देश विकासका लागी कुशल व्यवस्थापकको आवश्यकता




प्रकाश श्रेष्ठ

मानविय जीवनमा जब दुई वा दुईभन्दा बढी मानिसहरु आपसमा मिलेर कुनै पनि काम गर्दछन् भने त्यहाँ व्यवस्थापन भन्ने शव्द वा विषय देखा परिहालेको हुन्छ। यो मानविय गतिविधिसँग जोडिएर आउने विषय भएकोले यसको चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

हरेक क्षेत्रमा व्यवस्थापनको महत्वपूर्ण भुमिका रहेको हुन्छ । एउटा परिवारलाई सही ढंगबाट अगाडी बढाउने देखि समुदाय, समाज र राष्ट्रलाई कुशल ढंगबाट प्रगतीपथमा डोराउन समेत सुदृढ व्यवस्थापनको जरुरी हुन्छ । कुनै संस्थाको निश्चित लक्ष्य एवं उद्धेस्य हुन्छ र त्यो प्राप्तीको लागी संगठन निर्माण योजनाको तर्जुमा तथा कार्यान्वयन,कर्मचारी व्यवस्था, संचार व्यवस्था, निर्देशन कार्य, नियन्त्रण कार्य, नेतृत्व कार्य, उत्प्रेरणा कार्य, समन्वय कार्य जस्ता तमाम कार्यहरु संचालन गर्नु पर्दछ | जसलाई हामी व्यवस्थापन भन्ने गर्दछौ ।

प्रत्येक व्यक्तीले जानेर वा नजानेर,बुझेर वा नबुझेर जसरी पनि ब्यस्थापन सम्बन्धी कार्य गरिरहेको हुन्छ । पारिवारिक जीवनमा गरिने व्यवस्थापन कार्य त्यती धेरै प्रणालीगत तवरबाट नहुँदा समेत दैनिक गतिविधीहरु अगाडी बढिरहेका हुन्छन् तापनि जब कुनै व्यवसाय, संस्थाको काममा सरिक भईन्छ त्यतीबेला भने आधारभुतरुपमा व्यवस्थापन सम्बन्धी ज्ञानको जरुरी पर्ने हुन्छ । प्रशस्त स्रोत र साधनहरु भएर पनि कतिपय व्यवसाय, संघ-संस्थाहरुले सफलता हासिल गर्न नसक्नुमा व्यवस्थापकिय कमिकमजोरी दोषी हुन सक्छ । त्यसैले सफलता पुर्वक कुनै पनि क्षेत्रमा काम गर्न व्यवस्थापनलाई एउटा कडीको रुपमा लिने गरिन्छ ।

          उपलब्ध स्रोत तथा साधनहरुलाई निश्चित कामदार-कर्मचारीहरु परिचालन गरि संगठनको लक्ष्य तथा समग्र उद्धेश्य प्राप्ती गर्नको लागी कुशल व्यवस्थापकहरुको आवस्यकता पर्दछ । कुनै पनि संस्था नाफामुलक व्यवसायीक वा सेवामुलक गैर-व्यवसायीक संस्था हुन सक्छ | यी दुवैखाले संस्थामा सुदृढ़ संगठन र कुशल व्यवस्थापकीय कामहरुको विच उचित समन्वय हुन सक्नु पर्दछ । खासगरी व्यवसायीक संस्थाहरुमा Man,Machine,Material,Money,Management (5M)को उपस्थिती रहेको पाईन्छ र यी पाँच वटा मध्ये Management ले नै अरु चारवटा चिजलाई उचित प्रयोग र परिचालन गरि तोकिएको समयमा संस्थाको लक्ष्य प्राप्ती गर्ने जिम्मेवारी पाएको हुन्छ ।

