आर्थिक विकासमा सहकारी - प्रकाश श्रेष्ठ





      सहकारी आर्थिक क्रान्तीमा एक कोशेढुंगा सावित हुन सक्छ । विश्व आर्थिक क्रान्तीको ईतिहासलाई गहन अध्यायन गर्ने हो भने अहिले विकसित मानिएका अधिकांश रास्ट्रहरुमा सहकारीले ईतिहासका कालखण्डमा अनेक उतारचढाव पार गर्दै व्यवस्थित र परिमार्जित हुँदै विभिन्न क्षेत्रका महत्वपूर्ण परिवर्तनमा योगदान दिदै खासगरी औद्योगिक क्षेत्रमा नयाँ आयाम कायम गर्न उल्लेखनीय योगदान पुर्याएको छ ।

वर्तमान समयमा विशेषरुपमा विकासोन्मुख देशमा यसको विकास र विस्तार राम्रो सँग हुनसकेमा देश र जनताहरुको आर्थिक विकासमा महत्वपूर्ण फड्को मार्ने देखिन्छ ।अठारौ शताब्दीमा नै सहकारीको विकासले गति लिए पनि उन्नाईसौ शताब्दीमा यो क्षेत्रमा क्रान्तिकारी परिवर्तन भएको देखिन्छ । खासगरी युरोपियन मुलुक र त्यसमा पनि बेलायतमा यसको विकासले व्यापक चर्चा पाएको देखिन्छ साथै एशियन मुलुक जापान ,दक्षिण कोरिया,थाईल्याण्ड आदी मुलुकहरुमा समेत सफलरुपमा प्रयोग गरिएको देखिन्छ त्यस्तै अमेरिका , स्पेन, जर्मन, फ्रान्स, डेनमार्क लगायत मुलुकहरुमा पनि यसको लामो ईतिहास रहेको छ ।

अझै पनि विकसित देशहरुमा कतिपय क्षेत्रमा सहकारी संस्थाहरुको माध्यमबाट वस्तु तथा सेवाहरुको उत्पादन र बजारीकरणको व्यवस्था गर्ने गरिएको ,धेरै व्यक्तीहरुले रोजगारी प्राप्त गरेको साथै देशको कुल ग्राह्स्थ उत्पादन (GDP) मा उल्लेखनीय योगदान पुर्याएको पाईन्छ ।एक तथ्यांकानुसार अमेरिकामा हाल करिब २९२८४ विभिन्न क्षेत्रसँग सम्बन्धित सहकारी संस्थाहरु संचालनमा रहेका छन् भने करिब २ मिलियन (२०लाख) व्यक्तीले रोजगार पाएका छन् त्यस्तै करिब १२० मिलियन सहकारीका सदस्य छन् र जि.डि.पि.को करिब १ प्रतिशत सहकारी क्षेत्रको योगदान रहेको छ ।

 सहकारीको माध्यमबाट विभिन्न क्षेत्रमा व्यवसायिक क्रियाकलाप संचालन गरि उत्पादन र रोजगारी सृजना गर्न सकिन्छ ।प्रायः सबैजसो क्षेत्रमा सहकारीको रुपमा संस्थाहरुको स्थापना गरि पुँजीको समुचित प्रयोगबाट उद्योगधन्दा, विक्तिय कारोबार, उर्जा एवं शक्तीको विकास,कृषि विकास, संचार प्रवर्धन , श्रमिकको अपुर्ती, बजार व्यवस्थापन, पर्यटन एवं सेवा व्यापारको विकास, आदी कार्यमा व्यापक विकास र विस्तार गरेको पाईन्छ ।

खासगरी नेपाल जस्तो विकासोन्मुख देशमा सहकारी ग्रामिण क्षेत्रको आर्थिक उन्नतीलाई बढ़ोत्तरी दिदै छरिएर रहेको पुँजीलाई एकत्रित गरि उत्पादशिल कार्यमा लगाई ग्रामिण तहमै स्वरोजगारी सृजना गर्न र युवाहरुलाई व्यवसाय प्रति लगाब सृजना गर्न समेत महत्त्वपूर्ण कोशेढुंगा साबित हुन सक्दछ ।नेपाल एक कृषिप्रधान देश भएकोले कृषि क्षेत्रको समुचित विकास विना देशले अद्योगिक क्षेत्रमा महत्वपूर्ण परिवर्तन लिन सक्दैन ।त्यसमा पनि ग्रामिण कृषिमा आधारित घरेलु उद्योगमा लगानीको विस्तार हुन सकेमात्र अरु क्षेत्रमा गरिएको उत्पादन फलदायी हुन सक्दछ ।

