नेतृत्व तहमा गगन थापा


-प्रकाश श्रेष्ठ .

नेपाली राजनितिक आकाशमा भएका हरेक परिवर्तनमा नेपाली युवाहरुले पुर्याएको योगदानलाई अति नै महत्वका साथ हेर्ने गरिन्छ । मुख्यगरि वि.सं २००७ को राणाशासनको विरुद्धमा गरिएको आन्दोलनदेखी २०३६ , २०४६, २०६२/६३ र १० बर्षे जनयुद्ध । यी सबै आन्दोलनमा युवाहरुको स्थान अग्रपंक्तीमा रहेको थियो र थुप्रै युवाहरुले ज्यान समेत गुमाएका थिए र अझै पछिल्ला जनआन्दोलन र जनयुद्धमा घाईते भएका युवाहरु अहिले पनि उचित उपचारको अभावमा मनमा गहिरो घाउ लिएर बाँचिरहेका छन् ।

विडम्बना नै मान्नु पर्छ जुन वर्गले हरेक परिवर्तनमा सक्रिय उपस्थिती देखायो त्यही युवाहरुले हरेक परिवर्तनपछि आफुहरुलाई जिम्मेवार निर्णायक तहमा अत्यन्त न्युन उपस्थिती मात्रै जनाउन सक्यो , अधिकांश राजनैतिक पार्टीहरुमा उमेरले पाकेका र परिवर्तनबाट थाकेका अनुहारहरुकै हालीमुहाली देखियो ।हरेक परिवर्तनबाट खासै सर्वसाधारणहरुले अनुकुल परिवर्तनको महशुष गर्न सकेनन् ।

नेपालका सबै राजनैतिक संगठनहरुमा युवाहरु तला चढ्ने सिढी र भर्यांगको रुपमा प्रयोगमा आए तर आफै माथी तलामा पुगेर कोठाको चापी खोलेर कोठामा सजाईएका कुर्चीहरुमा बसेर देशको परिवर्तनको मार्ग चित्र कोर्ने खासै मौका पाएनन् । यस्तो मौका नपाउनुमा युवाहरु दोषी हुन् या उमेर र सोचले पाकेका नेताहरुको दोष हो ,यो बहस कै विषय बनेको छ तापनि सरसरती हेर्दा लामो समय सम्म  नेतृत्व सम्हालेका नेताहरुले जसरी हुन्छ कुर्चीमा टाँसिएर बस्ने र राजनितिलाई कमाई खाने पेशाको रुपमा स्थापित गरि पुर्खौली सम्पत्तीको रुपमा आफ्ना उत्तराधिकारीहरुलाई हस्तान्तरण गर्न खोज्ने कतिपय राजनैतिक पार्टीहरुमा देखा परेको आचरणको कारणले पनि युवाहरु समाज परिवर्तनको मुलधारमा संलग्न हुन सकिरहेका छैनन् र कतिपय यस्तो किसिमको पार्टीहरुको पद्धतिबाट विक्षिप्त बनेर युवाहरु राजनिती नै छोडेर अरु पेशा अंगाल्ने वा वैदेशिक रोजगारीमा जाने गरेको पनि पाईन्छ ।

आजकल राजनितीक नेतृत्व तहमा युवाहरुको उपस्थिती उल्लेखनियरुपमा हुनुपर्ने बहस चलिरहेको अवस्थामा अहिले चलिरहेको नेपाली काँग्रेसको काठमाण्डौमा फागुन २० देखि २३ गते सम्म सम्पन्न हुन गईरहेको महाधिवेशनले फेरी राजनितीक तहमा एक किसिमको हलचल ल्याएको छ र अहिले गाउँ,नगर र जिल्ला तहको अधिवेशन चलिरहेको छ ।यसै विच केन्द्रिय सभापतिको पदका लागी अहिले तीन जना नेताकै चर्चा -परिचर्चा चलिरहेको छ -शुसिल कोईराला, शेर बहादुर देउवा र रामचन्द्र पौडेल ।अहिले राजनितिक वातावरण यही अवस्थामा रहेमा त्रिकोणात्मक भिडन्त हुने पक्का छ भने परिस्थीतीमा फेरबदल भएमा अर्को गुट वा तीन गुटबाट दुई गुट पनि नहोला भन्न सकिने अवस्था छैन ।