संस्था वा संगठनमा उपलब्ध हुने मानवसंसाधन एउटा सजिव संसाधन हो यसको आफ्नै समस्या, संवेदनशीलता, सिप, ज्ञान, अनुभव, चेतना आदी हुन्छ र उसले संगठनलाई उपलब्ध गराउने समय र दिने योगदानलाई व्यवस्थापनला विशेष ध्यान दिनु जरुरी छ । उचित व्यक्तीलाई, उचित स्थान र उचित समयमा ,उचित काममा लगाउन सक्नु पर्दछ अन्यथा संगठनमा उपलब्ध अन्य निर्जीव संसाधनहरु (Money,Material,machine)को उचित प्रयोग र परिचालन सहीढंगबाट हुन सक्दैन । संगठनको माथिल्लो तहदेखि तल्लो माताहतका तहहरु सम्म कार्य विभाजनको उचित बाँडफाँड , स्पस्ट जिम्मेवारी , अख्तियार तथा उत्तरदायित्व सुम्पने काम, उचित संचार सम्बन्ध कायम गर्ने, उचित नेतृत्व, निर्देशन, नियन्त्रण, उत्प्रेरणा, कार्यमुल्यांकन तथा अनुगमन, समन्वय आदीको व्यवस्था हुनु पर्दछ ।

एउटा कुशल व्यस्थापक त्यतीबेला हुन्छ जतिवेला उ कुशल नेता पनि हुन्छ अर्थात् कुशल एवं सक्षमढंगबाट नेतृत्व प्रदान गर्न काविल हुन्छ ।

     आज हरेक क्षेत्रमा चुनौतीहरु, प्रतिस्पर्धाहरु, अनुकुल तथा प्रतिकूल वातावरणहरु, सबल पक्ष तथा दुर्बल पक्षहरु आदी रहेका छन् । यस्तो अवस्थामा सफलता हासिल गर्नु आफैमा एउटा कठिन कार्य पनि हो तापनि व्यस्थापकिय ज्ञान , वृत्ति विकास तालीम , अनुभव,असल आचरण , साहस , असल व्यक्तित्व आदीबाट सुसोजित व्यक्तीहरुले नेतृत्व गरेको संगठनबाट भने संस्थाले सफलता हासिल गर्न सक्ने कुरामा आशावादी हुन सकिन्छ ।

        व्यवसायिक तथा सेवामुलक गैर व्यवसायिक सामाजिक संघसंस्थाहरु ,सरकारी संघ-संस्थाहरु ,धार्मिक संघ-संस्थाहरुसबै तिर व्यस्थापनको महत्व रहेको हुन्छ त्यस्तै अझै राजनितिक संगठन ,राज्यसंचालनका क्षेत्रहरुमा झनै कुशल व्यस्थापन र कुशल नेतृत्वको भुमिकालाई महत्वपुर्ण किसिमले हेर्ने गरिन्छ । देशको शासनको जिम्मा लिएका हरेक नेताहरु कुशल व्यवस्थापक बन्नु जरुरी छ ।

देशमा उपलब्ध स्रोत-साधनहरु, मानविय संसाधन, पुँजी, प्रविधी आदीलाई सही ढंगबाट परिचालन गरि आमजनताहरुको आवस्यकता र समस्याहरुलाई हल गर्नका लागी निश्चित योजना तर्जुमा गरि उचित कार्यान्वयनका लागी उचित नेतृत्व प्रदान गर्ने काम गर्न सक्नु पर्दछ । राज्य एक किसिमको बृहत् आकार र जटिल संरचनायुक्त संगठन हो । तसर्थ यस्तो संगठनलाई सही ढंगबाट नेतृत्व दिन हरेक नेताहरुमा व्यवस्थापनका आधारभुत ज्ञान, सिप, सिद्वान्तहरुको जानकारी हुनु पर्दछ ।

