गणतन्त्रको रंगमन्चमा राजावादीहरुको चचहुँई


•सरगम भट्टराई

हिजो अस्ति जस्तो लाग्छ मिडियामा  एउटा समाचार आयो युवराजधिराज पारसको जयजयकार ...त्यस्तै अर्को समाचार थियो: ''राजतन्त्र र हिन्दुराष्ट्र फर्काउन हामी प्राणको आहुति दिन तयार छौं।''

पन्चायती ब्यवस्थामा लगातार रसस्वादन गरिसकेपछि सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द र कमल थापाहरुले  एकाएक टोपी बदले, बहुदलपछि पनि  नेपाली राजनीतिमा तिनै थापा र चन्दहरुकै स्ट्राईकरले काम गरिरह्यो।

२५० बर्ष देखिको राजतन्त्र जब २०६२-६३ को आन्दोलनले ढल्यो, त्यो बेला धेरै मान्छेहरुले चिया पसल देखि चौतारो सम्म खुशी मुद्रामा भनेको मलाई अझै याद छ: अब दरवारीयाहरुका दिन गए जनताका दिन आउने भए।

साँच्चै नै नेपाली जनताले चुनेका प्रतिनिधि हरु प्रधानमन्त्री देखि राष्ट्रपति पनि भए। जनताले राजा मात्र फाल्न चाहेका थिए तर त्यही हूलमा ८०    प्रतिशत भन्दा बढि जनता हिन्दु भएको विश्वको एकमात्र हिन्दुराष्ट्रको पगरी पनि फालियो। खैर ठिकै थियो होला राज्यको कुनै धर्म हुदैन, सबै धर्मको क़दर स्वरुप धर्मनिरपेक्षता अन्तरिम संबिधान देखि २०७२ को संबिधानको प्रस्तावनामै समेटियो।

यसैविचमा देशमा धेरै खाले स्वरहरु सुनिए: संघियता, सिमांकन, आरक्षण आदि आदि।

तराई मधेसमा एक मधेस एक प्रदेश र लिम्बुवान खुम्बुवान जो अझै सेलाएकै छैन। यस्तै संक्रमण कालमा कांग्रेस एमाले र माओवादीका नेतृत्वहरुमा एउटा अनौठो सत्तालिप्सा देखियो, भ्रष्टाचार, काला बजारी, महंगी र नातावाद सिमसारको हलहले भन्दा बढि मौलाए। सत्ता समीकरणको खेलमा सांसदहरु किनवेच भए, कर्मचारीतन्त्रले पनि यहि आडमा आफ़्नो दुनो सोझ्याउन उद्दत रह्यो। राज्यका कुनै पनि अंग भ्रष्टाचारबाट अछुतो रहेनन।

यही संक्रमण कालको फाईदा कमल थापाले उठाए, गणतन्त्रवादीहरुको हरेक विवादास्पद गतिविधिलाई उनले घ्यु थपिदिए, हिन्दुराष्ट्रको एजेण्डा उठाएर राजतन्त्रको वकालत गर्दै गर्दा जनताले चौथों शक्ति बनाईदिदा उनको उर्जा अझ बढ्यो।केहि माओवादी नेताहरुको शिविर देखि सिंहदरवारसम्मको भ्रष्ट कृयाकलाप र मधेसवादी दलका नेताहरुको सत्तालिप्सा र एमाले कांग्रेसका नेताहरुको ग़ैरज़िम्मेवारी राजनीतिलाई कमल थापाले चोर औंला ठड्याएरै ताली पाए।

अहिले राजा आऊ देश बचाऊ भन्नेहरुलाई एउटा सत्यकथा सुनाउन चाहन्छु जसले गर्दा मेरो ५ बर्षे बाल्यकाल देखिको राजतन्त्र प्रतिको बिरोध सधै रहिरहने छ र ती राजावादीहरुको पनि चेत खुल्ने छ भन्ने मेरो ठम्याईं छ। घटना रुपन्देहि जिल्लामा २०४१ साल पुसको हो जब म ५ बर्षको थिएँ | त्यसबेला तत्कालीन प्रधानपन्चको बिरुद्द बोल्ने  २ जना युवकलाई रुखमा बाँधेर पानीसम्म पिउन नदिई लगातार मरणासन्न गरि पिटेको र अन्यायमा परेका ती युवकहरुको रमिते बनेर बस्नुपर्दाको क्षण संम्झदा म अझै पनि भावविह्वल हुन्छु। 

