युवा नेताहरु ! अलाप बिलाप कि कृयाकलाप ?- सरगम भट्टराई


आजभोलि एउटा एउटा  भनाई  सुनिरहन  पाईन्छ  मिडियामा : बूढाहरुले देशलाई निकास दिन सकेनन, अब  युवाहरु अगाडि आउनु पर्छ,  युवाहरुमा  रहेको जोश जाँगर र  बिज्ञता  देशको लागि लगानी गर्नु पर्दछ।


जब जब पार्टीहरुका महाधिवेशन नजिक आउछन, यी आबाजहरु बत्तीको पुतली जस्तै एकै चोटी हररर आउछन, जब महाधिवेशन सकिन्छ, त्यहि संगसंगै यी आवाजहरु मथ्थर हुन्छन, कुहिरोको काग जस्तै क्षितिजमा हराउँछन।

नेपालका  सबैजसो राजनितिक पार्टीमा युवाहरुको कमि छैन: नेपाली कांग्रेसमा गगन थापा, प्रदिप पौडेल ,एमालेमा गोकर्ण बिष्ट, योगेश भट्टराई, राम कुमारी झाँकृ एमाअोवादीमा लेखनाथ न्यौपाने, हिमाल शर्मा  आदि आदि।

म प्रश्न गर्न चाहन्छु! तपाईहरुको जोश जाँगर र बिद्दता के का लागि? तालीका लागि जोशिला भाषण गर्दैमा र अन्ध समर्थक र टाट आलोचक मात्र भएर देशले निकास पाउछ भन्ने कुरा एक्काईसौं शताब्दीमा कति जायज़ छ होला? राजतन्त्र समाप्ति पछि पनि भाटतन्त्र र टाटतन्त्र मौलाउनुमा दोषी तपाईं जान्ने सुन्ने युवाहरु नभएर को हुनसक्छ ?

बहुदल हुदै लोकतन्त्रको बाटोमा हिडिरहँदा धेरै कार्यकर्ता नेता बने यो भिडमा तपाईहरु पनि (धेरै जसो) बूढाहरुकै हनुमान बनेर उदाएको हो कि हैन? होईन भने संसारकै राम्रो ब्यवस्था लोकतन्त्रमा कमिशन, घुस, कालाबजारी र नातावाद खुलेयाम संस्थागत हुनुमा तपाईंहरुको दोष छ कि छैन?

हो ,बूढाहरुले देशलाई निकास दिन सकिरहेका छैनन, यीनीहरु बाट धेरै आश पनि गर्नु हुदैन भन्ने तपाईहरुको कुरो जायज़ हो, तर तपाईहरु मध्ये धेरै जना केन्द्रीय नेतृत्वमा गईसक्दा पनि खोई त जनताको पक्षमा आवाज़ उठाएको?खोई त तराई बल्दा निभाएको? अनि खोई त कर्णाली कठ्यांग्रिदा राप बनेको? साँच्चै देश प्रति तपाईहरुको माया पलाएकै हो भने खोई त हुम्लाको दैलोमा पुगेको? देशमा बिकृति र बिसंगति मौलाईरहँदा खोई त युवाको संजाल बनाई संयुक्त खबरदारी गरेको? खोई त राम्रा कामहरुलाई सिर्जनात्मक समर्थन गरेको? खोई त नराम्रा कामलाई शशक्त खबरदारी गरेको?

बिगतलाई हेर्नुस:  बूढा नेताहरुको हँ मा हँ मिलाएर तपाईंहरु कहिले टायर बाल्न जानु भो, कहिले मान्छे मार्नु भो त कहिले सार्बजनिक सम्पत्ति  तोड़फोड़ गर्न पुग्नु भो अनि एउटा गुटको ललीपप पाएर उनैको पक्षपोषण गर्नु भो।

म दोहोर्याएर भन्छु: तपाईहरु घोक्रो फूलाएर दुई घन्टा भाषण गर्नु भन्दा दुई मिनेट सिर्जनात्मक काम गरेको भए अहिले बूढा गोरुहरुलाई दुत्कार्न पर्दैनथ्यो, सहि लाई सहि र गलतलाई ग़लत मात्र भनिदिएको भए आज तपाईहरु शिर्ष तहमा हुनुहुन्थ्यो, लोकतन्त्रको मिठो फल बूँढाहरु, तपाईहरु र तपाईका आसेपासेहरुले हैन आम जनताले खाईरहेका हुने थिए।

यसो भनिरहँदा मैले तपाईंहरुको शिर्ष तहमा पुगेर देश बदल्ने सोंचलाई पक्कै पनि अवमुल्यन गर्न खोजिरहेको होईन मेरो र मेरो उमेरको प्रतिनिधित्व गर्नेहरुको गुनासो यो हो कि,तपाईहरु जस्तो पढ़े लेखेको युवाहरुले भ्रष्ट र यथास्थितिवादी नग्न नेतृत्व लाई न त कुरी कुरी गर्न सक्नुभयो, न त गोकर्ण बिष्टहरु हरुको होष्टेमा हैंसे मिलाउनु भयो,तपाईहरुमा जोश थियो,सोच थियो र अवसर पनि थियो तर बूढाहरुकै दौराको तुना बनेर बस्नु भयो।

आज देशमा पश्चगामीहरुले टाउको उठाउनुमा वर्तमान नेतृत्वको असफलता हो कि होईन?राजनैतिक र निजामति कर्मचारीहरुको भ्रष्ट प्रबृर्ति हो कि होईन?  हो भने भ्रष्टाचारको बिरुद्दमा दह्रो कानुन नहुनाले  आरोपीले सजिलै मुक्ति पाउने र जेलबाट छुट्दा उल्टै फूलमालाले स्वागत गर्ने परिपाटीलाई तपाईंहरुले बढावा दिएको नभए के हो? हैन भने डाक्टर गोबिन्द के.सी.ले शिक्षण अस्पत्ताल बचाउन आमरण अनसन गरिरहँदा तपाईहरुले भ्रष्टाचार र कालाबजारी र छाडातन्न्त्र बिरुद्द खोई आमरण अनसन बसेको?