      सबै भन्दा पहिले त राज्यका लक्ष्य ,उद्धेश्य स्पष्ट तोकिएको भावी योजना तर्जुमा गरिएको हुनु पर्दछ र ती योजना सफल पार्ने निती, नियम, कार्यक्रम, रणनितीहरुको निर्धारण गर्ने, विभिन्न संगठनका संरचना तय गर्ने,कर्मचारीतन्त्रको संरचना तथा कार्यविधीहरुको निर्धारण गर्ने, मानविय संसाधन देखि प्राकृतिक स्रोत-साधन, कच्चा पदार्थहरु, भौतिक संसाधन, पुँजीको संकलन र परिचालन/बाँडफाँड आदी उचित तवरबाट गरि निश्चित output प्राप्त गर्नु पर्दछ ।यस्तो Output बाट जनहित र जनकल्याण अधिकतम हुनु पर्दछ ।

राज्यका विभिन्न क्षेत्रहरुको सही ढंगबाट परिचालन गरि जनकल्याणकारी समाजको निर्माण गर्न उचित नेतृत्व र व्यवस्थापन हुनै पर्दछ । कानुनी क्षेत्र, सामाजिक, राजनैतिक, सांस्कृतिक, व्यवसायीक, शैक्षिक, स्वास्थ्य, मनोरंजन, प्राविधिक आदी सबै क्षेत्रमा व्यवस्थापन र नेतृत्व सबल हुनै पर्दछ । यसरी हेर्दा हरेक क्षेत्रमा अर्थात् सर्वव्यापीरुपमा व्यवस्थापन र नेतृत्वको महत्व रहेको छ ।

चाहे त्यो डाक्टरी पेशा,ई न्जिनियरींग पेशा, राजनितिक पेशा, धार्मिक-सामाजिक , प्राविधिक, संचार , खेलकूद , सैनिक, प्रहरी, मनोरंजन आदी किन नहोस् सबै क्षेत्रमा निश्चित अल्पकालीन , मध्यकालीन , दीर्घकालीन योजना हुन्छन् ,त्यहाँ काम तथा  जिम्मेवारीता,अधिकारको उचित बाँडफाँडको लागी संगठन निर्माण गरिएको हुन्छ , विभिन्न विभागहरु निर्माण वा विभागिकरणको व्यवस्था गरिएको हुन्छ र हरेक विभागको लागी चाहिने  कर्मचारी भर्ना , छनौट, पदस्थापन, तालीम आदीको व्यवस्था गर्ने , कर्मचारीहरु विच उचित समन्वय कायम गर्न संचार सम्बन्धको व्यवस्था गरिएको हुन्छ ।साथै अन्य व्यवस्थापकिय कार्यक्रम संचालन गरिन्छ ख़ास गरि कामदार-कर्मचारीलाई काम प्रति उत्प्रेरणा जगाउने,नेतृत्व गर्ने,निर्देशन एवं नियन्त्रण ,समन्वय आदी सम्बन्धी कामहरु गरिएको हुन्छ ।

अत:यसरी सर्वव्यापीरुपमा प्रयोगमा आउने विषयवस्तु बारेमा देश हाँक्ने नेताहरुमा समेत कमसेकम व्यवस्थापन सम्बन्धी ज्ञान,सिप हुन सकेमा देशलाई सही नेतृत्व प्रदान गर्न सक्षम हुन सक्ने देखिन्छ र देशले आवस्यक गति लिन सक्ने एवं स्रोत र साधनहरुको उचित उपयोग हुन सक्दछ ।त्यस्तै व्यवस्थापनको अति महत्वपुर्ण तत्व समय व्यवस्थापन पनि हो ।

