काँग्रेसको अधिवेशनका लागि ९ हजार पेशाकर्मी परिचालित हुने




जीवन भण्डारी

काठमाडौं, ६ माघ । नेपाली काँग्रेसको स्थानीयस्तरका अधिवेशनका लागि देशभरीमा झण्डै ९ हजार भन्दा बढी पेशाकर्मीहरु परिचालित हुने भएका छन् ।

यही माघ १५ गते देखि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन अधिकारीका रुपमा विभिन्न पेशाकर्मीहरुलाई खटाईन लागिएको काँग्रेसले जनाएको छ ।

देशभरका तिन हजार एक सय ६५ गाविस र दुई सय १७ नगरपालिकाका तिन हजार ९० ठाउको निर्वाचन गराउनका लागि एक ठाउको कम्तीमा तिन जनाका दरले ९ हजार भन्दा बढी निर्वाचन अधिकारी चाहिने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । “केन्द्रीय महाधिवेशनका लागि खटाईने निर्वाचन अधिकारीहरुको कुरा त छ्ट्टै छ, स्थानीयस्तरका अधिवेशनका लागि मात्रै झण्डै ९ हजार जना चाहिने देखिन्छ” उहाँले भन्नुभयो ।

काँग्रेसले अधिवेशनका लागि शिक्षक, वकिल, प्राध्यापक, पत्रकार लगायतका विभिन्न पेशाकर्मीहरुलाई खटाउने उहाँले बताउनुभयो । बजारहरुमा वकिल, प्राध्यापक र पत्रकारलाई पनि परिचालन गर्ने र गाँउ गाँउमा उनीहरु पर्याप्त नहुने भएकाले शिक्षकहरुलाई नै सवै जिम्मेवारी दिने निर्वाचन समितिको तयारी छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न पार्टीको जिल्ला समिति र शिक्षक संघलाई निर्देशन दिएको छ । समितिका संयोजक राधेश्याम अधिकारीले जारी गर्नु भएको निर्देशनमा हरेक जिल्लाका लागि एक जना निर्वाचन अधिकृत केन्द्रबाट खटाईने र वाँकी जनशक्ति स्थानीयस्तरबाटै व्यवस्था गर्नु पर्ने उल्लेख छ ।

जिल्लामा खटिने निर्वाचन अधिकृतले मतदान अधिकृत तोक्ने विषयमा अन्तिम निर्णय लिने वेहोरा समेत उहाँले स्पष्ट पार्नु भएको छ ।

मतदान अधिकृतहरुको नामावली तयार पार्दा आवश्यक पर्ने संख्या भन्दा १५ प्रतिशत बढी गर्न पनि निर्देशनमा भनिएको छ ।

काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुन्छ । गाविसस्तरको गाँउ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुने भएको छ भने नगरपालिकाको नगरस्तरको अधिवेशन १६ गते पनि गर्न सकिने काँग्रेसको निर्वाचन समितिले व्यवस्था मिलाएको छ । निर्वाचन क्षेत्रस्तरको अधिवेशन माघ २२ र जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गते देखि २३ गते सम्म गर्ने तय भएको छ । रासस