त्यसैबेला मामा घर आउनु भएका मेरो भान्जा दाजु टेकराज पौडेलसंग मैले त्यो घटनामा ती युवाहरुलाई किन पिटेको भन्दा पन्चायती ब्यवस्थामा नागरिकलाई गरिने दमनबारे बताएपछि ममा राजतन्त्र बिरोधि भावना अझ बढेको थियो। त्यसैको अर्को दिन स्कुलबाट एउटा र्याली निकालियो: हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, पंचायती ब्यबस्था ज़िन्दाबाद आदि आदि... म जस्ता ४-५ बर्षे अबोध बालबालिकालाई ५ किमी लामों र्यालीमा दिनभर राजा र पन्चायती ब्यवस्थाको गुण गाउन लगाईन्थ्यो। पुसको जाडोमा विना चप्पल हिड्दा शिसा गडेको मेरो घाउ अझै बेला वेलामा बल्झिरहन्छ।

यी त मेरा आफ्ना साना भोगाई र देखाई हुन, निरंकुश एकदलीय पंचायती ब्यवस्थामा  मौलिक हक़हरुको तेजोवध गरेर कैयौं निर्दोषहरुको प्राण पखेरु उडाएको कति सुनियो कति! भोग्नेहरुलाई कस्तो भयो होला?

२०४६ सालको जनआन्दोलन पछि मौलिक हक़हरुको संबिधानमा ब्यबस्था भएपछि आम मानिसहरुले कमसेकम बोल्न र आलोचना गर्न त पाएका छन् । हो राजनैतिक दल र नेताहरु देश प्रति जिम्मेवारी बोध गरेनन, भ्रष्टाचारमा लिप्त छन,आफ्ना आसेपासेहरु मार्फत देशको ढुकुटीमा ब्रम्हलुट गरिरहेका छन,आम मान्छेहरु अझै पनि उस्तै दुरुस्तै छन्।

म राजावादीहरुलाई चुनौति दिन चाहन्छु : विश्वले बिकास र प्रबिधिमा फड्को मारिरहदा किन नेपालका राजाहरुले स्विट्ज़रल्याण्डमा कालो धन थुपारिरहे? आम जनताका छोराहरुलाई बोल्न लेख्न नदिई आफ्नो सत्ताको थमौती हुन्छ भनेर कसरी सोच्न सके? विश्वमा नेपालीलाई ग़रीब राष्ट्रको सूचीमा राख्न राजसंस्थाको योगदान कम छैन।

राजा आऊ देश बचाऊ भन्नेहरु हो ! आज जनताका छोराछोरीहरु राष्ट्रपति प्रधानमंत्री हुँदा उनीहरु नालायक भए भन्दैमा लोकतन्त्र र गणतन्त्रको बदनाम गर्ने काम बन्द गर।

अहिले पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारसले धर्मको नाममा राजनीति गर्दा भावनामा बग्नु भन्दा पहिले यो सोच्नुस कि राजा विरेन्द्रको वंश नाश हुँदा ज्ञानेन्द्रको सारा परिवारलाई सामान्य चोट सम्म नलाग्नुलाई सुनियोजित हत्या नभनेर के भन्नुहुन्छ ? पारसको अहिलेको निन्याउरो अनुहारले उनले विगतमा गरेको हर्कतलाई नज़रअन्दाज़ गर्न सकिदैन।

हो अहिले कमल थापाले गणतन्त्रको रंगमंचमा आफ्नो प्रहसन देखाईरहँदा नेपाली जनताले राजाको शासनको दुहाई गरिरहन जरुरी छैन।किनकी यीनै कमल थापाहरु हुन जस्ले नेपालीहरुले स्वतन्त्रताको आन्दोलन गरिरहँदा राईफलमा गोली थप्न निर्देश गरिरहेका थिए।

हो गणतन्त्र पछि पनि मान्छेहरु उस्तै दुरुस्तै छन, एउटा सानों काम गर्न गराउन पनि आफ्नो मान्छेकै सिफ़ारिश चाहिन्छ, यहाँ आफ़्नो मान्छे नभए केही हुन्न वा घुस नदिए केहि हुदैन। अर्को तिर भुकम्पले मान्छेहरु कठ्यांग्रिदै गर्दा सत्तासीनहरु आफ्ना हनुमानहरु भर्ती गर्न दलीय भागवण्डामै ब्यस्त छन, अझ भनौं यो लोकतन्त्र बेथितीको पर्यायवाची भैसक्यो!

तर लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।संक्रमणकालको समाप्ति संगै सबै हनुमानहरुलाई जनताले खवरदारी गर्नेछन। अर्थात नागरिकहरुमा एउटा लहर अउनेछ जसले राजनीतिका दुर्गन्धहरु उडाउने छ। लोकतन्त्र। गणतन्त्र रहे मात्र हामीले सहि लाई सहि र ग़लत लाई गलत भन्न सक्नेछौ । अन्यथा फेरि निरुंकुसतन्रमा सेतो हात्ती पालेरै  बस्नुपर्ने छ।
भृकुटी न.पा ६ कपिलवस्तु
हाल शिकागो अमेरिका