कतिपय काम तोकिएको समयमा हुन नसकेमा कार्यसम्पादन भएर पनि कुनै महत्व नहुन सक्छ जस्तो की गम्भीर दुर्घटनामा परेको व्यक्तीलाई समयमै हस्पिटल पुर्याएर अपरेशन गर्नु पर्ने रहेछ भने त्यो काम ढिला गरि भयो भने अपरेशन गरेर पनि बिरामी बाँच्न नसक्ने अवस्था आउन सक्छ त्यस्तै ग्राहकले मागेको समयमा सामान उपलब्ध हुन सकेन भने त्यो ग्राहक फर्केर गएर अरु ठाउँबाट सामान लैजान सक्छ र अन्य साथीहरुलाई समेत अन्यत्र जान सुझाव दिन सक्छ जसको कारण ती ग्राहकहरु अन्यत्रै पसलमा नियमित ग्राहक बन्न सक्छन् र आफ्ना ग्राहक गुम्न सक्छन् ।

त्यस्तै सरकारले पनि समयमा समस्याग्रस्त क्षेत्रमा राहतका सामग्री पुर्याउने उचित व्यवस्था समयमै गरेन भने पछि राहत पुर्याउँदा धेरैले ठुलो समस्या झेलेको र कतिपय अवस्थामा अकालमा ज्यान समेत गएको हुन सक्दछ ।अत:समय व्यवस्थापन (Time Management)को काम व्यवस्थापकको अत्यान्तै महत्वपुर्ण काम समेत हो ।समयले कसैलाई पनि नपर्खने भएकोले उचित तवरबाट हरेक कामलाई समय छुट्टाएर काम गर्नु पर्दछ ।अत:नेतृत्वमा बस्नेले समय व्यवस्थापनलाई समेत अत्यान्त गंभीर भएर हरेक गतिविधिमा ध्यान दिनु पर्दछ ।
           संक्षेपमा के भन्न सकिन्छ भने चाहे त्यो सानो संस्थाको संगठन संरचना होस् वा ठुलो संस्था अझै समग्र राष्ट्र नै किन नहोस् सबैको लागी उचित व्यवस्थापन ,सही नेतृत्व र उचित समय व्यवस्थापन हुन सक्यो भने मात्र ती सबै संस्थाहरु र रास्ट्रले आफ्नो लक्ष्य वा उद्धेश्य वा मिसन तोकेको समयमा उचित मुल्यमा ,समुचित साधनको परिचालनबाट अधिकतम फाईदा वा लाभ प्राप्त गर्ने किसिमले गर्न सक्दछन् ।त्यसैले हरेक क्षेत्रमा कुशल नेतृत्व संहाल्न सक्ने असल नेता वा व्यवस्थापक हुनु जरुरी छ र वास्तवमा देशलाई सही मार्गमा अगाडी बढाउने व्यक्ती पनि दक्ष व्यवस्थापक वा नेता हुनु पर्दछ ।

जुन नेताले व्यवस्थापन सम्बन्धी ज्ञान प्राप्त गरेको र व्यवस्थापन बिषयमा बिशेष दख्खल राखेको छ त्यो व्यक्तीले देशको नेतृत्व लिन सकेमा देश र जनताको उन्नती र अधिकतम हितको लागी उपलब्ध स्रोत र साधनहरुको परिचालन गर्ने ,आन्तरिक एवं बाहिय स्रोतबाट पुँजी जुटाउने र सबै साधनहरुको समुचित परिचालन र समन्वय गर्ने कार्यमा सफल हुन सक्ने देखिन्छ ।तापनि व्यस्थापनको ज्ञान हुँदैमा पनि सफलतापुर्वक कार्यसम्पादन गर्न सकिन्छ भन्ने कुनै ग्यारेन्टी छैन त्यस्तो ज्ञान नै नभएकोले व्यवस्थापकिय कार्य गर्नै सक्दैन भन्न पनि सकिदैन किनकी व्यवस्थापन सम्बन्धी काम एक किसिमको कला पनि हो जसले काम गर्नको लागी व्यवहारिक खुबी,क्षमता ,व्यक्तित्वले आफ्नो मातहतका व्यक्तीहरुलाई सकारात्मक प्रभाव र उत्प्रेरित गर्न सक्छ त्यो व्यक्ती नै सफल हुन्छ ।वास्तवमा व्यवस्थापन कार्य भनेको अन्य ब्यक्तीहरुबाट काम गराउने प्रकृया पनि हो ।

