सभापतिकै समर्थनमा म सभापतिमा उठ्छुः पौडेल

काठमाडौ-नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको आगामि १३ औं महाधिवेशनमा आफ्नो उम्मेदवारी सिंगो पार्टीको हितमा रहेको भन्दै त्यसमा बर्तमान पार्टी सभापति सुशील कोइरालाको समेत समर्थन रहेको दावी गरेका छन ।

राजधानीमा अायोजित एक कार्यक्रममा उनले भने,‘ देशभरीका साथीहरुले मबाट अपेक्षा गरेका छन । मेरो निष्ठा, योगदान, आवश्यकता र पार्टीलाई जिवन्त बनाउन मलाई सभापति बन्नु पर्छ भनेर देशैभरीको साथीहरुले भन्नु भएको छ । म अहिले छलफलमा छु, केही दिनभित्रै मेरो उम्मेदवारी स्पष्ट हुन्छ । मेरो उम्मेदवारी पार्टीको आवश्यकता हो । यसमा बर्तमान सभापति सुशील कोइरालाको समर्थन हुन्छ ।’

पौडेलले भारतमा गान्धी परिवार रहे पनि प्रधानमन्त्री र पार्टी सभापति अरु ब्यक्ति पनि बनेको उदाहरण प्रस्तुत गर्दै त्यसबाट पार्टीमा आलोपालो हुन्छ भन्ने सिक्न आग्रह गरे ।

उनले भने,‘ गिरिजाबाबुले पनि उहाँलाई प्रस्ताव गर्दा किसुनजी हुनु हुन्छ भनेर छाड्नु भएको थियो । पार्टीमा यो परम्परा बीपी कोइरालाले सुरु गर्नु भएको हो । यसलाई सबै स्मरण गर्नु पर्छ ।’

प्रधानमन्त्रीको निर्वाचन जस्तै ढिला उम्मेवारी घोषणा गर्दा कतै सभापति पनि फुत्किने हो कि भन्ने जिज्ञासामा पौडेलले ‘समयमा डिसिजन गर्न नसक्दा अप्ठ्यारो पर्न सक्ने’ भन्दै चिन्ता ब्यक्त गरे ।