सभापतिको पद बाहेक महामन्त्रीको पदलाई पनि काँग्रेस पार्टीमा महत्वपुर्ण कार्यकारी निर्णायक तहकै पदको रुपमा लिने गरिन्छ र यो पदमा आजका दिन सम्म आईपुग्दा युवाहरुका विच चर्चित युवानेता गगन थापाले  कुनै गुटको पनि प्रतिनिधित्व नहुने गरि युवापंक्तीको आवाजलाई संशक्तरुपमा पार्टीको निर्णायक तहमा पुर्याउने उद्धेश्यका साथ पार्टीको महामन्त्री पदमा उमेदवारी दिने एक किसिमले घोषणा गरेका छन् र उनले अहिलेका सभापतिका आकांक्षी तीन वटै नेताहरुलाई नेतृत्व तहबाट विश्राम लिएर पार्टीको संरक्षक बन्न र हाल महामन्त्री पद लगायत जिम्मेवारी सम्हालेका नेताहरुलाई महामन्त्री पदको आकांक्षी नबनिकन सभापति पदमा उमेदवारी दिएर युवाहरुको समर्थन जुटाउन भनेका छन् साथै अन्तिम अवस्था सम्ममा पार्टीका दोस्रो तहका नेताहरुले सभापति पदमा उमेदवारी दिने घोषणा नगरेमा स्वयं आफैले युवाहरुको प्रतिनिधित्व गर्दै सभापति पदमा उमेदवारी दिने समेत बताएका छन् ।

वास्तवमा गगन थापा लगायत केही युवाहरु काँग्रेस पार्टीका जल्दाबल्दा युवा नेताहरुको रुपमा गणना गरिन्छ जस्तै विश्व प्रकाश शर्मा ,प्रदिप पौडेल,धनराज गुरुग आदी ।युवाहरु मध्ये पनि तमाम युवाहरुलाई एकत्रित गरि युवाहरुको आवाजलाई प्रतिनिधित्व सम्बन्धित निकायमा पुर्याउन सक्ने सामर्थ्य ,अग्रसरता ,साहस गगनमा रहेको विगतका गतिविधिहरुले पनि पुष्टी गर्दछन् ।नेपाली काँग्रेस जस्तो राजाविना प्रजातन्त्रको रक्षा गर्न कठिन संझने पार्टीलाई राजाविना पनि पार्टीले मुलुकमा प्रजातन्त्र र आर्थिक समानताको लागी योगदान पुर्याउन सक्छ भन्दै लोकतान्त्रिक गणतन्त्रको नारालाई सडकमा गुन्जाउँदै पार्टीको नेतृत्व तहलाई औपचारिकरुपले गणतन्त्रको पक्षमा उभिन बाध्य बनाएका थिए ।अहिले आएर नेपाली काँग्रेसले संघियात्मक शासन पद्दतीलाई समेत स्वीकार गरी लामो समय देखि अँगाल्दै आएको संवैधानिक राजतन्त्रलाई आफ्नो पार्टीको सिद्धान्त र विधानबाटै विधिवत हटाएको छ ।

गगन थापालाई कलेज राजनिती देखिनै युवाहरुलाई सकारात्मक प्रभाव पार्न सक्ने प्रखर युवानेताको रुपमा हेर्ने गरिन्थ्यो र २०६२/६३ को आन्दोलनमा खेलेको उनको भुमिकाले झन् उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।उनी हाल नेपाली काँग्रेसको केन्द्रिय सदस्य एवं निर्वाचित सभासद पनि हुन् ।उनले संसदका विभिन्न समितीहरुमा सभापति एवं सदस्य रहेर महत्वपुर्ण भुमिका निभाउदै आएका पनि छन् ।उनले सधै युवाहरुबाटै देश परिवर्तन हुन सक्ने र देशले निश्चित मोड लिन सक्ने कुरामा विस्वास राख्दै आएका छन् ।उनले कुल जनसंख्याको झण्डै ६०% युवा जनसंख्या रहेको देश नेपाल हामी सबैको सकारात्मक सोच र प्रयास हुनसके केही दशकमै विकसित देशमा रुपान्त्रित हुन सक्ने प्रशस्त संभावना रहेको बताउँदै आएका छन् ।

बेला-बेलामा थोरबहुत प्राविधिक त्रुटीहरुले केही विवादमा समेत आउने गरेका गगन थापा युवाहरुको माझ लोकप्रिय हुनुमा उनको युवा र आम जनताहरुलाई समाज परिवर्तनको स्पष्ट मार्ग चित्र बताउन सक्ने क्षमता ,प्रशस्त विषयवस्तुको गहिरो ज्ञान,भविष्य प्रतिको स्पस्ट भिजन ,अन्यौललाई तार्किरुपमा चिर्न सक्ने खुवीले गर्दा नै हो भन्न सकिन्छ । उनी सधै राजनितीमा आशावादी देखिन्छन् र कानुन एवं विधीको शासनमा विश्वास राख्दछन् ।