केही बर्ष अघि दक्षिण एशियाको ग़रीब देश भुटानले बिकासमा गुणात्मक फड्को मारिरहँदा नेपालमा तुईनको जिन्दगी बाँच्नेहरु र कर्णालीमा सिटामोल नपाएर मर्नेहरुको समर्थनमा  खोई तपाईंहरु सड़कमा उत्रेको? दिल्लीमा अरबिन्द केजरीवालले छोटो समयमा दिल्लीको अनुहार फेर्दा, बिहारमा नीतिस कुमारहरुले बिहारको अनुहार बदल्दा, तपाईहरु के गर्दै हुनुहुन्थ्यो कुन्नि?

हो ,बूढ़ों गोरुले सधै जोतिरहन सक्दैन,तिनीहरुलाई अब बिश्राम दिदै युवाहरुले काँध थाप्नुपर्छ तर तिनै बूढा गोरुहरुलाई पोस्न राज्यकोषबाट अरबौं रुपैया भार पर्नेगरि सुबिधा बाँड्दा किन तपाईंहरु बोल्नु हुन्न?किन भुकम्प पिडितहरु हिउँले पुरिएर मरिरहँदा सरकारले अरबौं रुपैयाँ भार पर्ने गरि मन्त्रालय थप्दा आन्दोलन गर्नुहुन्न? यसै गरि अब पनि गफ बाहेक केहि नगर्ने हो भने तरुण गोरुहरुले पनि केहि गर्न सक्ने छैनन।

हो,तपाईंहरुले कार्यकारी पद नपाएर काम गर्न नसकेको भन्नुहोला,एउटा साधारण मान्छेको लागि  तपाईहरु देशको कार्यकारी सरह हो, तपाईंहरुको सत्तासीनहरु संग पहूंच छ, शक्तिकेन्द्रहरु संग पहूँच छ जनतालाई त दुई किलो चामलका लागि पनि सि.डि.ओ. को सिफ़ारिश लिनुपर्छ हाम्रै नेपालका दुर्गम क्षेत्रमा।

युवा नेताहरु हो! हार्नेको कुनै इतिहाँस लेखिदैन, आउनुहोस जीतको बिगुल फुकौं, लोकतन्त्र सर्बांग नांगो नहुदै यसको लाज बचाउन प्रण गरौं,यथास्थितिवादलाई  सिर्जना र साधनाले जितौं ,जनताको मुटुमा बस्ने काम गरौं, तपाईहरुमा बिद्दता र नैतिकता छ, त्यसैले दलगत स्वार्थ त्यागेर सत्यको साथ र असत्यको पर्दाफ़ाश गरौं। देश बर्बाद हुन बाट बचाउन तपाईंहरुले नगरे कसले गर्ने? अब नगरे कहिले गर्ने?

हो नेपाली कांग्रेसमा बूढाहरुकै बोलवाला छ, एमालेमा  पनि बूढाहरुकै चुरिफुरी छ, एमाओवादीमा पनि नेतृत्वमा बूढाहरुकै दवदवा छ, मधेशबादी दलहरुमा पनि बूढाहरुकै चलखेल छ, तर किन तपाई युवाहरुको ठोस कार्ययोजना छैन? किन जोश र होस भएका युवा नेताहरु संग बिद्दता र शुद्धता हुँदा हुँदा पनि प्रतिबद्धता छैन? किन शुसिल कोईरालाहरु हजुरबाको उमेरमा पनि दा बन्छन? किन के.पी.वली र झलनाथ अनि प्रचण्डहरु सदाबहार सभापति र अध्यक्ष हुन्छन? किन गगन थापा,गोकर्ण बिष्ट र लेखनाथ न्यौपानेहरु ओझेल पर्छन? किन उज्वल थापाहरु तपाईको फ्रेम भित्र अटाउदैनन?

त्यसैले युवा नेताहरु हो! संसारकै उत्तम ब्यवस्था लोकतन्त्रको चीरहरण नहुदै गगन थापाहरु सभापतिमा किन नलड्ने? गोकर्ण बिष्टहरु किन पार्टी अध्यक्ष नहुने र लेखनाथ न्यौपानेहरु किन महासचिव नहुने अनि समृद्ध राष्ट्र नेपाल बनाउन किन प्रण नगर्ने? युवा नेताहरु अझै पनि सभापति, अध्यक्ष बन्न पाईन भन्दै अलाप बिलाप गर्ने कि कृयाकलाप गर्ने?

भृकुटी न.पा.६ कपिलवस्तु
हाल : शिकागो अमेरिका