जापानमा पनि अफ्ठेरो छ नेपाली बिद्यार्थीलाई


ह्याप्पी बन्धु "बिश्व"

पाल्पाका सुधन जिसी अध्ययनका लागी जापान आएको ४ महिना जति भयो  | जापान ओर्लने वित्तीकै ऊनको वास्तविक जीवन शुरु भयो | प्रथमत: भाषाकै कारण धेरै समय कोठामै वेरोजगार भएर वसे | अगस्ट १७ तारिख जापान छिरेका सुधनले  वल्लतल्ल सेक्टेम्बर १६ तारिख एउटा आरुबाईतो (part time job) पाए | त्यो पनि दुई महिनाका लागी मात्रै ।

 त्यसपछि ऊनि वेरोजगारनै छन् भाषाका कारण आफै खोज्न सक्दैनन् गाक्कोऊ (स्कुल) ले लगाईदिएको छैन |  ऊनि जस्तै झापाकी मनिला गुरुगं पनि बेरोजगारनै छिन अहिलेसम्म ।  दुई महिना अगाडी जापान छिरेकी मनिलाले अझैसम्म एऊटापनि आरुबाईतो पाएकी छैनन | काठमाण्डौको राम्रै चलेको कन्सल्ट्यान्सीबाट जापान छिरेकी मनिलालाई  कन्सल्टेन्सीले भनेको थियो रे "गएको १ हप्तामा एऊटा आरुवाईतो गाक्कोऊ (स्कुल) ले लगाईदिन्छ | अर्को पनि खोज्यो भने २०/२५ दिनमा पाईहालिन्छ | महिनाको २ लाख जति आरामले कमाईन्छ |" त्यहि आसमा ऊनि जापान छिरिन तर जापाननको अवस्था ऊनले अहिले भोगिरहेकी छिन् ।

यिनिहरु त प्रतिनिधि पात्र मात्रै हुन् | जापानमा यस्ता समस्याहरु यहाँका धेरै नेपाली विद्यार्थीहरुले झेलिरहेका छन् ।

एकातिर कामको समस्या अर्कोतिर पढाइ अलपत्र | नेपालमा साहुसँग लिएको चर्को शुल्कको ब्याज, घरपरिवार आदि इत्यादि सोच्दा कमलो मुटु भएकाहरु त डिप्रेसनको शिकारसमेत भएका घटनाहरु छन् । यी मध्य केही प्रतिशतले मात्र आफ्ना उज्ज्वल भविष्य साकार पार्छन भने अधिकांश नेपालमा ब्याज तिर्दै उही कथित् ‘लडाई’ लडिरहेका हुन्छन ।

जापानमा अहिले विद्यार्थी भित्राउने व्यवसाय निकै नै फस्टाउँदो व्यवसाय भएको छ | शहरका गल्ली गल्लीमा रंगिन बोर्डहरु झुन्डाएर च्याउसरि खुलेका शैक्षिक कन्सल्ट्यान्सीहरुले हुलका हुल विद्यार्थीहरु भित्राईरहेका छन्, भाषा विद्यार्थीको रुपमा । देशको बिग्रदो परिस्थिती , वेरोजगारीको समस्याले अनेकन प्रलोभनमा परेर उज्ज्वल भविष्यको परिकल्पना गर्दै ‘भाषा विद्यार्थीहरु’ जापानमा आउने क्रम जारी छ ।

तर जापानको अवस्था भने त्यति सहज छैन भन्ने कुरा त यहाँ आऊनेहरुलेनै भोगिरहेका छन् |  जापानमा भाषा विद्यार्थीहरुको लागि भाषा विद्यालयहरुको वार्षिक अधिकतम शुल्क ६ लाख देखि ७ लाख हो । तर नेपाली विद्यार्थीहरु १० देखि १२ लाखसम्म तिर्न बाध्य भैरहेका छन् । यतिसम्मको चर्को शुल्क पुग्नुको एकमात्र कारण भनेको ‘शैक्षिक दलाल’ हरुको कारणले गर्दा हो । यी शैक्षिक कन्सल्ट्यान्सीहरु एकातिर नेपाली विद्यार्थीहरुबाट समेत चर्को शुल्क असुल्छन भने अर्कोतिर जापानी भाषा विद्यालयबाट पनि प्रति  विद्यार्थी १ लाख देखि २ लाखसम्म असुल्छन ।

