काठमाडौँमा रेल चलाएर देखाइदिन्छु -ओली






काठमाडौ, जनवरी १५ /

 प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा विद्युतीय बस चलाउछु भन्दा आत्तिनेलाई रेल चलाएर देखाइदिने बताएका छन् ।

थारु कल्याणकारिणी सभा उपत्यका समितिको आयोजनामा शुक्रबार रङ्गशालाको माघी महोत्सवलाई सम्बोधन गर्दै ओलीले भने, ‘काठमाडौँमा विद्युतीय बस चलाउन अभियान ल्याउँछु भनेपछि केही मानिस आत्तिएका छन् । म केही समयभित्रै काठमाडौँमा विद्युतीय रेल सञ्चालन गरेर देखाइदिन्छु ।’

उनले विकासको रफ्तारलाई कसैले पनि रोक्न नसक्ने बताउँदै पूर्व–पश्चिम राजमार्गलाई चौडा गर्ने, द्रुत मार्गलाई चाँडै पूरा गर्ने, मध्यपहाडी राजमार्गको निर्माण कार्यलाई पूर्णता दिने बताए ।

आरोप प्रत्यारोप लगाउनेभन्दा पनि केही गरेर देखाउने समय आएको बताउँदै प्रधानमन्त्री ओलीले एकताबद्ध भएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा जोड दिए ।

ओलीले काम गरेर देशलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै लोकतान्त्रिक प्रणालीमा जनता निराश हुन नपर्ने बताए । माघीको अवसरमा बोल्दै ओलीले संविधानले सबैलाई समान अधिकार र अवसर दिएको बताए ।

उनले भने, ‘थारु समुदायलाई संविधानले कुनै पनि विभेद् गरेको छैन, अब थारु जनताको विकास, उन्नतिका लागि सरकारले सक्दो सहयोग गर्नेछ ।’

नेपाल र नेपालीले कसैलाई अन्याय नगर्दा पनि नाकाबन्दीका कारण इन्धनलगायतका अभाव झेल्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले यो कठिनाइको अवस्था लामो समय नरहने उल्लेख गरे ।

हिमाल पहाड तराई, पूर्व पश्चिमको कुरा गरिए पनि सबैलाई अधिकार सम्पन्न बनाउने र समृद्धिको दिशामा अघि बढाइने ओलीले उद्घोष गरे । ओलीले देश जनजातिको  र विभिन्न जातजातिको भएकाले सबैको रितीरिवाज  र संस्कृतिलाई आधुनिक र वैज्ञानिकताका आधारमा समृद्ध गर्दै लानुपर्ने बताए ।

‘हामी बहुजाति छौँ, बहुभाषिक छौँ, हामीसँग बहुसंस्कृति छ । यो सबै नै हाम्रो सम्पदा हो,  हाम्रो सम्पन्नता हो ।’ ओलीले भने, ‘ सांस्कृतिक धरोहरले रीतिरिवाजले समाज निर्माण गरेको छ, एकतामा बाँधेको छ । एकताको सूत्रलाई तलमाथि पर्न दिन हुँदैन । आधुनिकता र वैज्ञानिकताका आधारमा अघि बढौँ ।

ओलीले संविधान जनताले जस्तो चाहिन्छ त्यस्तै हुने बताए । कमिकमजोरीहरुलाई हटाएर परिमार्जन गर्ने ठाउँ रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । पुनःनिर्माणका अभियानलाई चाँडै अघि बढाइने बताउँदै उनले भूकम्पपीडित जनतालाई राहत तथा न्यानो कपडा दिन गाउँगाउँमा पुग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा थारु नेताले थारुको पहिचान र संस्कृतिलाई स्मरण गर्ने दिन माघीका अवसरमा शुभकामना व्यक्त गरेका थिए भने थारु समुदायका झाँकी, नृत्य एवम् खानाका परिकार प्रदर्शन गरिएको थियो ।

स्रोत: नयाँपेज