प्रचण्ड दम्पतीले अनन्तलाई अस्पतालमा भेटे


काठमाडौँः एक महिनाअघिदेखि थाइल्याण्डको राजधानी बैंककमा उपचार गराइरहेका एकीकृत माओवादीका सचिव वर्षमान पुन  ‘अनन्त’लाई एमाओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र उनकी पत्नी सीताले भेटेका छन् ।

बुधबार पुन पत्नी सभामुख ओनसरी घर्ती मगरसँगै थाइल्याण्डको समितिभेज अस्पताल पुगेका प्रचण्ड र सीताले पुनसँग भेट गरेका हुन् । स्वास्थ्य अवस्था बुझ्न बैंकक पुगेकी सीताले जन्डिस बिग्रिएर लामो समयदेखि बैंकको समितिभेजा अस्पतालमा उपचार गराइरहेका पुन बेडबाट उठ्नासाथ निक्कै बेर टाउकोमा समाएकी छिन् ।

प्रचण्डको ट्वीटरबाट सार्वजनिक भएको तस्बिरमा सीताले पुनको टाउकोमा समाउदा प्रचण्ड गम्भीर बनेर हेरिरहेका छन् । प्रचण्ड र सीताले पुनलाई भेट्दै गर्दा खिचिएका तस्बिरमा  पुन दुब्लाएको देखिएका छन् ।



के समस्याले सतायो पुनलाई

भदौ २८ गते साँझ खाना खाएपछि स्वास्थ्यमा अचानक समस्या देखिएपछि पहिलोपटक पुन ललितपुरको सुमेरु अस्पतालमा  भर्ना भएका थिए ।  सामान्य उपचार गराएर घर फर्किएका पुनको स्वास्थ्यमा सन्तोषजनक सुधार हुन नसकेपछि पुनलाई कात्तिक २५ गते भारत लगिएको थियो ।

भारतको नयाँदिल्लीस्थित मेदान्त सिटी अस्पतालमा उपचार गराएर पुन मंसिर ७ गते नेपाल फर्किएका थिए । दिल्लीमा उपचार गरेर स्वदेश फर्किएको केही दिनमै स्वास्थ्यमा पुनः समस्या भएपछि पुनलाई मंसिर २० गते थाइल्यान्ड लगिएको हो । थाइल्याण्ड लगिएको एक महिनासम्म समेत अस्पतालले डिस्चार्ज नगरेपछि पुनको स्वास्थ्य अवस्था बुझ्न बुधबार सभामुखका साथमा प्रचण्ड र सीता थाइल्याण्ड गएका हुन् ।

नेता पुनलाई वंशाणुगत जन्डिस भएको बताइएको छ । पुनलाई कमलपित्त र कलेजो सुन्निने समस्याले लामो समयदेखि सताइरहेको छ । थाइल्याण्डमा उपचारका क्रममा सुधार भइरहेको सार्वजनिक गरिए पनि पुनको स्वास्थ्यमा उत्साहजनक सुधार आउन सकेको छैन ।

थाइल्याण्डको समितिभेज अस्पतालले पुनको स्वास्थ्यमा देखिएको समस्या अलि जटिल भएकाले अनुसन्धान भइरहेको भन्दै एक महिनासम्म समेत डिस्चार्ज दिएको छैन ।