   सहकारीको विकास क्रमलाई हेर्ने हो भने नेपालको सन्दर्भमा परम्परागतरुपमा खेतीपाती लगाउने तथा भित्राउने क्रममा गरिने पर्म लगाएर काम गर्ने ,सामुहिकरुपमा कृषि कार्य गर्ने ,ढुकुटी प्रथालाई प्रारम्भिकरुपमा लिन सकिन्छ ।सामुहिकरुपमा सामुहीक संलग्नतामा व्यक्तीगत आवस्यकता पुरा गर्ने क्रमबाट विकास भएर यसले हाल शहरी तथा ग्रामिण क्षेत्रमा विशेषरुपमा विक्तिय क्षेत्रमा गुणात्मक र संख्यात्मकरुपले फड्को मारेको छ भन्न सक्ने अवस्था छ ।बैक र विक्तिय संस्थाले गर्ने काम सहकारी संस्था मार्फत हुँदै आएको साथै संचार क्षेत्रमा समेत यसको प्रभाव बढ्दै गएको छ ।

तराई ,पहाड तथा हिमाली क्षेत्रका ग्रामीण स्तरका किसानहरु आपसमा मिलेर सहकारीको सदस्य बनेर पुँजी संकलन गरि विभिन्न किसिमका सहकारी जस्तै सहकारी तरकारी,फलफुल तथा खाद्यान्न उत्पादन, पशुपालन, मत्स्यपालन , सहकारी गोदाम व्यवस्था , हाटबजार व्यवस्था, वचत तथा ऋण लगानी , लघु विक्त कार्यक्रम , उर्जा उत्पादन , जडीबुटी संकलन र प्रसोधन ,चिया संकलन एवं प्रसोधन , उपभोक्ता सहकारी पसल संचालन ,साना तथा घरेलु उद्योगको स्थापना र संचालन ,होटल तथा रेस्टुरेन्ट व्यवसाय आदी संचालन गर्दै आएको पाईन्छ ।

 सामान्य मान्यता अनुसार न्यूनतम आयस्तर भएका कृषक उत्पादकहरुलाई उत्पादनको लागी आवस्यक पर्ने मल,बिउ ,कृषि औजार,सिंचाई ,कृषि ऋण र बजारीकरणको उचित प्रबन्ध गर्नको लागी अझै भन्नुपर्दा उत्पादित वस्तुको वास्तविक अन्तिम उपभोक्ता सम्म पुर्याएर उचित मुल्य प्राप्तीका लागी पनि सहकारीको महत्व रहेको छ । शहरी क्षेत्रमा सहकारी संस्था दर्ता गरि संचालन गर्दा तुलनात्मकरुपमा राज्यले कर लगायत विभिन्न सुविधा दिने भएकोले धनी व्यवसायीहरुले सहकारी एन अन्तर्गत संस्था, उद्यम दर्ता गरि संचालन गरेको देखिन्छ |

जसले गर्दा वास्तविक तल्लो वर्ग सम्म सहकारी संस्थाबाट जुनरुपमा फाईदा पुग्नु पर्ने हो त्यो हुन सकिरहेको देखिदैन तापनि व्यवसायिक क्षेत्रमा भईरहेको यस्तो किसिमको विकासलाई एक किसिमको आर्थिक विकासको आयाम कै रुपमा लिनु पर्दछ । तथापी सरकारको ध्यान विशेषत विकासको क्षेत्रमा पिछाडीको ग्रामिण क्षेत्रलाई आर्थिक उन्नतीको दिशामा पाईला बढाउन अभिप्रेरित गर्नको लागी विशेष पहल हुनु जरुरी देखिन्छ । गाउँघरमा आजकल एक किसिम लहर सहकारी संस्था स्थापना एवं संचालन गर्ने तर्फ देखिन्छ र उत्पादन ,रोजगारी,आयआर्जन ,बचतपरिचालन गर्ने सन्दर्भमा उल्लेखनीय काम भएको पाईन्छ तापनि जति हुनु पर्ने हो त्यती हुन सकेको अवस्था भने छैन ।

 सहकारी शिक्षाको पर्याप्त ज्ञानको अभाव,संस्थाहरु प्रति पर्याप्त जनविस्वासको कमि,पर्याप्त पुँजीको कमि,निजी क्षेत्रसँग बढ्दो प्रतिस्पर्धा,समय-समयमा परिवर्तन हुने नियम-कानुन ,कुशल व्यवस्थापनको अभाव,सरकारी पक्षको भरपर्दो संरक्षणको अभाव ,संस्थाहरु वीच अस्वस्थ प्रतिस्पर्धा,राष्ट्रिय सहकारी बोर्ड लगायत निकायमा अस्वस्थ राजनैतिक नियुक्ति आदीले गर्दा सहकारी संस्थाको विकास र विस्तारमा समस्या वा चुनौती देखा परेको महशुस गर्न सकिन्छ ।