हुन त व्यक्तिगत व्यवसायमा आफ्नो-आफ्नो शुल्क हुन पाउनु पर्छ भन्ने विचार बोकेका केही शैक्षिक कन्सल्ट्यान्सीहरु नभएका होइनन् । यो कुरा साँचो पनि हो तर सँगसँगै उनीहरुले नेपालमा गरेका वाचा के जापानमा पुरा गरेका छन् त ? सस्तो कोठाको व्यवस्था, तुरुन्त कामको व्यवस्था तथा यहाँ सम्मकी ‘भाषा विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्ति’ को व्यवस्था समेतको प्रलोभन देखाइएको हुन्छ ।

"खसिको टाऊको झुन्डाएर बाख्री बेच्ने " काममा यिनै दलालहरु सक्रिय भएका पाईन्छन् | यहाँ सम्मकी  जापान आएपछि दिइने होस्टेल सुविधामा समेत निकै नै चर्को शुल्क असुलिरहेका हुन्छन । एकै कोठामा भेडा, बाख्रा सरी ४-६ जनासम्म राख्ने गर्छन र होस्टेलमा जीवनयापनका लागि चाहिने न्युनतम आवश्यकताहरुसमेत पूरा गरिएको हुँदैन । ३-६ घन्टासम्मको स्कूल, त्यसपछि रातभर काम अथवा बिहान-बेलुकीको कामले लखतरान भएर कोठामा फर्किंदासमेत आरामले सास फेर्न नपाउने अवस्थासमेत देखिएको छ |


छात्रवृत्तिको कुरै छोडौं, त्यसको पछि लाग्दै नलाग्दा हुन्छ । धेरै समय जापानमै वसेर जापानवाटै पि एच डि गर्नुभएका डा कृष्ण भेटवाल भन्नुहुन्छ : "जापानमा कुनैपनि भाषा शैक्षिक संस्थाले सिधै नेपाली विद्यार्थीहरुलाई नेपालमै गएर कुनैपनि छात्रवृत्ति प्रदान गरेर शैक्षिक कन्सल्ट्यान्सीमार्फत भाषा विद्यार्थी झिकाउँदैनन्। नेपालमा भएका विद्यार्थीहरु जो आफै भाषा बोल्न राम्रोसँग जान्दैनन् | उनीहरुलाई कसले, किन र के कारणले छात्रवृत्ति प्रदान गर्छ होला आफै विचार गर्नुस। हो, उच्च शिक्षाको तयारी गरिरहेकाहरुले भने जापान दुतावासमार्फत  नेपालमै नेपालीहरुबीच नै प्रतिस्पर्धा गर्न पाउँछन् ।"

जाइका छात्रवृत्ति, जापान सरकारको छात्रवृत्ति अथवा अन्य केही सरकारी कलेजहरुमा यस्तो व्यवस्था छ । भाषा विद्यार्थीहरुले जापान आएपछि यदि भाषामा दक्षता देखाए भने मात्र केही अल्पसंख्यक भाषा विद्यालयहरुले मात्र छात्रवृत्तिको व्यवस्था गरेका हुन्छन । फुर्सतको समय जतिखेर पनि काम गर्नुपर्ने भएपछि प्रायजसो विद्यार्थीहरुले न्युनतम भाषाको ज्ञान बाहेक अन्य केही आर्जन गर्न सक्दैनन् | त्यो पनि केवल काममा जापानिज भाषा नै बोल्नुपर्ने भएकोले र कामको सिलिसिलामा अभ्यास हुने भएकोले ।


यी यावत् समस्याहरु जापानका नेपाली विद्यार्थीहरुको अहिले सामुहिक समस्या भईरहेको छ | कतिपय शैक्षिक कन्सल्ट्यान्सीहरुले त टोकियो र अन्य केही नाम चलेका शहरहरु , नागोया, ओसाकामा भिषा निकाल्न नसकेर गाउँ-गाउँमा समेत उल्लेखनिय रुपमा विद्यार्थीहरु पठाइरहेका हुन्छन | उही प्रलोभन देखाउँदै । त्यस्ता गाउँहरुमा न काम, न पढाइ अति नै मानसिक समस्याहरु झेलिरहेका अनेकन नेपाली विद्यार्थी भेटिन्छन ।

