विद्युत खपत कम गर्न सरकार ल्यायो यस्तो योजना


काठमाडौं, १७ माघ -सरकारले विद्युत खपत कम गर्न ‘जनसहभागितमा आधारित सौर्य सडक बत्ती कार्यक्रम’ घोषणा गरेको छ। उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले आइतबार पत्रकार सम्मेलन गरी नविकरणीय उर्जाको प्रयोगबाट विद्युत भार घटाउन सो कार्यक्रमको घोषणा गरेका हुन्। माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम सो कार्यक्रम घोषणा गरिएको मन्त्री थापाले जनाए। 

मन्त्रिपरिषद बैठकले ‘जनसहभागितमा आधारित सौर्य सडक बत्ती कार्यक्रम’ को कार्यविधि स्वीकृत गरेको थियो। कार्यविधि अनुसार चालु आर्थिक वर्षमा सरकारबाट आवश्यक रकम विनियोजनको व्यवस्था मिलाइने उनले जानकारी दिए। कार्यक्रम कार्यान्वयन भएपछि राष्ट्रिय प्रसारण लाइनबाट सञ्चालित होलोजिन बत्ती, सिएफएल ल्याम्प, भ्यापर ल्याम्प लगायतका बत्तीलाई सौर्य सडक बत्तीको माध्यमबाट प्रतिस्थापन गर्दै जाने योजना रहेको मन्त्री थापाले जनाए । 

सरकारले महानगरपालिका क्षेत्रमा ६० प्रतिशत, स्थानीय निकायबाट २५ प्रतिशत, उपभोक्ताबाट १५ प्रतिशत लागत व्यहोर्ने बताइएको छ । यसैगरी महानगरपालिका बाहेकको अन्य स्थानीय निकाय हकमासरकारबाट ६५ प्रतिशत, स्थानीय निकायबाट २० प्रतिशत, उपभोक्ताबाट १५ प्रतिशत लागत व्यहोर्ने गरी कार्यक्रम सञ्चालन हुने मन्त्री थापाले जनाए। कार्यक्रमको समन्वय तथा सहजीकरण गर्न केन्द्रमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री वा मन्त्रीले तोकेको राज्य मन्त्री वा सहायक मन्त्री संयोजक रहने गरी १३ सदस्यीय केन्द्रीय कार्यक्रम समन्वय समिति गठन गरिएको कार्यविधिमा उल्लेख छ ।