अत:जसले अधिनस्त कर्मचारीहरुलाई उत्प्रेरित गरि समयमै काम निश्चित योजना र मापदण्ड अनुसार कम लागतमा (कमसेकम लागत)मा अधिकतम संगठनात्मक एवं सामाजिक लाभ हुने गरि सम्पादन गर्न सक्छ त्यो व्यक्ती नै कुशल व्यवस्थापकको रुपमा स्थापित हुन सक्छ ।
      जुनसुकै संगठनको पनि संस्थागत दायित्व र सामाजिक उत्तरदायित्व हुने गर्दछ यी दुवै दायित्व पुरा गर्न सक्षम संगठन लाई नै सफल संगठन र यसलाई नेतृत्व गर्ने व्यवस्थापक नै सफल व्यवस्थापक हुने गर्दछ ।त्यस्तै कुनै पनि देशमा विकासका पुर्वाधारहरु सम्पन्न गर्न र देशको समग्र आर्थिक,सामाजिक,सांस्कृतिक ,राजनितिक जस्ता तमाम क्षेत्रमा आवस्यक सुधार र विकास गर्नका लागी कुशल राजनेताको जरुरत पर्दछ जसलाई समग्र पक्षको विकास कसरी गर्ने व्यवस्थापन के कसरी गर्ने भन्ने समेत सैदान्तिक र व्यवहारीक ज्ञान भएको भएमा सुनमा सुगन्ध समेत हुने हुन्छ ।अत:राजनितीमा पाईला राख्ने व्यक्तीहरुमा व्यवस्थापन र नेतृत्व सम्बन्धी ज्ञान र सिप पनि हुनु जरुरी हुन्छ ।
     अहिले विश्वमा विकसित मानिएका देशहरु अमेरिका ,बेलायत,जापान,स्वियीजरल्याण्ड,चिन ,डेनमार्क ,कतार,दक्षिण कोरिया लगाय थुप्रै देशमा त्यहाँको सरकारको नेतृत्व गर्ने नेताहरुले देशमा उपलब्ध उत्पादनका साधनहरु उपयुक्त परिचालन ,विकास प्रति जनतालाई उत्प्रेरित गराई संगठित रुपमा कार्य गर्न प्रोत्साहन ,दुरदर्शी नेतृत्वको विकास ,कानुनको सफल कार्यान्वयन ,आर्थिक पार्दर्शिता ,सुदृढ संगठन आदीको प्रयोगबाट नै देशको सबै क्षेत्रको तिब्र विकाश गरेको पाईन्छ ।यसरी हेर्दा यी देशको नेतृत्वपंक्ती कुशल व्यवस्थापक थिए भन्न सकिन्छ ।

अर्को तर्फ हाम्रो जस्तो देश अति कम विकशित राष्ट्रको सुचीमा पर्नुको मुख्यकारण देशको नेतृत्व गर्ने तहका नेताहरुले देशमा भएको प्रशस्त प्राकृतिक स्रोतहरुहरुको उपयोग ,प्रचुर युवा जनशक्तीलाई परिचालन ,योजनाहरुको सफल कार्यान्वयन ,कानुनको पालना,ब्यापक भ्रष्ट्रचारलाई न्युनीकरणका ,उन्नत प्रविधीको प्रयोग,स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन एवं संरक्षण ,राजनैतिक सहिष्णुता आदीको कुशल व्यवस्थापन गर्न नसकेका कारणले नै नेपालको विकासले उचित गतिलिन सकिरहेको देखिदैन ।तसर्थ जव सम्म देशको लागी नेतृत्व गर्ने नेताहरु सक्षम व्यवस्थापक बनेर काम गर्दैनन् तबसम्म देश झन्-झन् विकाशबाट पछि धकेलिन्छ ।

बाल्टिमोर अमेरिका