स्वाभिमान बन्ने कि नेताको हनुमान ? -सरगम भट्टराई




हुन त नेपालले लोकतान्त्रिक गणतन्त्रको पगरी भिरेको झण्डै एक दशक हुनै आँट्यो | तीन करोड  नेपाली जनताका सपनाहरु ढकमक्क फूल्ने बेला भईसक्यो |

जनताले तत्कालीन राजा बिरुद्द दमदार आन्दोलन गरे | अजेय शक्ति जनताको अगाडि राजाको के लाग्थ्यो ? कहिल्यै नउठ्ने गरि राजतन्त्र ढल्यो अनि त्यहि बेला धेरै नेपालीको आशाको धरहरा खडा भयो: सुन्दर, सभ्य र विकसित नयाँ नेपालको ।

         सतीको श्राप परेको देश भन्थे बुढापाकाहरु यहाँ फेरि पनि केहि सकारात्मक परिवर्तन भएन | भयो त केहि टोपी बदलेका पुरानै लोभिपापीहरुको, केहि नव युवराजहरु र उनका हनुमानहरुको।

यस लेखमा बिभिन्न खाले हनुमानहरुको बारेमा चर्चा गर्न खोजिएको छ, यद्यपि सबै हनुमानहरुको चर्चा गर्न यहाँ सम्भव छैन ।

 पंचायतदेखि बहुदल हुदै गणतन्त्रको आजसम्मको अवस्थामा यिनै हनुमानहरुको बोलवाला छ र हरेक ब्यवस्थामा सत्ता र शक्ति मार्फ़त रसस्वादन गरिरहेका छन। राजनैतिक पार्टी, निजामती कर्मचारी, गैर सरकारी संस्था, ब्यापारिक फर्म र सेना पुलिस सबैमा ब्याप्त यो हनुमानतन्त्र ऐजेरु जस्तै फैलिरहेको छ।

माथि उल्लेखित हनुमान मध्ये राजनितिक पार्टीका हनुमानहरु सबै भन्दा घातक भएको मेरो निष्कर्ष हो।

नेता नीतिले चल्नुपर्छ तर आजसम्म त्यो नभएर आफू अनुकुल नीति नै परिवर्तन गरिन्छ। राजनैतिक हनुमानतन्त्रका पछिल्ला उदाहरण हेरौं: राष्ट्रियताको कोपभाजन गरेर सत्ता बचाउन संबिधानकै मर्मको निर्मम बलात्कार गरी मन्त्री र मन्त्रालय बढाउँदा सत्तासिन पार्टीका हनुमानहरु भन्छन: यो सरकारको बाध्यता हो। यसो भनिरहँदा उनीहरुको हनुमानतन्त्रले कुनै भागवण्डामा आफ्नो हिस्सा सुरक्षित गरिरहेका हुन्छन। अर्थात सत्य के हो भने तिनै हनुमानहरु सरकारको प्राण भईरहेका हुन्छन।

आफ़्नो पार्टी र नेतृत्वले गरेका खराब काम कारवाहीलाई अहिले सम्म कुनै पार्टीका कार्यकर्ताले अवज्ञा गरी कडा बिरोध गरेको सुन्न नपाईनु हनुमानतन्त्र नभएर के हुन सक्छ?

       आज मुलुक नाकावन्दीले गर्दा तहस नहस छ।एउटा सिलिण्डर ग्याँसलाई दश हजारमा ब्ल्याकमा किन्नु पर्ने अवस्था छ,पेट्रोलको लाईनमा मान्छेहरु ५ किलोमिटर लामो लाईन बस्न बाध्य छन,भुकम्प पीड़ितहरु पुसको जाडोमा खुला आकास ओढेर बाँचिरहेका छन, भोकमरी र महामारी बढ़्दो छ तर सरकार टुलुटुलु हेरिरहेको छ, सत्ता टिकाउन मन्त्रालय टुक्र्याउदै मन्त्री थप्दै छ, मधेस ४ महिना देखि जलिरहेको छ तर काठमांडौले तापिरहेको छ।सरकारका मन्त्रीहरु उद्घाटन र समापनमा उखान टुक्का भनेर समय खर्च गर्छन।
  संबैधानिक निकायमा भागवण्डा गरि आ-आफ्ना नजिकका ब्यक्ति नियुक्त हुने, कुटनैतिक निकायहरुमा भागबन्डा नमिल्दा नि निकाय ख़ाली हुने तर भुकम्प पिडित एउटा जिल्लाको पुरै संरचना बनाउन पुग्ने अरबौं रकम मन्त्रालय टुक्राएर ढुकुटी रित्याउदा कार्यकर्ता पंक्ति चूँ नबोल्नु हनुमानतन्त्र नभएर के हो ?