वास्तवमा सरकारले महत्वपूर्ण चासो दिन सक्ने हो भने नेपालको आर्थिक विकासमा सहकारीको विकासले महत्वपूर्ण योगदान पुर्याउन सक्ने कुरामा संका गर्ने ठाउँ छैन ।चाहे त्यो कृषि उत्पादनको क्षेत्र होस् ,चाहे पर्यटनको विकास होस् वा विक्तीय ,संचार,स्वास्थ्य ,शिक्षा ,व्यवस्थित आवास,जलविद्युत एवं सौर्य उर्जा नै किन नहोस् सबै क्षेत्रमा सामुहीक लगानी र सामुहीक हित प्राप्तीमा सहकारीको उपदेहीतालाई अग्रपंक्तीमा उभ्याउन सकिन्छ । पुर्वको ईलामका चिया कृषकलाई चिया खेतीमा व्यवसायीकरण गर्न,कर्णालीको यार्सागुम्वालाई अन्तराष्ट्रिय बजार दिन,तराईका कृषकको उत्पादनलाई उचित बजार र उचित मोल दिन ,हिमालमा बस्ने बासिन्दालाई पर्यटन व्यवसायबाट भरपुर आम्दानी दिन सहकारीको उचित विकास हुन सक्नु पर्दछ ।

हुन त निजी व्यवसाय ,सार्वजनिक कम्पनी ,सरकारी कम्पनीहरुको विकास हुनसकेमा पनि देशमा आर्थिक ,सामाजिक विकास हुन सक्छ तापनि हाम्रो जस्तो विकाशले उचित गति लिन नसकेको मुलुकमा सहकारीताको माध्यमबाट समग्र क्षेत्रको आर्थिक ,सामाजिक,सांस्कृतिक ,शैक्षिक ,राजनैतिक विकास र सबैखाले विकासका मुलधारमा विपन्न वर्गको संलग्नतालाई सुनिश्चित गर्नुको साथै समतामुलक समाजको निर्माण गर्न समेत अत्यान्तै महत्वपूर्ण सावित हुन सक्छ ।

विकसित देशहरुमा समेत ग्रामिण क्षेत्रका किसानहरुलाई सरकारले उचित अनुदान र सहुलिय दिएर सहकारीताको माध्यमबाट उनीहरुले उत्पादन गरेको वस्तु तथा सेवाहरु अन्तिम उपभोक्ता सम्म पुर्याउन प्रोत्साहन गरेको हुन्छ ।किसानहरु मिलेर हाटबजार लगाउने ,वस्तुको प्याकेजीग ,ग्रेडिग,ब्रान्डीग ,ढुवानी गर्ने साथै उपभोक्ता पसल वा कन्भिनियन स्टोर संचालन गर्ने काम गरेका हुन्छन् ।सामुहिकरुपमा कृषि उत्पादन र प्रवर्धन गर्ने साना तथा मझौला हस्तकला र घरेलु उद्योग संचालन गर्ने गरिएको हुन्छ ।

  यसरी हेर्दा सहकारीता र सहकारी संस्था विकसित तथा विकासोन्मुख सबै राष्ट्रको लागी अत्यान्त उपयोगी देखिन्छ ।यसमा पनि हाम्रो जस्तो अति कम विकसित राष्ट्रमा आर्थिक विकासको अभियान्ताको रुपमा यसलाई विकास गर्न सके कम आर्थिक अवस्थाका ग्रामिण किसान,वेरोजगार युवा शक्तीलाई आर्थिकरुपमा सक्षम गराउन र देशलाई औद्योगिक क्रान्तिको दिशामा अगाडी बढाउन सकिन्छ ।

अन्तमा सरकारको स्पष्ट योजना ,निती र कार्यक्रम मार्फत सर्वसाधरणलाई सहकारीमा अनुबन्धीत हुन प्रोत्साहन गर्न सकेमा ग्रामिण क्षेत्रमा छरिएको पुँजीलाई उत्पादन क्षेत्रमा लगाउन सकिने,सर्वसुलभ रुपमा कृषि ऋणको व्यवस्था हुन सक्ने, उत्पादित कच्चा पदार्थले बजार प्राप्त गर्न सक्ने,घरेलु हस्तकला एवं घरेलु उद्योगको विकास हुन सक्ने,वेरोजगारको मात्रा घट्ने ,स्वरोजगारीको अवसर सृजना हुने र कुल ग्राह्स्थ उत्पादनको वृद्दी हुने हुन्छ जसबाट जनताको जिवनस्तरमा वृद्दी भई देश आत्मनिर्भर बन्न सक्दछ ।