उनीहरु त्यस्तो गाउँमा लगभग २ वर्ष कठिन जीवनयापनपछि केही ‘सेन्मोन गाक्कोउ’ (भोकेसनल क्याम्पस) को लागि मरिमेटेर शहर पस्ने प्रयत्न गर्छन | प्रायजसो मानसिकरुपमा विक्षिप्त भएर आफ्नै देश फर्कन्छन । यही हो करुणादायक कथा व्यथा एबम जापानका भाषा विद्यार्थीहरुको वास्तविक लडाई । अझ कतिपय त गाक्कोलाई बुझाऊनुपर्ने शुल्क बुझाऊन नसकेर शरणार्थी भएर लुकेर वसेका पनि भेटिन्छन् |

                 वास्तविक समस्याको मूल जड झुटको खेती गर्ने शैक्षिक कन्सल्ट्यान्सीहरु मात्र नभई विद्यार्थी स्वयम पनि हुन् । पैसा देखेपछि आँखा चिम्लेर हाम्फाल्ने परिपाटी । कन्सल्ट्यान्सीले जे भन्यो त्यसैमा विस्वास गर्ने | नेपालमै भाषाको राम्रो अध्ययन नगर्ने चलनले गर्दा धेरै बिद्यार्थीहरुले समस्या झेलिरहेका छन् ।

जापानिज भाषावाहेक अन्य भाषाहरु आम रुपमा प्रयोगमा नआऊने भएकोले नेपालमै जापनिज भाषा राम्रो सगँ पढेर आऊन सल्लाह दिनुहुन्छ नेपाल जापान बिद्यार्थी समाजका अध्यक्ष सन्तोष बावु चोखाल ।

 जापानको मुख्य समस्या भाषा हो भाषामा नेपालवाटै दक्ष भएर आऊनेहरुका लागी भने राम्रा राम्रा अवसरहरु भएको चोखाल वताऊछन्  जापान गएपछि केही दु:ख गरौंला, केही सम्पत्ति कमाउँला भन्ने सोच अधिकांस विद्यार्थीहरुमा निहित हुन्छ ।  त्यो स्वाभाविक पनि हो । आएको २ बर्ष जति नेपाली बिद्यार्थीहरु धेरै तनावमा हुन्छन | आऊदा लागेको रिन तिर्नुपर्ने  अनि गाक्कोऊलाई बुझाऊनुपर्ने शुल्कका कारण धेरै समस्यामा परेको पाईन्छ  | अनि त्यसैमाथी जागिर नपाऊनुको अर्को पिडा ।

अधिकांश नेपाली विद्यार्थीहरुको ‘आरुबाइतो’ अर्थात् (पार्ट टाइम काम) मै ध्यान केन्द्रित हुन्छ । काममै केन्द्रित हुनेभएपछि अतिरिक्त क्रियाकलाप तथा अध्ययन मै पनि ध्यान नजाने भएकोले भाषाका कारण यस्तो समस्याहरु भएको हुनसक्छ । जापानमा सरकारी कलेजहरु अथवा केही व्यक्तिगत कलेजहरुमा ‘भाषा’ दक्षता पश्चात निकै नै राम्रा छात्रवृत्तिका अवसर पनि नभएका होइनन आएकाहरु मध्ये धेरैजसोले सफलता पनि प्राप्त गरेका छन्। गाक्कोऊमा भर्ना हुन नपाएर वा भिजा नथपिएर नेपालनै फर्कन पर्ने अवस्था भने कसैलाई नपरेको डा भेटवाल बताँउछन् बैदेशिक भुमिमा आएर पनि जापानकै हैसियतमा भने प्राय जसो सबै प्रगतिपथमा छन् उच्च शिक्षा हासिल गर्नेहरु।

 उच्च शिक्षा हासिल गरेर ईन्जिनियर, पि.एच.डी गरेर रेस्टुरेन्ट व्यवसाय गर्नेहरु पनि नभएका भने अबश्य होइनन तर यो त ऊनिहरुको लगनशिलता र परिश्रमले प्राप्त ऊपलब्धी हो, जापान यस्तो ठाउँ हो जहा मान्छेको कुनै महत्व छैन | महत्व छ त केवल समयको अनि त्यहि समयलाई पैसामा परिवर्तन गर्ने परिश्रमको | परिश्रम गर्ने आटँ भएकाहरु र समयको महत्व बुझ्न सक्नेहरुले राम्रोसगँ भाषा अघ्ययन गरेर आऊने हो भने पक्कै पनि जापान नेपालीहरुका लागी सहज हुनसक्छ |

,