यसैले होला केही समय पहिला भएको चर्चित गुण्डा नाईके घैटे मारिदा उनले दिएको अभिव्यक्तीले उनी समेत गुण्डाहरुको गतिविधिमा समर्थन जनाउने र उनीहरुबाट सहयोग लिने गरेको भन्ने आरोप समेत लागेको थियो तापनि त्यो आरोपलाई चिर्न उनी सफल भएका थिए र त्यतीबेला उनको जिकिर थियो की सबैखाले अपराधीलाई कानुनी कठाघरामा उभाईनु पर्दछ । एक हिसाबले यो कुरा पनि सही नै मान्न सकिन्छ तर उक्त अपराधीले समाजमा सर्वसाधारणलाई पुर्याएको त्रासिदीपुर्ण गतिविधिको विरुद्धमा प्रहरीले चालेको कदमलाई आम सर्वसाधारणले भने उपयुक्त नै मानेका थिए र यस्तो खाले प्रहरीको कार्वाहीले समाजमा आतंक फैलाउने गुण्डाहरुको बिगबिगी धेरै कम भएको समेत महशुष गरिएको थियो ।

हो हामी कोही पनि शतप्रतिशत विवाद रहित हुन सक्दैनौ र सबैको राम्रो पनि बन्न सक्दैनौ । यसरी हेर्दा गगन थापाले जुनकिसिमको साहस देखाएर १३ औ महाधिवेशनमा युवाहरुको प्रतिनिधित्व नेतृत्व तहमा गराउन खोजिरहेका छन् यो पक्कै पनि नेपाली काँग्रेसमा आबद्द नेता,कार्यकर्ता,समर्थक र सर्वसाधारणलाई मात्र नभएर अन्य पार्टीमा आबद्द व्यक्तीहरु र आमजनताहरुको लागी खुशी र गर्भको कुरा पनि हुने देखिएको छ । एउटा पार्टीमा आउने संरचनात्मक परिवर्तनले सबै पार्टीहरुमा हलचल ल्याउन मद्दत गर्ने हुन्छ र काँग्रेसमा धेरै युवाहरु नेतृत्वमा पुगे भने अन्य पार्टीमा पनि युवाहरु नेतृत्व तहमा पुग्ने संभावना बढी रहन्छ जुन समग्र राजनितिक क्षेत्रका लागी सकारात्मक पाटो बन्ने हुन्छ । यसले गर्दा पनि अहिलेको काँग्रेसको महाधिवेशनलाई देश-विदेशबाट महत्वका साथ हेरिएको छ । अब हेर्न बाँकी छ गगन थापाहरुको यो अधिवेशनमा कस्तो किसिमको पार्टीमा एजेण्डाहरु, निती,कार्यक्रम, भावी योजना, रणनितीहरु रहने छ जसले युवाहरुमा क्रमश:नेतृत्व हस्तान्तरण हुनेछ ।

गगन थापा नेपालका प्रायः सबै दुरदराजमा पुगेर जनताका वास्तविक समस्यासँग साक्षात्कार भएका युवा नेता पनि हुन् । उनी धेरै पटक विदेशहरुमा संचालन हुने जनसम्पर्क समिती लगायतका धेरै कार्यक्रमहरुमा सकृयरुपमा सहभागिताता जनाउने युवा नेताहरु मध्येमा समेत गनिन्छन् । विभिन्न देशका कार्यक्रममा भाग लिनेक्रममा उनले विदेशमा बस्ने नेपालीहरुको अवस्था एवं विदेशमा के कसरी विकास भईरहेको छ त्यस बारे राम्ररी बुझेका पनि छन् । जसले गर्दा उनले पार्टीको नेतृत्व तहमा पुग्न सफल भई आगामी दिनहरुमा सत्तामा पुग्न समेत सफल भए भने अवस्य स्वदेश तथा विदेशमा रहेका तमाम युवाहरुलाई समेट्ने कार्यक्रम ल्याउन र देशलाई अग्रगामी निकास दिने योजनाहरु ल्याउन समर्थवान हुन सक्ने दरिलो आशा राख्न सकिन्छ ।

अत: यो १३ औ अधिवेशनमा गगन र उनि जस्ता धेरै युवा नेताहरु कांग्रेसको नेतृत्व तहमा पाईलाहरु पुग्न सकुन हामी सबैले कामना गरौ र आफ्नो स्थानबाट सक्ने सहयोग पनि गरौ ।

  बाल्टिमोर,अमेरिका