरका अनुसार, डा.महत एसिया प्रशान्त क्षेत्र र विश्व क्याटेगोरीमा उत्कृष्ट अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन् ।

 महतको बायोडाटा 

रामशरण महत नुवाकोटको कविलासको एक मध्यम वर्गीय परिवारमा जन्मिएका हुन्। १४ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका महत सन् १९६८ स्नातकमा गोल्डमेडलिस्ट हुन्।

लमजुङ जिल्लामा रहेको विद्यालयमा उनी १९ वर्षको उमेरमै प्रधानाध्यापक भएका थिए। १९७१ मा उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी युनियनको महामन्त्री भएका थिए। महतले १९७२ मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनी त्यहाँ पनि गोल्डमेडलिस्ट हुन्।

पञ्चायती व्यवस्थामा उनलाई विदेश पढ्न अवसर पनि आएको थियो। त्यसलाई उनले अस्वीकार गरेका थिए। बरु १९७३ देखि ७५ सम्म उनलाई बिनाकुनै अभियोग सरकारले नियन्त्रणमा राखेको थियो। त्यहाँबाट निस्किएपछि उनले १९७६ मा विद्यावारिधी गर्न भारतीय सरकारबाट छात्रवृत्ती पाए। उनले गोखले इन्स्टिच्युट अफ इकोनोमिक्स पुनेबाट १९७९ मा विद्यावारिधीको उपाधि लिए।

 युएनडिपीको मूख्यालयमा काम गर्न पुगेका महतले युएनडिपी अन्तर्गत रहेर विभिन्न देशहरुमा काम गर्ने अवशर पाए। नेपालमा राजनीतिक परिवर्तन भएपछि १९९० मा युएनडिपीबाट राजीनामा गरेर उनी पूर्ण रुपमा राजनीतिमा होमिए।

 राजनीतिक परिवर्तनसँगै उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए। उनी आठौ पञ्चवर्षिय योजनाको प्रमुख योजनाकार हुन्, जुन योजनाले निजी क्षेत्रको भूमिकालाई अर्थतन्त्रको एक पिलरका रुपमा लियो।

१९९४ को मध्यावधि चुनावमा लड्नका लागि उनले योजना आयोगबाट राजिनामा दिए। उनी नुवाकोट क्षेत्र नं. २ का निर्वाचित सांसद भए। उनी १९९५ को शेरबहादुर देउवा नेतृत्वको सरकारको अर्थमन्त्री भएका थिए। उनी गिरिजाप्रसाद कोइराला र देउवा दुवै सरकारमा अर्थमन्त्री भएका थिए।

पाँच पटक अर्थमन्त्री भएका महतले ६ पटक नेपालको बजेट प्रस्तुत गरेका छन्। उनी २०४६ सालपछि नेपालको आर्थिक सुधारको कार्यक्रमका शुत्राधार मानिन्छन्। त्यतिबेला उच्च आर्थिक वृद्धि, अर्थतन्त्रमा संरचनात्मक परिवर्तन, नेपालको मानव विकास सूचकांकमा ठुलो सुधार, गरिबीको रेखा कम गर्ने जस्ता महत्वकांक्षी योजना अगाडि सारेका थिए। उनको जोड सार्वजनिक खर्च व्यवस्थापन, बैंक तथा वित्तीय क्षेत्रको सुधार, कर प्रशासनमा सुधार जस्ता विषयमा पनि उत्तिकै रहेको थियो।

 उनी अर्थमन्त्री भएकै बेला सन् १९८९–९९ मा गभर्नर अफ आइएमएफ–वर्ल्ड बैंक बोर्ड अफ गभर्नरका अध्यक्ष चुनिएको थियो।

१९९९–२००० सम्म चलेको कृष्णप्रसाद भट्टराई सरकारको परराष्ट्रमन्त्री पनि महत भएका थिए। महत एउटै क्याबिनटमा दुई पटक अर्थमन्त्री नियुक्त हुने एक्ला व्यक्ति पनि हुन्।

अमेरिकाको एक बैंकमा खाता रहेको आरोप विपक्षीले संसदमा लगाएपछि उनले १९९७ मा अर्थमन्त्री पदबाट राजिनामा दिएका थिए। तर उनीमाथि लागेको आरोप त्यतिबेला पुष्टि नभएपछि उनी फेरि अर्थमन्त्रीमै नियुक्त भए।

उनले २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यरातमा संसद विघटनको निर्णय गरेपछि उनले अर्थमन्त्रीबाट राजिनामा दिएका थिए।

 डा रामशरण महत २०५१ सालपछि संसद सदस्य निर्वाचित छन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। त्यस लगत्तै बनेको सुशील कोइराला नेतृत्वको सरकारका पनि उनी अर्थमन्त्री भएका थिए।

महतले २००५ मा इन डिफेन्स अफ डेमोक्रेसी पुस्तक पनि सार्वजनिक गरेका छन्।