सन् २०१५ मा सगरमाथा आरोहण गर्नेको संख्या शून्य

काठमाण्डौ -एकपछि अर्को प्राकृतिक विपत्ती आउन थालेपछि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण संकटमा पर्न थालेको छ ।सन् २०१५ मा कुनै पनि आरोहीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सकेनन् । सन् २०१४ मा पनि ५ जना नेपाली सहित १ जना चिनियाँ आरोहीले सगरमाथा आरोहण गरेका थिए
हरेक वर्ष विश्वभरबाट करिव तीन सयको हाराहारीमा सगरमाथा शिखरमा पुग्थे । तर, गत वर्ष भने एक जनाले पनि सगरमाथा आरोहण गर्न सकेनन् । सगरमाथामा आरोहणको संख्या शून्य भएको ४० बर्ष यता पहिलोपटक हो । सन् १९७४ यता सगरमाथा आरोहण कहिले पनि शून्यमा झरेको थिएन ।
सन् २०१५ अपि्रल २५ तारिखमा आएको विनाशकारी भूकम्प र त्यसको एक बर्षअघि सगरमाथा क्षेत्रमा गएको हिमपहिरोका कारण आरोहीको संख्या शून्यमा झरेको हो । सन् २०१४ को हिमपहिरोले १६ जना र भूकम्पका कारण १६ जना अरोही तथा गाइडको ज्यान गएको थियो ।पहिलो भूकम्पपछि सरकारले सगरमाथा आरोहणलाई सूचारु गराउने कोसिस गरेको भए पनि भूकम्को दोस्रो झट्कापछि त्यो प्रयास पनि खेर गएको थियो । सगरमाथा आरोहणका लागि बेसक्याम्पमा पुगेका आरोहीलाई तल झारिएको थियो ।
सन् २०१५ मा सगरमाथा आरोहणका लागि ४२ टिमले अनुमति लिएका थिए । पटक-पटक भूकम्पको झड्का गएपछि सयौं आरोहीले आरोहण वीचमै त्यागेर फर्किनु पर्‍यो । भूकम्पको झड्काले आइसफलको बाटो बिगि्रएपछि आरोहण गराउन नसकेको पर्यटन विभागले जनाएको छ । त्यसयता गत अगस्टमा एक जना जापानी आरोहीले सरकारबाट आरोहणको अनुमति लिए पनि उनी आरोहणमा सफल हुन सकेनन् ।
भूकम्पका कारण नेपालको पर्यटन क्षेत्रमा आइरहेको गिरावटको यो सवैभन्दा ज्वलन्त उदाहरण हो । सुरक्षाको कारण देखाउँदै पर्यटकहरु नेपाल आउन हिचकिचाइरहेका बेला नेपाली पर्यटन उद्योगको मुख्य खम्बा सगरमाथा आरोहणले चालिस वर्ष यताको सवैभन्दा खराव परिस्थीतिको सामना गरेको छ ।