प्रधानमन्त्रीको भाषण र जग हसाई


संसारको कुनै कुनामा हटाउन ( फेज आउट गर्न ) लागिएको ग्यास पाइप लाइन प्रबिधि जनताको घरसम्म पुर्याउने बाचा जलश्रोतका धनी नेपालका प्रधानमंत्री के पी ओलीले गर्दैगर्दा श्रोताहरुले एक रत्ती पनि नपत्याएर कुनै जोक सुने झै गलल्ल हाँस्छन् । सुन्दासुन्दै अनायासै आफ्नो पनि हाँसो फुसकिन्छ तर आश्चर्य केही क्षणका लागि आएको हाँसो अनायासै गायब हुन्छ र त्यसको स्थान असिम पीडा र आत्म ग्लानीले लिन्छ ।

देशको दुराबस्थाले हाम्रो आत्मबिश्वास कतिसम्म गिराएको छ कि संसारको कुनै कुनामा हटाइदै गरेको प्रबिधी देशमा आउँछ है भनेर स्वयं प्रधानमंत्रीले भन्दा पनि हाँसो र ठट्टाको बिषय बन्छ ।

अन्यत्र के कस्तो छ त्यसको बारेमा आ-आफ्नो अनुभव कमेन्टमा साटनु होला । म अमेरिकाको सिकागोमा उपलब्ध यही प्रबिधी बारेमा केही कुरा राख्न चाहन्छु ।

आज भन्दा १० बर्ष अघि पहिलोपल्ट सिकागोमा आफ्नो लागि अपार्टमेंट भाडामा लिदै गर्दा हेर्न लागिएको अपार्टमेंटहरु मध्ये प्राय जसो पुराना घरहरुमा आबश्यक ग्यास सित्तैमा प्रयोग गर्न मिल्ने गरी यो प्रबिधी जडान भएको र तुलनात्मक रुपमा  बिधुतीय प्रबिधीको थप रकम तिर्नु पर्ने नयाँ घरहरु भन्दा सस्तो भाड़ा दर रहेको पाइन्थ्यो । यो के अचम्म भन्दै लिज गर्ने म्यानेजरलाई सोद्धा यो पुरानो प्रबिधी फेज आउट हुन लागेको र सस्तो बिधुतिय प्रबिधिको अघि खासै बचत नगर्ने भएकोले त्यस्तो भएको कुरा सुनाएका थिए ।

त्यो दिनदेखि आज १० बर्ष पछिको दिन जलश्रोतका धनी नेपालका प्रधानमंत्री निक्कै नै हौसीएर संसारको कुनै भागले परित्याग गर्न लागेको प्रबिधिको बारेमा कुरा गर्दा मानौ संसारै जितेजस्तो गरिरहेका थिए | यता दर्शक दीर्घामा बसेका उनकै जिम्मेवार कार्यकर्ताहरु तालि बजाउन छाडेर हाँसोको फोहोरा छुटेको थियो | त्यसदिन यता  प्रधानमन्त्रिको मन्तब्य एउटा जोक भएको छ । हुन पनि किन नहोस् । जबआफ्नै घरका सन्तानलाई एक छाक पेट भरी ख्वाउन नसक्ने अभिभावकले घरमा घोर्ले खसी काटेर टोल छिमेकलाई समेत खुवाउने कुरा गर्छ तब सायद यसरी नै हाँस्छन् होला क्यारे सुन्नेहरु ।

तर यस हाँसो भित्रको बेदनाले प्रश्न गर्दै छ । के हामी प्रधानमंत्री तथा नेताहरु माथि मात्रै हाँसेका हौं कि आ-आफै माथि पनि ?

हावाले बिजुली निकाल्ने र ग्यास पाइप लाइन ओछ्याउने काम उहिलेदेखि अन्यत्र हुँदै आए पनि नेपालमा अहिलेको आधुनिक युगमा पनि हाँसो र ठट्टामा उडाइनु के सामान्य कुरो हो त ?

यति भन्दाभन्दै पनि  बिडम्बना यही नै छ कि जसको आशमा देश चल्छ उनीहरु नै पटक पटक हसाउँछन् ।प्रधानमन्त्री जस्तो उच्च पदमा आसिन ब्यक्तिले बिना योजना बोल्नु हुदैन भन्ने कुरामा यो घटनाले पनि पुष्टि गर्छ | योजना र उखान टुक्का फरक फरक कुरा हुन् भन्ने कुरा हाम्रा प्रधानमन्त्रीले बुझ्नु पनि पर्दछ | अन्यथा यस्ता कुराले जग हसाई भन्दा अरु केहि गर्न सक्दैन |

निरीह जनताहरु आँखा मिच्दै निरंतर हांसेकै छन् । केहि बर्षदेखी हाँस्य कलाकारहरु भन्दै आएका थिए, "नेताहरुका कारण हामीले प्रशस्त खुराक पाएका छौं |"

अब नेताहरुले तिनीहरुका पनि काम खोस्न लागे जस्तो छ |

ओली कै भावमा पर्दामा आउने धुर्मुस भुकम्प पिडित जनतालाई राहत वितरण गर्दै हिडेका छन् | यता प्रधानमन्त्री ओली धुर्मुस जस्तै हसाउदै हिडेका छन् |