           केहि समय अघि अख़्तियारले केहि शंकास्पद भ्रष्टाचारीको सम्पत्ति रोक्का गरि छानबिन शुरु गर्दा ठूलै तरंग मच्चियो, अख्तियार प्रमुखलाई महाअभियोग लगाई हटाउने कुरा चल्यो तर हिजोका कंगाल नेता तथा कर्मचारीहरुको आर्थिक कायापलटको बारेमा अनुसंधान हुनुपर्छ भनेर भन्न नसक्नु  हनुमानतन्त्र नभएर के हो ? त्यसैगरी हिजो भ्रष्टाचारको आरोप प्रमाणित भई जेल बसेर छुट्दा खुमबहादुर र जयप्रकाशहरूलाई फूलमाला सहित जयजयकार गर्नु हनुमान तन्त्र नभएर के हो ?

      लोकतंत्र पश्चात झन धेरै हनुमानहरुको उदय भईरहेको तितो सत्य अब स्विकार्नै पर्ने हुन्छ। राजनीतिक सेरोफेरोमा रहि देश दोहन गर्न निजामति कर्मचारी, संस्थान, ब्यापारी, गैर सरकारी संस्था, सेना प्रहरी र स्थानीय निकाय र ब्यक्तिहरुले आफु अनुकुल स्वार्थ पूर्ति गर्न सहिलाई सहि र गलतलाई ग़लत भन्न नसक्दा जनताले लोकतन्त्र प्रति नै घृणा गरिरहेको अवस्थामा लोकतन्त्र बिरोधि शक्तिहरु हावी हुदै गएको प्रति सचेत हुने कि नहुने ? अहिलेको यक्ष प्रश्न यही हो |

    हनुमानहरुको क्षेत्र विश्वब्यापी छ, तर नेपालमा जस्तो हनुमानतन्त्र अन्यत्र कतै मौलाएको छैन। सत्ता समिकरण मिलाउनदेखि लिएर ९४ प्रतिशत ॐ कारमा आवद्द देशलाई धर्म निरपेक्ष बनाउन पहल गर्नमा देशी बिदेशी महाहनुमानहरुको आशिर्वाद प्राप्त छ।


अब के हुन्छ ?

- नेपालको पोलिटिक्सदेखि ब्युरोक्रेसीसम्म मौलाएको यो हनुमानतन्त्र यसैगरी हावी रहने हो भने:
- अझै पनि राजनीतिक पार्टीका कार्यकर्ताले नेता तथा नेतृत्वले गरेका खराब काम कारवाहीलाई हनुमानले पर्वत उचाले जस्तै उचालिरहने हो भने-
- अझै पनि देशको ढुकुटीलाई लगातार बिभिन्न बहाना बनाएर रित्याउन दिने र ताली ठोकिरहने हो भने

नेपाल असफल राष्ट्र हुनबाट कसैले बचाउन सक्ने छैन | अझै समय छ,  आउनुहोस भ्रष्टाचार, नातावाद, अपारदर्शिता, अबिकास र असमानताको काखी च्याँप्ने हनुमानतन्त्रको हैन आफ़्नो विबेकशिलताको प्रयोग गरि स्वाभिमान बनौं । कालोलाई कालो र सेतोलाई सेतो भन्ने बानीको बिकास गरौं। नेपाल तपाई हाम्रै पालामा बन्छ | हामीले नै बनाउने हो: हामीले नै बनाउने छौं ।

भृकुटी न.पा.-६ कपिलवस्तु